स्वास्थ्यसमाचार/ भारतसँग सीमा जोडिएका लुम्बिनी प्रदेशका तीन जिल्ला अहिले पनि हात्तीपाइले रोगको उच्च जोखिममा रहेका छन् । प्रदेशको कपिलवस्तु, दाङ र बाँके अहिले पनि हात्तीपाइले रोगको उच्च जोखिममा रहेका जिल्ला हुन् ।
जोखिम रहेका जिल्लाहरुको पहिचान गरेर फागुन २८ गतेदेखि अभियान संचालनको तयारी गरेको छ । नेपालमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्न चुनौती देखिएको बेला सरकारले यस्तो अभियान सुरु गरेको हो ।
कपिलबस्तुमा १४ औँ चरणमा ६ लाख २० हजार ४ सय ९१ जनालाई हात्तीपाइले विरुद्धको औषधि खुवाउने स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।पटकपटक हात्तीपाइले निवारणका लागि अभियान चलाएपनि रोग निवारण नभएपछि १४ औँ चरणमा हात्तीपाइले विरुद्धको औषधि खुवाइने कार्यालयले जनाएको छ ।
फागुन २८ गतेबाट जिल्लाभर हात्तीपाइले विरुद्धको औषधि खुवाइने हुँदा औषधि खाएर हात्तीपाइले निवारण अभियानमा साथ दिन जिल्ला स्वास्थ्यकार्यलयका प्रमुख हेमराज पाण्डेले आग्रह गरेका छन् ।अबको २ वर्षमा हात्तीपाइले निवारणको लक्ष्य लिएकाले हात्तीपाइले विरुद्धको औषधि खाएर ढुक्क हुन उनले आग्रह गरे ।
हात्तीपाइले विरुद्धको औषधिबारे आएका गलत सूचनाको पछि नलाग्न आग्रह गर्दै प्रमुख पाण्डेले यसबारे देखिएका भ्रम चिर्न सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको बताए ।संचार माध्यममा आएका खबर तथा सूचनाहरु जनताले विश्वास गर्ने भएकाले हात्तीपाइले रोग, यसका असर, यस विरुद्धको औषधि र यो रोग निवारणको बारेमा जनतालाई स्पष्ट जानकारी दिँदै औषधि खानका लागि प्रेरित गर्नुपर्ने उनले बताए ।
डाक्टर गणेश क्षेत्रीले हात्तीपाइले रोग विरुद्धको औषधि खाएपछि टाउको दुख्ने, वाकवाकी लाग्नेजस्ता समस्या देखिनसक्ने र यो सामान्य नै भएकाले नआत्तिन सुझाव दिए । यो औषधि दुई वर्षमुनिका बालबालिका, गर्भवती, दीर्घकालीन रोगी, एक हप्ता नपुगेका सुत्केरी र खाली पेटमा भने नखान उनको आग्रह छ ।
कपिलवस्तुमा हालसम्म १३ औँ पटकसम्म औषधि खुवाउँदा पनि ९ प्रतिशत व्यक्तिमा हात्तीपाइलेको परजीवी पाइएकाले परजिवी निवारणका लागि यस पटक थप औषधी खुवाउन लागिएको हो ।
सबैभन्दा बढी कपिलवस्तु नगरपालिकामा ८२ हजार २ सय ४३ जनालाई औषधि खुवाइने छ भने सबैभन्दा कम विजयनगर गाउँपालिकामा ४० हजार ४ सय ८३ जनालाई औषधि खुवाइदै छ ।यस्तै वाणगंगा नगरपालिकामा ७७ हजार ६ सय ७०, शिवराजमा ७३ हजार ३ सय ३५, बुद्धभूमिमा ७० हजार ४ सय १२, कृष्णनगरमा ६७ हजार ८ सय ६७, महाराजगंजमा ६१ हजार ५ सय १६ जनालाई औषधि खुवाइने छ ।
यस्तै मायादेवी गाउँपालिकामा ५३ हजार ५ सय ६, शुद्धोधन गाउँपालिकामा ५० हजार ३ सय ९२ र यशोधारा गाँपालिकामा ४३ हजार ४७ जनालाई हात्तीपाइले विरुद्धको औषधि खुवाइने छ ।अभियानमा जिल्लाभरबाट ६ सय ११ स्वास्थ्यकर्मी र ११ सय ५ स्वयमसेविका खटिनेछन् । यस्तै यसवर्ष विगतमा दिइने औषधी र यस वर्ष दिइने औषधिको मात्रा पनि फरक छ । यस्तै यसवर्ष ब्यक्तिको उचाइ अनुसार स्वास्थ्यकर्मी तथा स्वयम सेविकाको प्रत्यक्ष निगरानीमा औषधी खुवाइने छ ।
अहिले औषधीको मात्रा बढी भएपनि डोज भने कम रहेको छ ।६ वर्षसम्म खानुपर्ने औषधिलाई २ वर्षमै झार्न, औषधीको प्रभावकारिता बढाउन, परजीवीको वयस्क र बच्चा दुबैलाई मार्न औषधीको साइट इफेक्ट कम गर्न यस वर्ष देखि नँया औषधि दिइन लागेको हो । अब दिइने औषधि २ पटक खाएमा २ वर्षमै हात्तीपाइले निवारण हुने जनाइएको छ ।
स्वास्थ्य कार्यालय दाङले विगत ११ वर्षदेखि हात्तीपाइले रोगविरुद्धको आमऔषधि सेवन अभियान संचालन हुँदै आएको जनाएको छ । कार्यालयका प्रमुुख अंगदबहादुर शाहीले नागरिकको लापरवाही र औषधी सेवनका बारेमा गलत सूचना प्रवाहका कारण हात्तीपाईले रोग निवारणमा चुनौती देखिएको बताए ।यस पटकबाट मानिसको उचाई अनुसार औषधी सेवन गराउने तयारी भएकाले नयाँ मोडेलमा आधारित अभियान संचालन हुने बताए । टिईसी र अल्बेन्डाजोल अनिवार्य सेवन गर्नुपरे पनि यो पटकबाट आईभर मेक्टिन नामक औषधी थप गरिएको उनले बताए ।
सन् २०३० सम्म जनस्वास्थ्य समस्याका रुपमा रहन नदिने गरी अभियान अघि बढेकाले नेपालबाट रोग उन्मुलन गर्न नियमित रुपमा आमऔषधि सेवन नै सबैभन्दा उत्तम विकल्प रहेको उनको भनाई थियो ।जिल्लाको शहरी क्षेत्रमा पर्ने पालिकाहरु तुलसीपुर र घोराही बढी जोखिममा देखा परेका छन् । गतवर्ष पनि ६५ प्रतिशत नागरिकले मात्रै औषधी सेवन गरेको पाइएको छ ।
यसपटक पनि जिल्लाको सिसहनियामा ३१४ जनामा परिक्षण गर्दा १५ जना अर्थात ४.७ प्रतिशतमा तथा घोराहीको रामपुरमा ३३० जनामा परीक्षण गर्दा ११ जना अर्थात ३.३ प्रतिशतमा हात्तीपाइले रोगको संक्रमण देखिएको छ । यो जोखिम दर जिल्लामा ४ प्रतिशत बढी देखिएकोमा कम्तिमा २ प्रतिशतभन्दा कम गर्नुपर्ने स्वास्थ्य कार्यालय दाङका प्रमुख शाहीले बताए ।
नेपालले सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ । दिगो विकास लक्ष्यअनुसार सन् २०३० बाट नेपालमा हात्तीपाइले निवारण अभियान सञ्चालन भइरहेको छ ।यसअघि सन् २००१, २००५ र २०१२ मा भएका थिए । ती अध्ययनमा नेपालमा हात्तीपाइले रोग व्यापक रहेको देखाएको थियो । सर्वेअनुसार नेपालका ६३ जिल्ला हात्तीपाइलेको जोखिममा छन् । सर्वेक्षणअनुसार ६३ जिल्लामध्ये ४८ जिल्लामा हात्तीपाइले रोग समुदायस्तरमा सङ्क्रमण नरहेको पाइएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ४८ जिल्लामा समुदायस्तरमा हात्तीपाइलेको सङ्क्रमण रोकिए पनि पाँच जिल्लामा भने समुदाय स्तरमा फैलिइसकेको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत तथा हात्तीपाइले रोगका फोकल पर्सन रामकुमार महतोले दाङ, कपिलवस्तु, बाँके, कैलाली लगाएतका जिल्लामा यस अघिदेखि नै समुदायस्तरमा हात्तीपाइले सक्रमण यथावत् रहेको जानकारी दिए ।
लुम्बिनी प्रदेश स्वास्थ्य स्वास्थ्य निर्देशक डाक्टर विनोद गिरीले यो अभियानका लागि तीनै तहका सरकारको समन्वय भएको बताए । संघीयले बजेटको व्यवस्थापन गरेको छ, प्रदेशले स्थानीय र संघीय सरकारको समन्वय गरेको छ भने स्थानीय सरकारले यसको व्यवस्थापन गरेको छ, दुई वर्षको बीचमा ८० प्रतिशतले यसको औषधि सेवन गरे नियन्त्रणमा ल्याउन सकिन्छ भन्ने योजनामा सरकार लागिपरेको छ, उनले भने ।
प्रतिकया दिनुहोस्