लुम्बिनी प्रादेशीक अस्पतालका मेसु डा राजेन्द्र खनाल कोरोना संक्रमित भएपछि लामो समय संम्म होम आईसोलेसनमा बसेको बेला कोरोना वाट आफुले भोगका अनुभब यस प्रकार रहेका छ ।
१.असोज ७ गते अफिसमै काम गरिराखेको बेलामा जीउ दुखेजस्तो भारि भएकोले ३:०० बजे दिउसो नै घर फर्किए, आरामको लागि। केहि आराम गरेपछि बेलुकि केहिछिन घुम्न निस्किएं। खाना पछि सुत्ने काम भयो।
२.त्यहिं मध्यराति भनौं असोज ८ गते ( बिहीबार )बिहान १:०० बजे एक्कासि सुख्खा खोकीको कारणले घांटि कोक्याएको जस्तो भएर उठ्नुपर्यो।ज्वोरो आएको महशुस थियो ,नाप्दा १०१ डी. फ. थियो। बाहिर पानी झम्झम परिराखेको थियो। भित्र औडाहा भैराखेको, पानी पिएर साथमा भएको जिउ दुख्न कम हुने र ज्वरो कम गर्ने औषधि खाएर सुत्ने कोशिस गरें।
असोज ८ गते उज्यालो भएपछि उठ्दा जिउ करकरि खाएको, ज्वरो चढ्दै रहेको र सुक्खा खोकीले आक्रान्त पारेको आफूलाई पाएपछि पि सि आर टेस्टको लागि स्वाब पठाइयो। १२ घन्टाजतिमा रिपोर्ट प्राप्त नहुंदै ज्वरोको मापन१०३ डी. फ. सम्म रेकर्ड भयो। पोजिटिभ रिपोर्ट ( मात्राको हिसाबले भाइरसको लोड बढी देखिएको)प्राप्त भएपछि न्युजमै फ्ल्यास भयो, म होम आइसोलेशनमा स्वनिगरानि र अन्य साथीहरूको चिकित्सकीय सल्लाहमा बस्ने निधो गरें। परिबारका अन्य सदस्यहरू पनि छुट्टाछुट्टै बसाउने ब्यवस्था गरियो।
३.असोज ९ गते शुक्रबार – आइसोलेशनको दोश्रो दिन। केहि परम्परागत शैलीका उपचार बिधि जस्तै: पानीको बाफ, प्रश्स्त ताता झोल पदार्थको सेवन गर्दै बसें।कोरोना सम्बन्धि अपडेट, साहित्यिक किताबको अध्ययन यस्तैमा मन भुलाएं। शरिरको रापसंगै जीउ दुखाइ ,खोकि छंदै थियो।
त्यसदिन मा. सामाजिक बिकास मन्त्री सुदर्शन बरालज्यू मेरो घर खोज्दै भेट्न आउनुभयो , उहाँको यो कुराले टोल छिमेकमा फैलिएको संत्रासको मनोबिज्ञानलाई फरक हिसाबले बुझ्न सहयोग गर्यो।कम से कम गेट बाहिरसम्म आएर आफूहरुको केहि सहयोग चाहिन्छ कि भनेर छर छिमेकबाट चासो र मेरो स्वास्थ लाभ प्रति शुभेच्छा प्राप्त गर्ने भाग्यमानी चिकित्सक भएं जस्तो लाग्छ। आफ्ना भन्नेहरु बरु कता हराए हराए? सबैचाहिं होइन। आफ्नो घर भएकालाई र पोष्टमा भएकालाई त यस्तो छ भने डेरामा बसेका स्टाफ संक्रमित भए भनेर घरमालिकबाट निकालिएका हृदयबिदारक र अमानवीय उदाहरण हामिसंगै छन।
४.असोज १० गते शनिबार -तेश्रो दिन। छातिको एक्स- रे गराउन अस्पतालमा आफैं गाडि चलाएर आएं। एक्स- रे ठिकै देखिएकोले अक्सिजनको मात्रा हेर्दै घरमा मनिटरिङ्मा रहन सल्लाह भए मुताबिक गरें।अक्सिजन स्याचुरेशन( रगतमा अक्सिजनको मात्रा) घट्ने काम कोरोना संक्रमणमा किन हुन्छ? भन्ने बारेमा लेखजस्तै प्रस्तुत पनि गरेको थिएं। आफूलाई अझै कमजोर महशुस गरेको थिइन।
५.असोज ११ गते- चौथो दिन आइतबार : शरीर गलेर निकै कमजोर भएको महसुस भयो, खानाको रुचि पुरै हट्यो , नाकमा अजिब सा गन्धको प्रबेस भयो। पानी पिउंदा पनि डिजेल मिसाएको गन्ध जस्तो आउने।अजिब सा लागेको जीउ दुखाइको अनुभुतीलाई समेटेर काब्यात्मक रुपमा फेसबुकमा” यस्तो कसैले पनि भोग्नु नपरोस अलिकति पनि ” भन्दै पेश गरेको थिएं।
६.असोज १२ गते सोमबार- पाचौं दिन : झनै शरीर कमजोर । अक्सिजनको मात्रा घरमा हेर्दा ९२- ९३% मा झर्ने बद्लाव आएपछि झन डर लाग्यो। अझ ज्वरो पनि १००-१०१ को हाराहारीमा हुंदा फरक पर्ने। चिकित्सक साथीहरूबाट पुनः एक्स- रे गर्न अस्पताल आउन सल्लाह भयो। फेरि आफैं गाडी चलाएर दिउसो अस्पतालमा एक्स-रे को लागि गएं।चिकित्सकहरुलाई हेर्न बोलाएं।एक्स-रे ठीकै भए पनि मेरो श्वास प्रश्वासको गति र कमजोर अवस्था र त्यहाँ मापन भएको अक्सिजनको मात्राले तुरुन्त मनिटरिङ्मा आइ. सी, यू मा जान सल्लाह भयो।म घर फर्केर परिबारलाई खबर गरेर आफ्नो बढी ख्याल गर्न सुझाउंदै कोभिड आइ सी. यू . तर्फ लागें। ६ घन्टा जतिको आइ सी यू बसाइँमा मोनिटरिङ गर्दा अक्सिजनको मात्रा अलिक स्थिर देखियो ।
त्यतिखेरै बिहान परिबारका सदस्यहरुको स्वाब टेस्ट गराइएकोमा श्रीमती( उनलाई हिंजोदेखि रुघा लागेजस्तो भएको पनि थियो)को रिपोर्ट पनि पोजिटिभ आएको संदेश त्यहीँ प्राप्त गरें। उनलाई यस्तो अवस्थामा झन मेरो सपोर्ट्को जरुरत हुन्छ भनेर र किन आफूले यत्तिको अवस्थामा बेड ओगटेर अरु मभन्दा सख्त अवस्थाका लागि बेडको अभाव हुन दिनू ? भनेर बरु चाहिए घरमै अक्सिजनको जोहो गरेर बस्छु भनेर फिजिसियन चिकित्सक साथीहरुलाई कन्भिन्स गरेर त्यहीँ राति घर फर्किएं।
८. असोज १३ मंगलबार – छैठौं दिन: बिहान उठ्दा फ्रेश जस्तो लागेर त्यहीं समाचार संचार गरें। तर दिउसोतिर असजिलो भएकोले ज्वरो नाप्दै अक्सिजनको मात्रा हेर्दा ८८-९०% ले अत्यास पार्ने बनायो।बीच बीचमा अक्सिजन लिंदा ९५-९६% देखियो। श्रीमतीसंगको कुराकानीमा मलाई फेरि अस्पतालको मनिटरिङ चाहिएकोले त्यतै पठाउन साथीहरूबाट सुझाव भयो। मैले भने आजको दिन यसै घरमै पर्खिने निर्णय गरें।फोन स्विच अफ गरेको थिएं, खोकी र आवाजको चिड्चिडापनले सताएकोले।
९.असोज १४बुधबार : स्थिति हिंजोको जस्तै हुंदा श्रीमतीको फोनमा चिकित्सक साथीहरूबाट बुझ्ने काम भयो। मैले खोकि र कमजोरीको कारण बोल्नमा अरुचिको कारण फोन स्विच अफ गरेको थिएं। घरमा बसेर यस्तो अस्थीर अवस्थामा हुनु खतरा हुने र बरु काठमाडौतिरको बिकल्प रोज्नुपर्छ कि भनेर साथीहरूले भनें। म सकेसम्म काठमाडौं जाने सोंचमै थिइन। त्यसो हो भने ” आफै अक्सिजन कम भएको अवस्थामा गाडी चलाएर आउन भएन, बरु एम्बुलेन्स पठाइदिन्छौंअक्सिजन सहित, तुरुन्तै अस्पतालमै आइसोलेशनमै चिकित्सक र नर्सिङ स्टाफको निगरानीमा रहने गरी आउनुस” भन्ने सुझाव का आधारमा अस्पतालमा पुगें।
एम्बुलेन्सको साइरेनसितै अस्पतालतिर आफैं अस्पताल प्रमुखलाई घुइंक्याइंदा कस्तो लागे होला ? कल्पना बाहिरको कुरा। त्यहाँ १० जना संक्रमित स्टाफहरु स्वास्थ्य लाभ गरिराखेका,डाक्टर देखि क्लिनरसम्मका। सबैले मेरो आगमनले थप उर्जा पाएको महशुस गरे सायद । मलाई बिशेष ध्यान दिए। औसधि पनि चल्यो, खानापिनामा खुब जोड दिए।
१०.असोज १५ बिहीबार : मोनिटरिङ्मा रहियो। खाना मा जोड गर्ने स्टाफहरुले , मलाई खानाको कुरै नभए हुन्थ्यो लाग्ने। त्यस दिन बेलुकीअशुभ समाचारले संजालहरु भरिएका थिए। कोरोना संक्रमित चिकित्सक डा हरि सापकोटा जो नेपालगन्ज अस्पतालमा उपचाररत हुनुन्थ्यो, उहाँ दिउसो बित्नु भएछ। हरि दाई मैले चिनेको मान्छे केहि समय उहाँसंग अध्ययनकालमा अर्थोपेडिक्स ट्रेनिङ्मा संगै थिएं, पछि बिर अस्पतालको क्वाटरमा नजिक बस्ने मौका मिलेको थियो।
बिरक्त लाग्यो सुन्दा र बुझ्दा। बेलुकी नै हाम्रो अस्पतालका एकजना माया गर्ने सिनियर डाक्टर साबले आफ्नो एउटा अनुरोधलाई इन्कार नगर्न भन्दै श्रीमतीसहित काठमाडौतिरको नाम चलेका अस्पतालमा उपचार गर्दा सुरक्षित हुने सल्लाह दिनुभयो। यहाँ अतिरिक्त जोखिम लिंदा आफूहरुलाई पनि मेरो कारणले तनाव भएको भन्नुभयो। मैले हुन्छ डाक्टर साब म भोलि बिहानसम्म बिचार गर्छु भनें।
११.असोज १६ शुक्रबार :आज मलाई भने अलिक सुधार भएजस्तो महशुस भयो। अक्सिजनको मात्रा ९४-८५% मा चढ्यो। ज्वरो कम भयो।खोकि भने थियो। एकपटक बेलुकी छातीको सि टि स्क्यान गर्ने कुरा भयो।त्यसपछि योजना तय गर्ने कुरा भयो। बेलुकीको सी टी स्क्यानले फोक्सोमा कोरोना भाइरसले शुरु अवस्थामा आक्रमण गरेका दागहरु देखिए, तर त्यति सख्त अवस्थाका भने थिएनन, म आफैं रेडियोलोजिस्ट भएकोले अझ बढी बुझें पनि।
लक्षण देखिएको ९ दिनसम्म यस्तो अवस्थामा पाइएकोले अब नबढ्लान र अक्सिजनको मात्रा पनि ठिकै अनि आफूलाई पनि अलिक आराम भएको महशुसले आजको राति अस्पतालमै भए पनि भोलि बिहान घर जानुपर्ला भन्ने सोंचे। साथीहरूसंग कुरा राखें।हुन्छ भोलि बिहानसम्म राम्रो भए जान हुने कुरा आयो।
११. असोज १७ शनिबार : म बिहान सुधारोन्मुख अवस्थामा सबै मेरो सेवामा खटिएका स्टाफहरुलाई धन्यवाद दिई घर फर्किएं।सुख्खा खोकिले बेला बेलामा दुख दिएपनि समग्रमा सुधार भएको छ। खानाको स्वाद र नाकले थाहा पाउने गन्धमा अझै बद्लाव छ। बिस्तारै सुधार होला।
१२.असोज १८ आइतबार : आज ११औं दिन लक्षण देखिएको। भाइरसको लोड पनि बढि भएको कारण र अस्पतालको काममा मेरो अनुपस्थितिको कारण धेरै काममा अप्ठ्यारो भैराखेको बुझेकोले पनि स्वाब टेस्टमा पठाइयो। रिपोर्ट फेरि पोजिटिभ आयो तर अरुलाई नसर्ने लेभलतर्फ उन्मुख। ठूलो छोराको पनि रुघा जस्तो र टाउको दुखिराखेको कारणाले टेस्ट गरेको उसको पनि पोजिटिभ ।
परिबारका सक्रिय सदस्य हरु संक्रमित हुंदा खानादेखिको आपूर्तिसम्मको ब्यवस्थापन डामाडोल हुंदोरहेछ। निगेटिभ नआउन्जेल आइसोलेशनमा रहनै पर्यो। शरीर पनि शक्तिबिहिन भएको छ। एउटा प्राणबायुमा भएको अक्सिजन रगतमा नपुगेर र अर्को मुखबाट खाना गएकै छैन उर्जा कसरी होस।उर्जा नभएपछि झन खानामा अरुचि र केही पनि गर्न मन नलाग्ने चक्र बृत्त ।बाहिरबाट आउने ध्वनिप्रति चिड्चिडाहट, प्रकाश कोठाभित्र नपसोस भन्ने, अलग्गै गन्धले सबै बितृष्णा।यस्तै भैराख्यो अरु ५ दिन। अक्सिजनको मात्रा ९५% भन्दा माथि नै रह्यो।
१३. असोज २२ बिहिबार : आज१४ दिनको टेस्टमा पी सी आर रिपोर्ट निगेटिभ आयो। तर शरीर उर्जाबिहिन भएर कमजोर छ, ५ के जी तौल कम भएछ। खाना कसरी बढाउने तनाव छ, रुचि नहुने, खानाको स्वादै अलग छ, नाकले थाहा पाउने गन्ध अलग छ- कति ज्याद्रो भाइरस रैछ। फलफूलको स्वाद भने ठिकै रहेको र सकेसम्म तेल नहालेको र मसला प्रयोग नभएको तरकारी भए हुन्थ्यो भन्ने लाग्छ; यिनैले भए पनि शरीर धान्नु छ। बिस्तारै शक्ति आएजस्तो भयो। शारीरिक अभ्यास पनि गर्न थालेको छु। अब भने जोखिमबाट पूरै बाहिर छु लागेको छ। खोकीले राति सुत्न दिन्न , कम भने छ।
१४.असोज २६ सोमबार : आज भने १८ दिनपछि थोरै समयको लागि भए पनि अस्पताल गएं।अस्पताल धेरै मिस गरेछु। धेरै कागजातमा सहि गर्नुपर्ने तलबदेखि खर्चहरुको भुक्तानी दिनुपर्ने बाध्यता छ।दशैंको मुख छ। अत्यास लाग्दो खर्च छ, दैनिक ९० वटासम्मको सिलिन्डरको खपत कोभिडका बिरामीको लागि। पी पी ई र औषधि त कति हो कति खपत।बिरामीहरु भरिएका छन धागो कारखाना को कोभिड आइ सी यू र आइसोलेशनमा, त्यसरी नै अस्पताल परिसरमा रहेको प्री- (फिभर)आइसोलेशनमा। स्टाफहरु पनि १०० जनाभन्दा बढी संक्रमित भएर अस्पतालमा राख्ने ठाउँ छैन।अप्ठ्यारो देख्छु। पी सी आर टेस्टको लागि भिड जमेकै छ।
माननीय भन्ने देखि चिनेजानेका सबैले फोनबाट बेड मिलाइदिनु न भनेर आग्रह गर्नुहुन्छ। यो बसको सीट मिलाएजस्तो बुझ्नुहुन्छ कि भनसुनको चलनले काम पो गरिहाल्छ कि भनेर हो? बिरामीको लागि घर बनाइदिने, बेड बनाइदिने , उपकरणको ब्यवस्थापन गर्दिने आवश्यक जनशक्ति दिने काम मुख्यत उहांहरुको हो र त्यहां काम गर्ने सेवा गर्ने काम हाम्रो हो। अस्पताल र धागो कारखाना को आइसोलेशन बिच बिरामी र सब बोक्ने प्रहरीका एम्बुलेन्स ड्राइभरहरु संक्रमित भएर उपचाररत छन । तर अर्को ड्राइभरको टोली पाइएको छैन।सबैले आफ्नो काम गर्दिए पुग्थ्यो खालि दोषजति अरुलाई दिएर आफू पन्छिएर हुन्छ र। गर्न सक्ने जति त गरेकै छौं हामीले ।
अस्पताल प्रबेश गर्दा अपाङ्ग ,अशक्त ,गरीब र बोल्न नसक्ने बेसहारा बिरामीहरुलाई सजिलो सिस्ट्मले काम गरोस, सख्त अवस्थाका बिरामीलाई बिना झंझट बेड्मा राखेर सुरक्षित तवरबाट उपचार गर्न सकियोस। बिरामीको जीवन फर्केर आएको खुशी देख्न पाइयोस , मुस्कानसहित अस्पतालको सिस्टमप्रति आभार ब्यक्त गर्दै घरतर्फ जान सकून भन्ने मात्र मेरो चाहना हो।
आजै बिहान मलाई माया गर्ने नातामा बुवा भन्दै मैले संबोधन गर्ने ७ दशक पार गरिसकेका ब्यक्ति भेट्न घरमै आउनुभयो। उहाँ संग समसामयिक कुराहरु भए । बुवाले मलाई क्लान्त अवस्थामा पाउंदा भन्नुभयो “यो प्रशासनिक पोस्ट सम्हाल्नुभन्दा त बाबुले अब आरामले आफ्ना अनुभवलाई समेटेर शिक्षाप्रद लेखनतिर जांदा ठिक हुन्छ होला, कहाँ दवाबै दवाबको तनाव कहाँ लेखेर पाठकसमक्ष आनन्दले पस्किने काम। कलम पनि सलल्ल बग्दो रहेछ। कति बर्ष झेल्नुपर्ने हो यसको कहर?” बुवाले माया गरेर भन्नुभएको कुरालाई स्विकारें र भनें,” कहिलेकाहीँ कुनै ठाउँ को बिकास हुन केहि कुराको संयोजन हुनुपर्छ , जस्तै: संकल्प, संकट, संयोग,समय।
यस्तैमा केहि पो फरक पार्न सकिन्छ कि र यहाँका मान्छेले पनि सम्झिइनेमा परिन्छ कि भन्ने एउटा इच्छा हो बुवा, त्यसबाहेक केहि स्वार्थ्य छैन।त्यसैले लागिपरेको हो। नत्र म जस्तो प्राबिधिक क्षेत्रको डाक्टरलाई आफ्नो आनन्द त आफ्नो बिषयबिग्यतामा हुन्छ। लेख्ने कुराको आनन्द त अझ अलग्गै। अब त यहीँ अस्पतालमा जन्मेका र यहींको पहिलो प्राणबायु लिएका नयाँ पुस्तालाई जिम्मा दिने पक्षमा छु। हेरम बुवा के हुन्छ?”
दिउसो ८९ बर्षमा चलिराख्नुभएको मेरो आफ्नै बुवालाई भेट्न गाउँमा पुगें। बुवाले देख्नलाई धेरै दिनदेखि निरस लागेको भन्दै हुनुहुन्थ्यो ।आफूलाई पनि १ हप्ता जति ज्वरोले अप्ठ्यारो पारेको सुनाउनु भयो।२ दिन भएको ठिक भएको भन्नुभयो । मैले बुवाको बारेमा बिरामी अवस्थामै सबै थाहा पाएको थिएं ।तर घरबाट बाहिर ननिस्किने र बाहिरबाट मान्छेहरू न आउने हुंदा कोरोना संक्रमणको जोखिम त थिएन। तर समुदायमा पुगेको कोरोनाको के भर ? भन्ने पनि लाग्ने।धन्न ठिक भएछ र बुझ्दा कोरोनाका अन्य लक्षण थिएनन् ।ढुक्क भएं। मलाई बिसन्चो भएको तनावले पनि बुवालाई अप्ठ्यारो भएको हो कि जस्तो लाग्यो।
अब चुनौती धेरै छन ।आत्तिएर पनि भएन। आम जनता कोरोनाको बारेमा अनुशसित भैदिए स्वास्थ्यकर्मिहरुलाई धेरै दवाब झेल्नु पर्दैन थ्यो। नत्र त नदेखेका भगवान भरोसा भन्नुबाहेक के छ र!सबै मेरो स्वास्थ्य प्रति चिन्तित शुभेच्छुकहरुलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। मेरो स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ। आफूलाई सुरक्षित राख्नुहोला।
प्रतिकया दिनुहोस्