नेपालगञ्जमा एक हजार बेडको होल्डिङ सेन्टर चैत्रसम्म बन्ने

स्वास्थ्यसमाचार/आपतकालीन अवस्थामा नागरिकलाई अस्थायी रूपमा सुरक्षित राख्न नेपालगञ्जमा होल्डिङ सेन्टर निर्माण भइरहेको छ । नेपालगञ्ज उपमहानगरपालिका(१४ स्थित भवानीयापुरमा २९ करोड ३८ लाख दुई हजार ८९ रुपैयाँको लागतमा एक हजार बेडको होल्डिङ सेन्टर निर्माण भइरहेको हो ।

साउन २०७८ मा निर्माण सम्झौता भएको उक्त होल्डिङ सेन्टर २४ असोजमा निर्माण सम्पन्न भइसक्नु पर्नेमा त्यसो हुन सकेन । निर्माण सम्पन्न गर्नका लागि पुस मसान्तसम्मका लागि म्याद थप गरिएको थियो । नेपाली सेनासँगको सहकार्यमा ठेकेदार कम्पनीमार्फत होल्डिङ सेन्टरको निर्माण कार्य सुरु भएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले होल्डिङ सेन्टर निर्माण कार्य पछिल्लोपटक सन्तोषजनक रूपमा अघि बढेकाले चाँडै निर्माण सम्पन्न हुने बताउनुभयो । उहाँका अनुुसार आउँदो चैत्रसम्म निर्माण कार्य सम्पन्न हुनेछ ।

कोभिड–१९ संक्रमण व्यवस्थापन गर्न यो होल्डिङ सेन्टर निर्माण सुरु भएको थियो । कोभिड संक्रमितहरूलाई सुरक्षित तरिकाले उपचार गर्न र समुदायस्तरसम्म संक्रमितहरू सोझै नपुगून् भनेर होल्डिङ सेन्टर निर्माण गरिएको हो । यद्यपि, बाढी तथा डुबान, प्राकृतिक विपदका बेला यो सेन्टर प्रयोगमा ल्याउन सकिने प्रजिअ खत्रीले बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले होल्डिङ सेन्टरका ३०० बेड सञ्चालनका लागि तयारी अवस्थामा रहेका बताउनुभयो । नेपाल भारत सीमावर्ती रुपैडिया(जमुनाह नाकाबाट नेपाल भित्रिने यात्रुहरूलाई मध्यनजर गरी यो सेन्टर स्थापना गरिएको छ । पछिल्लो अवधिमा नेपालगञ्ज आसपास र बाँकेमा कोभिड(१९ परीक्षण गर्दा करिव ७० प्रतिशतलाई संक्रमण भएको अवस्था छ ।

सम्बन्धित शिर्षक :