राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत रहेका सम्पूर्ण स्वास्थ्य संस्थामा यही मिति २०८३ साल कार्तिक १७ र १८ गते एकैसाथ सञ्चालन हुने भएको छ।
कार्यक्रममा ६ देखि ५९ महिनाका शिशु तथा बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनाका बालबालिकालाई जुकाको औषधि खुवाइने भएकाले आफ्ना बालबालिकालाई तोकिएअनुसार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन नजिकको स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकासँग सम्पर्क गरी अनिवार्य रूपमा सेवन गराऔँ।
सरकारले भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रम सन् १९९३ देखि र भिटामिन ‘ए’ सँगै जुकाको औषधि खुवाउने कार्यक्रम सन् २००१ देखि सुरु गरेको हो। यस कार्यक्रममा आफ्ना बालबालिकालाई नछुटाऔँ।
हरेक वर्ष वैशाख र कार्तिक महिनामा सञ्चालन हुँदै आएको यो महाअभियान कार्तिक २ र ३ गते नेपालीहरूको महान् पर्व विजयादशमी पर्न गएकाले मन्त्रालयको निर्णय र परिपत्रअनुसार यही कार्तिक १७ र १८ गते देशभर एकैसाथ सञ्चालन गर्न परिपत्र गरिएको हो।त्यसैले सबैले आ–आफ्नो स्थानबाट अभियान सफल बनाउन लागिपर्नु आवश्यक छ।
आफ्ना भविष्यका कर्णधार ६ महिनादेखि पाँच वर्षसम्मका सम्पूर्ण बालबालिकालाई भिटामिन ‘ए’ को क्याप्सुल र जुकाको औषधि खुवाउन नभुलौँ। यो अभियानले बालबालिकालाई कमजोरी हुनबाट बचाउनुका साथै अपाङ्गता तथा अशक्तताबाट जोगाउन र अन्य रोगसँग लड्ने क्षमता बढाउन सहयोग गर्छ।
साथै, रतन्धोजस्तो घातक रोगबाट समेत बचाउँछ। त्यसैले आफ्ना बालबालिकालाई निःशुल्क उपलब्ध हुने यी औषधि सेवन गराउने कार्यमा अनिवार्य रूपमा सहभागी बनौँ।
भिटामिन ‘ए’ को कमीको रोकथाम तथा नियन्त्रण कार्यक्रमअन्तर्गत सूचीकृत स्वास्थ्य संस्थाहरूले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकामार्फत वर्षमा दुई पटक, कार्तिक र वैशाख महिनामा, ६ महिनादेखि पाँच वर्षसम्मका सम्पूर्ण बालबालिकालाई भिटामिन ‘ए’ को क्याप्सुल खुवाउँछन्।
जसमा ६ देखि १२ महिनाका बालबालिकालाई १,००,००० आईयू (आधा क्याप्सुल) र १२ महिना पूरा भएदेखि पाँच वर्षसम्मका बालबालिकालाई २,००,००० आईयू (एक क्याप्सुल) खुवाउनुपर्छ।
साथै, दादुरा, कडा कुपोषण, दीर्घ झाडापखाला र भिटामिन ‘ए’ को कमीबाट हुने आँखासम्बन्धी रोगहरूको उपचारका लागि पनि स्वास्थ्य संस्थाहरूबाट भिटामिन ‘ए’ को क्याप्सुल प्रयोग गरिन्छ।
त्यसैगरी, शिशुलाई स्तनपानमार्फत भिटामिन ‘ए’ को आपूर्ति गर्ने उद्देश्यले सुत्केरी महिलालाई शिशु जन्मेको छ हप्ताभित्र स्वास्थ्य संस्था तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकामार्फत २,००,००० आईयू भिटामिन ‘ए’ को एक क्याप्सुल खुवाइन्छ।
साथै, परजीवी नियन्त्रण कार्यक्रमअन्तर्गत जन्मेदेखि एक वर्ष उमेरसम्मका बालबालिका लाई जुकाको औषधि खुवाइँदैन। एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिका लाई सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकामार्फत अर्धवार्षिक रूपमा कार्तिक र वैशाख महिनामा जुकाको औषधि अल्बेन्डाजोल ४०० मिलिग्राम एक मात्रा खुवाइन्छ।
जसमा एक वर्षदेखि दुई वर्षसम्मका बालबालिकालाई २०० मिलिग्राम (आधा चक्की) र दुई वर्ष पूरा भएदेखि पाँच वर्षसम्मका बालबालिकालाई ४०० मिलिग्राम (एक चक्की) खुवाइन्छ।
विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमअन्तर्गत विद्यालय जाने बालबालिकालाई अर्धवार्षिक रूपमा जेठ र मंसिर महिनाको पहिलो हप्तामा जुकाको औषधि अल्बेन्डाजोल ४०० मिलिग्राम एक मात्रा खुवाउने चलन छ।
सोहीअनुसार सहभागी गराई औषधि खुवाउनुपर्छ। ६ महिनादेखि दुई वर्षमुनिका बालबालिकालाई बहुसूक्ष्म पोषक तत्त्व (बालभिटा) वितरण गरिँदै छ भने पाँच वर्षमुनिका बालबालिकाको पाखुराको नाप लिइँदै छ। त्यसैले यो कार्यक्रम महत्त्वपूर्ण भएकाले अभियानकै रूपमा सञ्चालन गरिएको पाइन्छ।
के हो त भिटामिन ‘ए’?
व्यक्तिको शारीरिक क्रियाकलापलाई नियन्त्रण गरी शरीरलाई राम्रोसँग काम गर्न सहयोग गर्ने, थोरै मात्रामा आवश्यक पर्ने तर शरीरका लागि नभई नहुने सूक्ष्म पोषक तत्त्वलाई भिटामिन भनिन्छ। भिटामिन ‘ए’ ले शरीरमा विभिन्न किसिमका संक्रमणको रोकथाम गर्न सहयोग गर्छ। यसले आँखालाई स्वस्थ राख्नुका साथै बालबालिकाको वृद्धि तथा विकासमा महत्त्वपूर्ण सहयोग गर्छ।
भिटामिन ‘ए’ आमाको बिगौती दूध, सिङ्गो माछा, जनावरको दूध, हरियो सागपात, कर्कलो, जनावरको कलेजो र मिर्गौला, अण्डा, पहेँला फलफूल तथा तरकारी, फर्सी, मेवालगायतका खाद्य पदार्थमा पाइन्छ। यो विभिन्न मात्रामा सुरक्षित रूपमा तयार पारिएका क्याप्सुलका रूपमा पनि उपलब्ध हुन्छ। त्यसैले यसलाई अत्यन्तै महत्त्वपूर्ण र स्वास्थ्यवर्धक पोषक तत्त्व मानिएको छ।
यसरी नेपाल सरकारबाट निःशुल्क रूपमा वितरण गरिएका यी महत्त्वपूर्ण स्वास्थ्यसम्बन्धी अभियानमा आफ्ना बालबालिकाले प्राप्त गर्ने उमेरअनुसारको सेवा लिन नजिकको स्वास्थ्य संस्थामा अनिवार्य रूपमा जानुपर्छ। आफ्ना बालबालिकालाई घातक रोगबाट बचाउन औषधि सेवन गराउनु हरेक आमाबुबा र सरोकारवाला नागरिकको कर्तव्य हो।
साथै, यही मिति २०८३ साल कार्तिक १७ र १८ गते सञ्चालन हुने भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने राष्ट्रिय कार्यक्रममा सबै सहभागी भई भव्यताका साथ सफल पारौँ।
प्रत्येक बालबालिकाका अभिभावक, स्वास्थ्य क्षेत्रका सम्पूर्ण सरोकारवाला, शिक्षक–शिक्षिका, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, राज्यका तीनै तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, प्रशासनलगायत सबैको आ–आफ्नो तहबाट सहयोग र सहकार्य भएमा मात्र राज्यको यो महत्त्वपूर्ण कार्यको सार्थकता रहन्छ भन्नमा कुनै दुईमत छैन।
त्यसैले सबै मिलेर यो अभियान सफल पारौँ र आफ्ना बालबालिकालाई घातक रोगबाट बचाऔँ।“भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क पाइन्छन्, यी दुवै सुरक्षित छन्, यी दुवै औषधिले जीवन रक्षा गर्छन्।”
भोजराज पोख्रेल स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी


प्रतिकया दिनुहोस्