युसिएमएसमा बिरामीको उपचारमा लापरबाही : पीडितले गरे क्षतिपूर्ति माग

स्वास्थ्यसमाचार/ भैरहवाका राम जियावन मिश्रले छोराका उपचारको लागि ६ लाख खर्च गरे पनि भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजबाट भरपर्दो उपचार नपाएको आरोप लगाएका छन् । बिहिबार मिश्रले पत्रकार सम्मेलनको आयोजना गरि मेडिकल कलेजले छोराको भविष्य बिगारेको आरोप लगाउदै क्षतिपूर्तिको दावी गरेका छन् ।

रुपन्देहीको सिद्धार्थनगर–१२ बस्ने मिश्रले युनिभर्सल मेडिकल कलेजका चिकित्सकले उपचारमा लापरबाही गरेको आरोप लगाएका छन् । १३ वर्षीय छोरा रुपकको कुहिना र नाडीमा भाँचिएको हातको शल्यक्रियाका क्रममा मेडिकल कलेजका चिकित्सकले हेलचेक्र्याइँ गरेको आरोप लगाए । मिश्रका अनुसार २०७८ साल असार २३ गते रुपक घरको छतबाट खसेका थिए ।

त्यसपछि उनको दाहिने हात दुई ठाउँबाट भाँचिएको थियो । घटना लगत्तै स्थानीय र परिवारका सदस्य मिलेर उपचारका लागि भीम अस्पताल पुर्याएका थिए । भीम अस्पतालले थप उपचारका लागि मेडिकल कलेज रेफर गरेको थियो । “मेडिकल कलेजमा १ वर्षसम्म उपचार चल्यो, डिस्चार्ज गरेपछि पनि बोलाएका बेला अस्पताल गयौं ।” रुपकका बाबुले भने, “अन्तिम पटक फिजियो थेरापी गराउनुपर्छ भनेपछि त्यो पनि गरायौं । तर, हात ठीक भएन ।”

उपचार क्रममा चिकित्सकले हातमा रड राखेका थिए । उक्त रड साढे दुई महिनाअघि निकालिएको थियो । त्यसपछि फिजियो थेरापी गराउँदा समेत हात नमोडिए पछि परिवार अत्तालिएको उनले बताए । रुपकको दाहिने हात मोडिदैन । “पटक पटक डाक्टरले बोलाएर भने अनुसार गर्यौं ।” मिश्राले भने, “तर हात मोडिएन ।” यहाँ सुधार नभएपछि काठमाडौं स्थित बीएण्डबी अस्पताल पुगेको उनले बताए ।

“बीएण्डबीका डाक्टर बाबुकाजी श्रेष्ठले शल्यक्रिया गर्दा हड्डी सही ठाउँमा नराखेका कारण समस्या आएको बताए ।” मिश्राले भने, “दुई साताको दवाई दिएर पठाएका छन् । त्यसले सुधार नभए थप उपचार अगाडि बढाउने बताएका छन् ।” रामजीयावनले मेडिकल कलेजमा उपचारका क्रममा ६ लाख रुपैयाँ सकिएको दाबी गरे । काठमाडौंबाट फर्किएको एकसातापछि क्षतिपूर्ति माग्न बुधबार मेडिकल कलेज पुगेको उनले बताए ।

यता मेडिकल कलेजले उपचारमा कुनै लापारवाही नभएको दावी गरेको छ । अस्पतालका प्रशासन संयोजक तेज केसीले अपरेशन पछि फिजियोथेरापी गर्नु पर्नेमा त्यसो हुन नसकेको बताए । यस बाहेक प्राकृतिक रुपमै भाचिएको स्थानमा हड्डी पलाएको उनको भनाई छ ।

सम्बन्धित शिर्षक :