सिटिइभिटी उपाध्यक्ष लाई तत्काल बर्खास्त गर्न डाक्टर केसीको माग

सदस्य सचिव काफ्लेको मिलेमतोमा केही कलेजलाई सम्बन्धन दिइएको सञ्चालकको दाबी

स्वास्थ्यसमाचार/ प्राविधि शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) लाई पिसिएल नर्सिङ भर्नामा चलखेल गरेको आरोप लागिरहेका बेला चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा। गोविन्द केसीले तालिम परिषद्का उपाध्यक्ष खगेन्द्र अधिकारीलाई बर्खास्त गर्न माग गर्नुभएको छ । अधिकारी मेडिकल माफियाका प्रतिनिधि तथा निजी कलेज सञ्चालक रहेको भन्दै डाक्टर केसीले तत्काल पदबाट बर्खास्त गर्न माग गर्नुभएको हो ।

केसीले बिहीबार विज्ञप्ति जारी गरी अधिकारीले विश्वविद्यालय र स्कुल तहका कार्यक्रम एउटै संस्थाले चलाउन नसक्ने ऐनको प्रावधान मिचेर स्नातक तहका कार्यक्रम चलाउने कलेजहरूमा सिटिइभिटीका स्कुल तहका कार्यक्रममा विद्यार्थी भर्ना गराउने प्रयास गरेको जनाउनुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कानुनअनुसार सय बेडको अस्पताल नहुने नर्सिङ कलेजहरूको कार्यक्रम रोक्ने गरी सिटिइभिटीबाट निर्णय गराउन सिटिइभिटीका अध्यक्ष तथा शिक्षामन्त्रीले खेलेको भूमिका सकारात्मक छ । तर, मेडिकल माफियाका प्रतिनिधि अधिकारीले अहिले विश्वविद्यालय र स्कुल तहका कार्यक्रम एउटै संस्थाले चलाउन नसक्ने ऐनको प्रावधान मिचेर स्नातक तहका कार्यक्रम चलाउने कलेजहरूमा सिटिइभिटीका स्कुल तहका कार्यक्रममा विद्यार्थी भर्ना गराउने प्रयास गर्दैछन् ।’

यस्तै, बिपी प्रतिष्ठान धरानका पदाधिकारीहरूलाई तत्काल बर्खास्त गरी न्यायिक छानबिन आयोग बनाएर छानबिन सुरु गर्नुपर्ने, सार्वजनिक पदमा रहनेहरूको स्वार्थको द्वन्द्व रोक्नका लागि कानुन ल्याउने तथा विश्वविद्यालय र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिका लागि मापदण्ड कार्यान्वयन गर्नेलगायत यस अगाडि छलफलमा गरिएका सबै प्रतिबद्धताहरू पूरा गरिनुपर्ने डा। केसीले माग गर्नुभएको छ ।

यता, परिषद्का सदस्य सचिव जीवनारायण काफ्लेले आफूअनुकूल र सेटिङ गरेका कलेजलाई मात्र सम्बन्धन दिनेगरी भर्ना प्रक्रिया अघि बढाएको अन्य कलेज सञ्चालकहरूले बताएका छन् । सदस्य सचिव पदमा बहाली भएलगत्तै विवादित बन्नुभएका काफ्लेले करोडौँ रुपैयाँ आर्थिक चलखेल गर्न भर्ना खोलेको आरोप उहाँमाथि छ । उहाँले पिसिएल नर्सिङमा भर्ना लिएबापत प्रतिकलेज पाँचदेखि १० लाख रुपैयाँसम्म सेटिङ गरेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार सदस्य सचिव काफ्ले आफैँले कलेज सञ्चालकसँग कुराकानी मिलाउने गरेको र कुराकानी नमिले नियम नपुगेको भन्दै दुःख दिने गरेको सञ्चालकको गुनासो छ ।

सम्बन्धित शिर्षक :