भण्डारीले पुनःसम्हाले भीम अस्पताल अध्यक्षको जिम्मेवारी

स्वास्थ्यसमाचार/ भीम अस्पताल विकास समितिको अध्यक्षको जिम्मेवारी पुनः नारायण प्रसाद भण्डारीले सम्हालेका छन् । तत्कालीन अध्यक्ष भण्डारीलाई हटाएर लुम्बिनी प्रदेश सरकारले २०७८ फागुन २३ गते कुल प्रसाद न्यौपानेलाई अध्यक्षमा नियुक्त गरेको थियो ।

प्रदेश स्वास्थ्य संस्था स्थापना सञ्चालन नवीकरण तथा स्तरोन्नती नियमावली २०७७ को नियम २५ बमोजिम ४ वर्षे कार्यकालका लागि नियुक्त भएकोमा सरकारले तोकिएको निश्चित पदावधि पुरा नहुँदै २०७८ पुस २५ गतेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयले पदमुक्त गरेको थियो ।

तर, तीन वर्षको कार्यकालका लागि नियुक्त भए पनि समयावधि रहँदै आफूलाई हटाएको भन्दै भण्डारी सर्वोच्च अदालत पुगेका थिए । अदालतले भण्डारीलाई अध्यक्षमा यथावत राख्न अन्तरिम आदेश दिएको थियो ।

बुधबार पदभार ग्रहण गर्दै भण्डारीले आफुले यस अघि कोरोना महामारीको दोस्रो लहरमा अस्पताल विकास समितिको अध्यक्षको जिम्मेवारी सम्हालेको बताए । उनले भने, ‘यो अस्पताललाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने मेरो मुख्य उद्देश्य हो ।’

भण्डारीले विगतमा ८ महिना आफू अस्पतालको अध्यक्षको जिम्मेवारीमा रहँदा अस्पतालमा केही राम्रो काम भएको बताए । उनले अस्पतालमा रहेका सम्पूर्ण समस्याबारे आफू जानकार भएको बताए । उनले भने, ‘सम्पूर्ण टीम मिलेर यहाँका समस्या समाधानका लागि लागिपर्नेछौं । ’ अस्पतालमा विगत भन्दा धेरै सुधार भएको उनको भनाइ थियो । सेवाग्राहीलाई निजी अस्पताल सरहको सेवासुविधा प्रदान गर्ने गरी अगाडि बढ्ने भण्डारीले बताए । बोल्ने भन्दा पनि काम गरेर देखाउने उनले बताए ।

सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले भनिन, ‘विगतमा पनि नारायण प्रसाद भण्डारीले अस्पताल विकास समितिको अध्यक्षको जिम्मेवारी सम्हाल्दा धेरै राम्रो काम गर्नुभएको थियो, बाँकी कार्यकालमा अझै राम्रो काम हुनेमा विश्वस्त छौं ।’ उनले स्थानीय सरकार भीम अस्पतालसँग सहकार्य गर्दै अघि बढ्ने बताइन् ।

अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा शकुन्तला गुप्ताले अस्पतालले प्रदान गर्ने कुनै सेवामा कमी आउन नदिने बताउँदै मिलेर काम गर्ने बताइन् । उनले भनिन्, ‘विगतमा पनि मिलेर काम गरेका थियौं, यस्तै अभिभावक पाए काम गर्न सहज हुन्छ । ’ अस्पतालका प्रशासकीय अधिकृत गोविन्द ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।बुधबार पदभार ग्रहण गर्न भीम अस्पताल पुगेका भण्डारीलाई स्थानीय समाजसेवी, शुभचिन्तक, जनप्रतिनिधि लगायतले स्वागत समेत गरेका थिए ।

सम्बन्धित शिर्षक :