कोरोनाको जोखिम कायमै छ, स्वास्थ्य मापदण्ड पालना गर्नुस्

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमणको जोखिम कायमै रहेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ।

शनिबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता डा। सञ्जयकुमार ठाकुरले क्रिसमस र अँग्रेजी नयाँ वर्षमा भीडभाड हुनसक्ने भन्दै त्यस अवधिमा सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले कोभिड संक्रमणबाट बच्न र बचाउन मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्न पनि अनुरोध गरेका छन् ।

‘बुस्टर डोज लगाउन बाँकी रहेका सर्वसाधारणहरूले स्थानीय स्वास्थ्य संस्थामा गएर खोप लगाउनुस्। कोभिडको जोखिम कायम छ ।’छिमेकी राष्ट्र चीन, जापान, दक्षिण कोरियालगायत राष्ट्रहरुमा कोभिडको संक्रमण पुनः देखिन सुरु भएको छ । त्यहाँ देखिएको कोभिडको सव भेरिएन्ट बिएफ ७ को संक्रमण दर दिनानुदिन वृद्धि हुँदै गएको छ। यस भेरिएन्टले छोटो समयमा नै धेरै व्यक्तिलाई संत्रमण गर्ने देखिएको छ । मन्त्रालयले भने हालसम्म भने यो भेरिएन्ट नेपालमा पुष्टि नभएको जनाएको छ।

प्रवक्ता डा। ठाकुरले खुला सिमाना र मानिसहरुको आवतजावतका कारणले नेपालमा पनि यसको संक्रमण जोखिम रहेको हुँदा यसको रोकथाम एवं नियन्त्रणका लागि जनसमुदाय सजग एवमं सचेत हुन जरुरी देखिएको बताए ।

स्वास्थ्य मन्त्रालयले कोभिडको रोकथाम तथा पहिचानका लागि सीमा नाका तथा अन्तर्राष्ट्रिय विमानस्थलहरुबाट नेपाल भित्रिने यात्रुहरुको ज्वरो नाप्ने, शंकास्पद व्यक्तिहरुको एन्टिजेन टेष्ट र जीन सिक्वेन्सिङ गर्ने कार्य भइरहेको जनाएको छ ।साथै पोजिटिभ देखिएका एवं लक्षण देखिएका व्यक्तिहरुलाई स्वास्थ्यकर्मीहरुको सल्लाह बमोजिम होम आइसोलेसन तथा अस्पताल भर्ना गरी उपचार गर्ने कार्य भइरहेको विज्ञप्ति मार्फत् जानकारी गराइएको छ ।

सम्बन्धित शिर्षक :