रुपन्देहीमा विश्व मुख स्वास्थ्य दिवसको अवसरमा बिविध कार्यक्रम

स्वास्थ्यसमाचार/ नेपाल डेन्टल एसोसिएसन रुपन्देही शाखाले विश्व मुख स्वास्थ्य दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ ।‘आ–आफ्नो मुखप्रति गर्व गरौँ’ भन्ने नाराका साथ आइतबार यो दिवस मनाइएको हो ।

दिवसका अवसरमा दाँतको सफाइ तथा मुख स्वास्थ्यको विषयमा जनचेतनामूलक र्याली, आश्रममा खाद्यन्न सहयोग, निःशुल्क दन्त परिक्षण र रक्तदान लगायतका कार्यक्रम सम्पन्न गरिएको नेपाल डेन्टल एसोसिएसन रुपन्देहीका उपाध्यक्ष डा दिपेन्द्र पोखरेलले जानकारी दिए ।

आइतबार बिहान बुटवल स्थित लुम्बिनी प्रादेशीक अस्पतालबाट सुरु भएको मुख स्वास्थ्यसम्बन्धी बृहत् जनचेतनामूलक र्याली ट्राफीक चोकसम्म पुगेर प्रादेशीक अस्पतालमै फर्कीएको थियो । र्यालीमा डाक्टर, डेन्टल एसिस्टेन्ट, विद्यार्थीहरु समेत सहभागी भएका थिए ।

त्यस्तै दिवसका अवसरमा बुटवल–११ देविनगर स्थित नेपाल अपांग आश्रममा खाद्यन्न सहयोग गरेको छ । भने, आश्रममा आश्रित रहेका नागरिकहरुको निःशुल्क दन्त परिक्षण गरिएको थियो ।

उक्त आश्रममा आश्रित रहेका नागरिकहरु बिरामी हुँदा रुपन्देही शाखाले सम्बन्धीत रोगका बिशेषज्ञहरुबाट निःशुल्क उपचार गर्दै आएको उपाध्यक्ष डा। पोखरेलले बताए । त्यसैगरि दिवसका अवसरमा रक्त सञ्चार केन्द्र बुटवलमा रक्तदान कार्यक्रम पनि सम्पन्न भएको छ ।

नेपाल डेन्टल एसोसिएसन रुपन्देहीका अध्यक्ष डा बिकास कुमार अग्रहरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । हरेक व्यक्तीले दाँत तथा मुखको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने उनले बताए । बिहान र बेलुका नियमित दाँत माझ्दा मुख तथा दाँत सम्बन्धी धेरै रोगहरूलाई नियन्त्रण गर्ने सकिने डा अग्रहरीको भनाई थियो ।

अधिकांश नेपालीहरूलाई बिहान बेलुका खाना खाएपछि दाँत माझ्नुपर्छ भन्ने ज्ञान नभएको र दाँत माझ्ने तरिका थाहा नभएको उनले बताए  बालबालिकाहरु लाई पनि मुख स्वास्थ्यबारे जानकारी गराउनुपर्नेमा डा अग्रहरीले जोड दिए । ‘शरीरका सम्पूर्ण अंगहरुलाई स्वस्थ र सुचारु राख्नका लागि पनि खानेकुरा र पौष्टिक तत्वहरु मुखबाटै खाने गरिन्छ । तर मुख नै स्वस्थ राख्न सकिएन भने शरीर पनि स्वस्थ रहन सक्दैन ।’ महासचिव डा सुनिल खरेलले भने ।

नियमित सुर्तीजन्य पदार्थको सेवन गर्दा दाँत तथा गिजामा दाग बस्ने र पछि मुखको क्यान्सर समेत हुनसक्छ । हरेक वर्ष मार्च २० का दिन विश्व मुख स्वास्थ्य दिवस मनाउने गरिएको छ ।

सम्बन्धित शिर्षक :