स्वास्थ्य मन्त्रालयले पालिकाहरुलाई भन्यो–स्वास्थ्यका कर्मचारीलाई यथावत राख्नू

काठमान्डौ/ देशका विभिन्न पालिकाहरुले दरबन्दीभन्दा बढी भएका स्वास्थ्य सेवाका कर्मचारीलाई धमाधम फिर्ता पठाउन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरुलाई यथावत जिम्मेवारीमा राख्न निर्देशन दिएको छ।

सुरु समायोजन भई वा दोहोरो सहमतिका आधारमा कर्मचारी समायोजन मिलान मापदण्डबमोजिम स्वास्थ्य सेवाका कर्मचारीको समायोजन भई दरबन्दीभन्दा बढी भएका कर्मचारीलाई केही पालिकाले फिर्ता गरेको गुनासोपछि यही साउन ३० को मन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयले उक्त निर्देशन दिएको हो।

मन्त्रालयले सुरु समायोजन भएका वा दोहोरो सहमतिको आधारमा समायोजन मिलान भई हाल विभिन्न पालिकाहरुमा कार्यरत स्वास्थ्य सेवाका कर्मचारीलाई सम्बन्धित पालिकाहरुले यथावत जिम्मेवारीमा राखी आवश्यक तलबभत्ताको व्यवस्था पालिकाहरुबाट गर्ने निर्णय गरेको छ।

यस्तै, कर्मचारी समायोजन मिलान भई आउन सहमति उपलब्ध गराउँदा स्वीकृत दरबन्दीभित्रको रिक्त पद तथा तहका लागि मात्र उपलब्ध गराउन मन्त्रालयले भनेको छ।

सहमतिको आधारमा समायोजन मिलान भई स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी हुन गएमा सम्बन्धित पालिका नै जिम्मेवार हुनुपर्ने तथा दरबन्दीभन्दा बढी कर्मचारीका लागि थप तलबभत्ता वापतको रकम मन्त्रालयबाट निकासा नहुने पनि मन्त्रालयले स्पष्ट पारेको छ।

सम्बन्धित शिर्षक :