लुम्बिनी प्रदेशमा १३ प्रतिशत आमा अस्पताल नदेखि घरमै सुत्केरी

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशमा स्वाथ्य क्षेत्रमा पहुँच विस्तार भएको दावि गरिएपनि अझै १३ प्रतिशत भन्दा बढि महिलाले घरमै बच्चा जन्माउने गरेको पाइएको छ ।

प्रदेशका केही पालिकाहरुले ‘घरमा सुत्केरी शुन्य पालिका’ अर्थात सुत्केरी हुँदा अनिवार्य रुपमा स्वाथ्य केन्द्र, चौकी वा अस्पतालमा गराउने गरी घोषणा गरेको भए पनि सरकारी तथ्यांकबाट नै अझै महिलाहरु स्वाथ्य चौकीको पहुँच सम्म पुग्न नसकेको प्रष्ट भएको हो ।

लुम्बिनी प्रदेशको स्वाथ्य तथा जनसंख्या मन्त्रालयका तथ्यांक अनुसार आर्थिक बर्ष २०७८/०७९ मा दक्ष प्रसुतीकर्मीबाट सुत्केरी भएका महिलाहरुको संख्या जम्मा ८७ प्रतिशत रहेको छ ।आर्थात १३ प्रतिशत महिलाहरु अझै दक्ष प्रसुतिकर्मीहरु(सुडेनी, ग्रामिण स्वाथ्य कार्यकर्ता, चिकित्सक वा अन्य स्वाथ्य कर्मीहरु)को उपस्थिति विना नै बच्चा जन्माउन बाध्य भएका हुन ।

लुम्बिनी प्रदेशको स्वाथ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलका अनुसार आर्थिक बर्ष ७६/७७ मा ७९ प्रतिशत, आर्थिक बर्ष ७७/७८ मा ७७ प्रतिशत र ७८/७९ मा ८७ प्रतिशत महिलाले दक्ष प्रसुतीकर्मीबाट सुत्केरी भएका छन् ।अघिल्लो बर्षमा अझ ७७ प्रतिशत मात्रै महिला स्वाथ्य कर्मीको पहुँचमा थिए भने २३ प्रतिशत महिलाहरु जोखिममा घरमा आफै सुत्केरी भएका हुन ।

सरकारी तथ्यांक अनुसार स्वाथ्य संस्थामा गएर सुत्केरी हुने महिलाहरुको संख्या पनि कम छ । वित ३ बर्षको तथ्यांक अनुसार गत आर्थिक बर्षमा केही वृद्धि भएको दावि गरिएपनि अझै सडक पुर्वाधारको अभाव, यातायातको पहुँचको अभावको कारण कतिपय आमाहरुले जोखिममा घरमा नै सुत्केरी हुने गरेका पाइएको हो ।

आर्थिक बर्ष २०७६/७७ मा ८१ प्रतिशत अघिल्लो आर्थिक बर्षमा ८० प्रतिशत र गत आर्थिक बर्षमा जम्मा ९१ प्रतिशत महिलाले स्वाथ्य संस्थामा गएर सुत्केरी भएको पाइएको हो । जुन तथ्यांक लुम्बिनी प्रदेशको स्वाथ्य तथा जनसंख्या मन्त्रालयको हो ।पेटमा गर्भ रहेपछि अवधिभरमा ४ पटक सम्म दक्ष स्वाथ्यकर्मीबाट गर्भ जाँच गर्नु आमा र पेटको बच्चा दुबैको लागि राम्रो मनिन्छ । तर लुम्बिनी प्रदेशमा ४ पटक सम्म पुर्ण स्वाथ्य जाँच गर्ने गर्भवती आमाहरुको संख्या अझै न्युन रहेको पाइएको छ ।

तिन बर्षको तथ्यांक अनुसार गत आर्थिक बर्षमा केही प्रतिशत बढेको भनिएपनि २०७६/७७ मा जम्मा ६१ प्रतिशतले मात्रै पुर्ण रुपमा चार पटक नै गर्भ परिक्षण गराएका छन् । यस्तै ७७/७८ मा ६१ प्रतिशत र ७८/७९ मा जम्मा ७६ प्रतिशतले मात्रै पूर्ण रुपमा गर्भ परिक्षण गराएका हुन ।यसबाट के प्रष्ट हुन्छ भने स्वाथ्य चौकीको दुरावस्था, सहज पहुँच, यन्त्र तथा उपकरण अभावको कारण २४ प्रतिशत भन्दा बढि आमाहरुले स्वाथ्य परिक्षण नै गराएका छैनन ।

लुम्बिनी प्रदेशको स्वाथ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलका अुसार पछिल्लो समयमा गाउँ गाउँमा गर्भवती महिलाहरुको निःशुल्क भिडियो एक्सरे मेसिन उपलब्ध गराइएको कारण यो बर्ष देखि केही प्रतिशत सुधार आउने अपेक्षा गर्न सकिने बताउँछन् ।उनले यसको लागि आगामी बजेटमा अझ बढि गाउँ गाउँमा रहेका स्वाथ्य चौकी, स्वाथ्य केन्द्र, अस्पतालहरुमा गर्भवती आमा र पेटको बच्चाको विषयमा जानकारी लिनको लागि निःशुल्क अल्ट्रासाउण्ड गरिने व्यवस्था गर्ने समेत जानकारी दिए । उनले भने–‘यो विषयमा हामीले थप पहल गर्छौं, जसले थप सहजता ल्याउने अपेक्षा गर्न सकिन्छ । ’

 

सम्बन्धित शिर्षक :