बालबालिका स्वस्थ भए मात्र परिवार, समाज र देशको भविष्य स्वस्थ र उज्ज्वल बन्न सक्छ। बाल्यावस्था शारीरिक तथा मानसिक विकासको महत्त्वपूर्ण समय भएकाले यस उमेरमा पोषण, सरसफाइ र स्वास्थ्य सेवामा विशेष ध्यान दिन आवश्यक छ।
बालबालिकालाई स्वस्थ राख्ने उद्देश्यले नेपाल सरकारले हरेक वर्ष भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सञ्चालन गर्दै आएको छ।
यसै क्रममा २०८३ साल कार्तिक १७ र १८ गते देशभरका स्वास्थ्य संस्थामार्फत ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइँदै छ।
नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको जनस्वास्थ्यसम्बन्धी सन्देश पनि स्पष्ट छ-बालबालिकालाई उपलब्ध गराइने नियमित स्वास्थ्य सेवाबाट कुनै पनि बालबालिका वञ्चित हुनु हुँदैन।
त्यसैले अभिभावकले आफ्ना बालबालिकालाई नजिकैको तोकिएको वितरण केन्द्रमा लगेर स्वास्थ्यकर्मीको सल्लाहअनुसार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनुपर्छ।
भिटामिन ‘ए’ ले आँखाको स्वास्थ्य कायम राख्न र शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ। त्यस्तै, जुकाको सङ्क्रमणले बालबालिकाको पोषण, शारीरिक विकास र समग्र स्वास्थ्यमा असर पार्न सक्ने भएकाले समयमै जुकाको औषधि खुवाउनु महत्त्वपूर्ण हुन्छ।
यो अभियान सफल बनाउन स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र अभिभावकको भूमिका उत्तिकै महत्त्वपूर्ण हुन्छ। त्यसैले अभिभावकले आफ्ना बालबालिकालाई तोकिएको मिति र स्थानमा लगेर स्वास्थ्यकर्मीको सल्लाहअनुसार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनुपर्छ।
बालबालिकाको स्वास्थ्यप्रतिको सानो लापरबाहीले भविष्यमा ठूलो समस्या निम्त्याउन सक्छ। त्यसैले उनीहरूको स्वास्थ्यलाई प्राथमिकता दिऔँ, नियमित पोषण र सरसफाइमा ध्यान दिऔँ र उपलब्ध स्वास्थ्य सेवाको उचित उपयोग गरौँ।
स्वस्थ बालबालिका नै स्वस्थ समाजको आधार हुन्। आउनुहोस्, सबै मिलेर बालबालिकाको स्वस्थ भविष्य सुनिश्चित गरौँ। सृजना पोखरेलल्याब टेक्निसियन, जिरी अस्पताल


प्रतिकया दिनुहोस्