सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा )लाई ३सय बेड वनाईने

आम्दा ईन्टरनेशनलका अध्यक्ष, बुटबल उद्योग वाणिज्य संघ र बुटबल उपमहानगरपालिका बिच सम्झौत

स्वास्थ्यसमाचार/ बुटवल । बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पतालको स्तरोन्नति हुने भएको छ ।बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको त्रिपक्षीय सञ्चालनमा रहेको अस्पतालमा २ सय बेड थप गर्दै स्तरोन्नति गर्ने समझदारी भएको हो ।

एशोशिएशन अफ मेडिकल डक्टर्स अफ एशिया (आम्दा) ईन्टरनेशनलका अध्यक्ष सिगेरू सुगानामीको उपस्थितिमा बसेको अस्पताल सञ्चालक समितिको बैठकले अस्पतालको स्तरोन्नति गर्न निर्णय गरेको हो ।

आम्दा नेपाल, बुटवल उपमहानगरपालिका र बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको त्रिपक्षीय सहमतिमा २०५३ सालमा बुटवल उपमहानगरपालिका वडा नं. ७ (साविक वडा नं. ९) मा सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)को स्थापना गरिएको थियो । पचास शैयाबाट सुरु भएको उक्त अस्पताल हाल सय शैयामा सञ्चालन गरिएको छ ।

अस्पतालका अध्यक्ष समेत रहनुभएका बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अस्पताललाई ३ सय बेडको बनाउने र विशिष्टिकृत सेवा प्रवाह गर्ने निर्णय गरेको बताउनुभयो ।

अस्पतालको स्तरोन्नतिका लागि बुटवल उपमहानगरपालिका, आम्दा र बुटवल उद्योग वाणिज्य संघले पहल गर्ने गरी समझदारी भएको उहाँले बताउनुभयो । उहाँले महिला र बालबालिकाको स्वास्थ्य उपचारमा सबै खालका सुविधासहितको अस्पतालका रुपमा स्तरोन्नति गर्ने बताउनुभयो ।

समझदारीका क्रममा आम्दा ईन्टरनेशनलका अध्यक्ष डा सिगेरू सुगानामीले आम्दाले बुटवलमा अस्पताल स्तरोन्नति गर्नका लागि आवश्यक सहकार्य गर्ने बताउनुभयो । उहाँले अस्पतालमा बेड थप गर्ने मात्रै नभई अन्य सुविधा थप गर्ने गरि त्रिपक्षीय सहकार्य हुने बताउनुभयो ।आम्दा नेपालका अध्यक्ष डा. अनिल कुमार दासले आम्दाले बुटवलको अस्पताललाई स्तरोन्नति गर्नका लागि आवश्यक सहकार्य गर्ने र श्रोत तय गर्नका लागि भूमिका निर्वाह गर्ने बताउनुभयो ।

अस्पतालको अर्को साझेदार संस्था बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजूले अस्पताल स्तरोन्नति गर्न आवश्यक रहेको र संघले पर्याप्त भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले अस्पतालको स्तरोन्नति भएपछि बुटवल क्षेत्रमा एउटा विशिष्टीकृत सेवा भएको स्तरीय अस्पताल हुने बताउनुभयो ।

यस्तै, आम्दा इन्टरनेशनलका अध्यक्ष सुगानामीलाई बुटवल उपमहानगरपालिकाले स्वागत तथा सम्मान गरेको छ ।आम्दाका अध्यक्ष सुगानामी, आम्दा नेपालका अध्यक्ष डा. अनिल कुमार दास, पूर्व अध्यक्षहरू डा. सरोज ओझा, डा. दिनेश पोखरेल तथा आम्दा ईन्टरनेशनलका प्रतिनिधि अर्चना जोशी र आम्दा नेपालका प्रमुख प्रशासकीय अधिकृत सुदेश रेग्मीसहितको टोलीलाई उपमहानगरपालिकाले सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले आम्दा इन्टरनेशनलसँगको सहकार्यमा बुटवलमा देशकै स्तरीय अस्पताल बनाउने गरी काम हुने बताउनुभयो । कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले महिला तथा बालबालिकाको उपचारका लागि स्तरीय अस्पताल बनेपछि बुटवल र आसपासका बिरामी अन्यत्र जानु नपर्ने बताउनुभयो ।

आम्दा इन्टरनेशनलका अध्यक्ष डा सिगेरू सुगानामीले बुटवलले अस्पताललाई स्तरोन्नति गर्ने राम्रो अवसर पाएको र त्यसको सदुपयोग गर्न लागेकोमा खुशी व्यक्त गर्नुभयो ।

आम्दा नेपालका अध्यक्ष डा. अनिल कुमार दासले आम्दा नेपालले बुटवललाई विशेष प्राथमिकतामा राखेको र बुटवलले अन्यत्रका अस्पताल भन्दा राम्रो अस्पताल स्थापना गर्न लागेकोमा सहकार्यका लागि तयार रहेको बताउनुभयो ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजुले सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलको गौरवका रुपमा रहने बताउनुभयो ।

सम्बन्धित शिर्षक :