तिलोत्तमा प्राविधिक अध्यापनको लागि भवन तयार, स्वीकृतीमा ढिलाई

स्वास्थ्यसमाचार/रुपन्देहीको तिलोत्तमा नगरपालिकाले प्राविधिक विषय अध्यापनको लागि सिटी कलेज सञ्चालन गर्ने तयारी गरे पनि सम्बन्धन प्राप्त नहुँदा ढिलाइ भएको छ । नगरपालिकाले सिटी कलेज सञ्चालन गर्न भवन तयार गरेको भए पनि सम्बन्धन प्राप्त नहुँदा कलेज सञ्चालनमा ढिलाइ भएको हो ।

नगरपालिकाले सिटिइभिटीसँग स्वास्थ्यका तीन वर्षे डिप्लोमा विषयका कक्षा सञ्चालन गर्न सम्बन्धन माग गरेको छ । तर, अझैसम्म सम्बन्धन प्राप्त नभएको नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो । नगरका जेहेन्दार, गरिव विद्यार्थीहरुको समेत प्राविधिक विषय अध्ययनमा पहुँच बढाउने उद्देश्यले नगरपालिकाले सिटी कलेजको अवधारणा ल्याएर भौतिक संरचना निर्माण गरेको हो ।

प्रारम्भिक चरणमा डिप्लो तहका कक्षा सञ्चालन गर्ने र क्रमशः स्नातक तहका कार्यक्रम पनि सञ्चालन गर्ने नगरपालिकाको योजना छ । नगरपालिकाले चालु शैक्षिक सत्रबाट कक्षा सञ्चालन गर्नेगरी भौतिक पूर्वाधार निर्माणको काम सके पनि सम्बन्धन प्राप्त नहुँदा यस वर्ष सम्भव नभएको नगर प्रमुख घिमिरेले बताउनुभयो । तिलोत्तमा नगरपालिकाले नगरको मेघा प्रोजेक्टका रुपमा तिलोत्तमा सिटी कलेज निर्माण गरेको हो ।

नगरपालिकाले वडा नम्वर १४ खैरियामा दुई विगाहा परिसरमा सिटी कलेजको लागि भवन निर्माण गरेको हो । साविकको नर्मदेश्वर प्रावि रहेको स्थानमा एक वर्षको अवधिमा नगरपालिकाले सुविधासम्पन्न ३ तले भवन निर्माण गरेको छ । ३ करोड ७७ लाख लागतमा भवन निर्माण भएपछि सुविधा सम्पन्न तरिकाले प्राविधिक शिक्षाका कक्षा सञ्चालन गर्न सहज हुने नगरपालिकाको बुझाइ छ । तर, सम्बन्धन प्राप्त नहुँदा नगरपालिकाले सोंचेअनुसार काम गर्न नसकेको वडाध्यक्ष सोहनप्रसाद चौधरीले बताउनुभयो ।

नगरपालिकाले सिटिइभिटीसँग सम्बन्धनको लागि फाइल सम्बन्धित निकायमा बुझाइ सकेको छ भने यो विषयमा धेरै पटक फ्लो गरिसकेको छ । स्वास्थ्य विषयका विभिन्न विषय पढाउने र विद्यार्थीहरुलाई नगरका स्वास्थ्य संस्था तथा खुल्ने तयारीमा रहेका नगर अस्पतालमा खटाउन सकिने नगरपालिकाको बुझाइ छ । तिलोत्तमामा १५ शैंयाका दुई वटा सिटी अस्पताल स्थापनाको लागि भौतिक पूर्वाधार निर्माणको काम अघि बढेको छ ।

अपुग हुने संरचना तथा भौतिक पूर्वाधार निर्माणको लागि आन्तरिक स्रोतबाटैं व्यवस्थापन गर्न सकिने भए पनि सम्बन्धन नपाउँदा सबै काम रोकिएको जनप्रतिनिधिहरु बताउँछन् ।

सम्बन्धित शिर्षक :