कपिलबस्तुमा झोले डाक्टरको भर पर्दा १४ बर्षिय बालकको मृत्यु

कपिलबस्तु / कपिलवस्तुका ग्रामिण भेगमा नक्कली (झोले) डाक्टरको विगविगी छ । अनुमति तथा प्रमाण विना जो सुकैले क्लिनिक खोलेर बस्छन् ।
प्रशासनले यस विषयमा कहिले चासो देखाएन भने जिल्ला स्वास्थ्य कार्यालय पनि कहिल्यै गम्भीर बनेन । त्यहि झोले डाक्टरको भर पर्दा शनिबार राती एक बच्चाको ज्यान गएको छ ।

शुद्धोधन गाउँपालिका ५ हथिहवा शिवलवाका पन्नालाल राजभरको छोराको कान दुख्यो । नजिकै रहेको सहानी मेडिकल लगेर देखाए । आफुलाई डाक्टर भन्ने विनय कुमार मल्लाहले मोनसेक नामक सुइ पाखुरामा लगाइदिए ।

त्यसको १० मिनेटमै १४ बर्षिय छोरा दुर्गेश राजभर वेहोश भए । थप उपचार गराउन लबनी अलशेख अस्पताल लगे त्यहा उपचार हुन सक्दैन भनि तौलिहवा जिल्ला अस्पताल ल्याउदा बाटोमै बच्चाको मृत्यु भयो ।

घटना लगत्तै परिवारको आग्रहमा नक्कली डाक्टर अम्रेश सिंहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरिएका सिंह संग मेडिकल प्रमाणपत्र, मेडिकल काउन्सिल तथा अन्य चिकित्सक सम्बन्धी कुनै कागजात नरहेको प्रहरी निरिक्षक रेशम पौडेलले जानकारी दिए । यस सम्बन्धमा थप अनुसन्धान गरि अघि बढ्ने प्रहरीले जनाएको छ ।

मृतकका बाबु पन्नालालले छोरालाई कान दुखेको भनेर लगेको तर सुइ लगाउदा वित्तिकै छट्पटाएर अचेत बनेको बताएका छन् । नक्कली डाक्टरलाई कर्तव्य ज्यान सम्बन्धी मुद्धा हाल्ने उनले बताए ।कपिलवस्तुमा झोले तथा बंगाली डाक्टरको विगविगी छ । जिल्लाको सीमाना क्षेत्रका स साना बजारहरुमा विना अनुमति, नक्कली कागजात देखाएर पसल थापेर बस्ने गर्दछन् ।

चाकरचौडा, मर्यादपुर, महाराजगंज, चन्द्रौटा, कृष्णनगर क्षेत्रमा झोले डाक्टरको विगविगी छ । सुरक्षा श्रोतका अनुसार विना आधारप्रमाण जिल्लामा ४७ भन्दा बढि त्यस्ता क्लिनिक संचालनमा रहेपनि नियमन गर्ने तर्फ भने कसैको ध्यान गएको छैन ।

सम्बन्धित शिर्षक :