गण्डकीका मुख्यमन्त्रीले गरे टाइफाइडविरूद्ध खोप अभियानको शुभारम्भ

स्वास्थ्यसमाचार/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशमा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतको टाइफाइड रोगविरुद्धको खोप अभियान शुभारम्भ गरेका छन्।

प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज पोखरा महानगरपालिका–१२ स्थित अमरसिँह उच्च माध्यमिक विद्यालयमा आयोजना गरेको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोप शुभारम्भ कार्यक्रममा ‘भ्याक्सिन क्यारियर’ स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरेर उनले प्रदेशका ११ वटै जिल्लामा अभियान सुरु भएको घोषणा गरे।

जनस्वास्थ्यको समस्याका रुपमा रहेको टाइफाइड रोगविरुद्ध खोप कार्यक्रमअन्तर्गत अभियानका रुपमा देशभर चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई एकैपटक खोप लगाउने कार्यक्रम सञ्चालन हुँदैछ।

अभियानमा गण्डकी प्रदेशका पाँच लाख ६० हजार बालबालिकालाई खोप दिइने प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा श्रीराम तिवारीले बताए। उनका अनुसार आज शुभारम्भका दिन अमरसिँह माध्यमिक विद्यालयका विद्यार्थीलाई खोप दिइने र भोलिदेखि प्रदेशका सबै विद्यालयमा खोप कार्यक्रम सञ्चालन हुनेछ।

उनले भने, प्रदेशका ११ वटै जिल्लामा तोकिएका खोप केन्द्रमा खोप, भ्याक्सिनेटर र आवश्यक जनशक्ति पुयाइसकेका छौँ। भोलिदेखि सबै जिल्लाका खोप केन्द्रमा खोप लगाउन सुरु हुन्छ।खोप लगाउनुपर्ने उमेर समूहको ठूलो हिस्सा विद्यालयमा रहने हुँदा बालबालिकाको सहजताका लागि विद्यालयलाई नै खोप केन्द्र तोकिएको र विद्यालय नजानेहरुका लागि वडा कार्यालयमा खोप लगाउने व्यवस्था मिलाइएको डा तिवारीको भनाइ छ।

मुख्यमन्त्री पोखरेलले निर्धारित समयभित्रमा लक्षित समूहलाई खोप लगाइ सकेर अभियान पूर्ण सफल हुने विश्वास व्यक्त गरे। सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई पूर्ण सफल बनाउनका लागि कल्याणकारी राज्यको भूमिका निर्वाह गर्न सक्नुपर्नेमा उनले जोड दिए।उनले भने, सरकारले कल्याणकारी राज्यको भूमिका निर्वाह गर्न सके सङ्घीय लोकतान्त्रिक गणतन्त्र पूर्ण रुपमा सफल हुन्छ। रासस

सम्बन्धित शिर्षक :