स्वास्थ्यसमाचार / रुपन्देहीको सैनामैना नगरपालिका–६ मा ७० वर्षमाथिका ज्येष्ठ नागरिकको निःशुल्क रगतमा चिनी (सुगर) तथा पिसाबमा प्रोटिन परीक्षण गरिएको छ।
वडा नम्बर ६ को आयोजनामा दुधराक्ष स्वास्थ्य संस्थामा सञ्चालन गरिएको कार्यक्रममा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरी मधुमेह तथा मिर्गौलासम्बन्धी समस्याको प्रारम्भिक पहिचान गर्ने उद्देश्य राखिएको थियो।
कार्यक्रमकी प्रमुख अतिथि सैनामैना नगरपालिकाकी उपप्रमुख बिना रानाले ज्येष्ठ नागरिकको स्वास्थ्य संरक्षण र सम्मानजनक जीवनयापनका लागि यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो।
उहाँले ज्येष्ठ नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवाको पहुँचमा पुर्याउन स्थानीय सरकार संवेदनशील रहेको उल्लेख गर्नुभयो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले स्वास्थ्य परीक्षणबाट रोगको समयमै पहिचान र उपचारमा सहयोग पुग्ने बताउनुभयो।
त्यसैगरी, वडा नम्बर ६ का अध्यक्ष गोपाल पोखरेलले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि नागरिकको स्वास्थ्य र हितका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा आशीष पोखरेल, खिमराज पोखरेललगायतले ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र सचेतनाको आवश्यकताबारे धारणा राख्नुभएको थियो।
कार्यक्रमले ज्येष्ठ नागरिकमा मधुमेह तथा मिर्गौलासम्बन्धी समस्या समयमै पहिचान गरी उपचारमा पहुँच बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको सैनामैना नगरपालिका प्रशासकिय अधिकृत केशब अर्यालले बताउनु भयो ।


प्रतिकया दिनुहोस्