सिद्धार्थनगर पालिकामा सुत्केरीलाई कोसेली दिदै उपप्रमुख घरघरमा

स्वास्थ्यसमाचार/ रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले उपप्रमुख सुरक्षित मातृशिशु कार्यक्रम सुरु गरेको छ । कार्यक्रम अन्र्तगत पालिकामा रहेका सुत्केरी आमाहरुलाई शुभकामना सन्देश सहित ‘उपप्रमुख सुत्केरी कोसेली भेट’ उपलब्ध गराउन थालिएको छ ।

सोमबार नगर उपप्रमुख उमा अधिकारीले पालिकाको वडा नम्बर १ बेलहिया स्थित घर घरमा पुगेर सुत्केरी आमाहरुसगँ कोसेली भेट गरेकी छिन् । कोसेली झोला सहित घर घरमा पुगेर आमाहरुलाई कोसेली दिदै उपप्रमुख अधिकारीले सुत्केरी भएको अवस्थामा उनीहरुको स्वास्थयका साथै नगरवासीको मुहारमा खुशी ल्याउनका लागि कोसेली भेट गरेको बताइन् ।

नगरपालिकाबाट उपलब्ध गराइएको कोसेली झोलामा ज्वानो, घ्यू, मह, सर्फ, डिटल साबुन, जोनसन साबुन, जनसन तेल, स्यानटरी प्याड, झुल, मेक्सी रहेको नगर उपप्रमुखको स्वकीय सचिव लक्ष्मी कोइरालाले बताइन् । उनका अनुसार करिब ३ हजार रुपैयाँ मूल्य बराबरको कोसेली एक सय दिन भित्रका सुत्केरी आमाहरुलाई उपलब्ध गराउन सुरु गरिएको छ ।

नगरपालिकाबाट कोसेली पाउनका लागि वडा कार्यालयमा निवेदन दिनुपर्ने, विवाह दर्ताको प्रमाण, न्युनतम ४ पटक गर्भवती जाँच गरिएको अस्पतालको कार्ड, आमा र बच्चाको खोपकार्ड, अस्पतालबाट जारी शिशुको जन्म प्रमणपत्र, जन्मदर्ताको प्रमाण, बुबाआमाको नेपाली नागरिकताको प्रतिलिपी हुनुपर्ने नगरालिकाले प्रावधान बनाएको छ ।

‘यसले समयमै जन्मदर्ता गर्ने, स्वास्थ्य संस्थामा सुत्केरी हुने बानीको समेत विकास गर्नेछ’, उपप्रमुख अधिकारीले भनिन् । सुत्केरी अवस्थामा के खाने रु, कति दिन आरामा गर्ने रु कस्ता खानेकुरा खाएमा शरीरलाई फाइदा गर्छ रु जस्ता सन्देश लेखिएको पम्पलेट समेत कोसेली भेटमा उपलब्ध गराइएको छ । ‘यसले आमा र बच्चाको मृत्युदरलाई घटाउन पनि टेवा पुग्ने विश्वास लिएका छौँ’, अधिकारीले भनिन् ।

बेलहियाकी सुशिला श्रेष्ठले नगरपालिकाबाट कोसेली झोला पाएको खुशी व्यक्त गरिन् । ‘हामीलाई चाहिएको सबै साम्रगीहरु कोसेली झोलामा रहेको छ’ उनले भनिन्, ‘उपप्रमुखले घरमै आएर भेट गरेर कोसेली दिनु भयो, धेरै खुशी लागेको छ ।’

वडा नम्बरका १ का वडाअध्यक्ष उज्जवल पोखरेलले उपप्रमुख सुत्केरी कोसेली भेट कार्यक्रम धेरै फलदायी रहेको र वडावासीहरुले खुशी व्यक्त गरेको बताए । उनले अगामी दिनमा नगरपालिकाबाट थप जनमुखी कार्यक्रमहरु ल्याउनका लागि सुझावहरु आएको र आफुहरुले ल्याउने प्रतिवद्ध रहेको जनाए ।

सुत्केरी आमाहरुलाई कोसेली सहित उपप्रमुख अधिकारी, वडा नम्बर १ का वडाअध्यक्ष पोखरेल, वडा सदस्यहरु, आधारभूत स्वास्थ्य केन्द्रका कर्मचारी, स्वयंसेविका लगायतले भेट गरेका छन् ।

सम्बन्धित शिर्षक :