जनस्वास्थ्यकर्मीका समस्या सम्बोधन गर्न संघलाई आग्रह

पालिकामा जनस्वास्थ्य अधिकृतको व्यवस्था, रोजगारी र कार्यविधि कार्यान्वयनमा जोड

स्वास्थ्यसमाचार / नेपाल जनस्वास्थ्य संघ लुम्बिनी प्रदेशका जनस्वास्थ्यकर्मीले रोजगारी, कार्यक्षेत्र र कार्यविधि कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न संघले पहल गर्नुपर्ने बताएका छन्।

उनीहरूले सबै पालिकामा जनस्वास्थ्य अधिकृतको व्यवस्था गर्न र जनस्वास्थ्य कर्मीको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न पनि माग गरेका छन्।

तिलोत्तमाको योगीकुटीस्थित होटल पौवामा शनिबार आयोजित जनस्वास्थ्यकर्मीसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हरूले जनस्वास्थ्य सेवाको प्रभावकारिता, जनशक्ति व्यवस्थापन र व्यावहारिक ज्ञानका विषयमा धारणा राखेका हुन्।

कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य कार्यलय रुपन्देहीकी प्रमुख जनस्वास्थ्य प्रशासक उमा देवी थापाले जनस्वास्थ्यकर्मीका समस्या सम्बन्धित निकाय सम्म पु¥याएर समाधानका लागि पहल गर्नुपर्ने वताउनु भयो ।

उहाँले जनस्वास्थ्यकर्मी बीच समन्वय बढाउन र बुझाइमा रहेका समस्या हटाउन आवश्यक रहेको समेत बताउनु भयो ।

संघका केन्द्रीय सदस्य विनोद पोखरेलले जनस्वास्थ्यकर्मीलाई आफ्ना गुनासा संघमा राख्न आग्रह गर्नु भयो। संघको पहलमा भइरहेका कामलाई प्रभावकारी बनाउन र नबुझेका विषय प्रदेश तथा स्थानीय तहसम्म बुझाउनुपर्ने उहाको भनाई छ ।

प्रदेशका सल्लाहकार निरञ्जन पोखरेलले स्थानीय तहमा अझै पनि जनस्वास्थ्यको महत्त्व र जनस्वास्थ्यकर्मीको भूमिकाबारे पर्याप्त बुझाइ नभएको बताउनु भयो।

प्रदेशबाट पठाइएका जनस्वास्थ्य अधिकृतलाई स्थानीय तहले हेल्थपोस्टमा पठाउने गरेको उल्लेख गर्दै उहाले उनीहरूको योग्यता र दक्षताअनुसार जिम्मेवारी दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहभागीहरूले जनस्वास्थ्य विषय अध्ययन गरेका युवाले रोजगारीका अवसर नपाएको, सरकारी तथा निजी क्षेत्रमा जनशक्ति व्यवस्थापन चुनौतीपूर्ण बनेको र जनस्वास्थ्यका कार्यक्रम कार्यविधि अनुसार सञ्चालन हुन नसकेको बताए।

उनीहरूले पालिकास्तरमा जनस्वास्थ्य अधिकृतको व्यवस्था गर्न, कार्यक्षेत्र स्पष्ट पार्न र आवश्यक कार्यविधि निर्माण गर्न माग गरे। अन्य प्रदेशमा भएका अभ्यासको अध्ययन गरी लुम्बिनीमा पनि उपयुक्त व्यवस्था लागू गर्नुपर्ने उनीहरूको भनाइ थियो।

जनस्वास्थ्यकर्मीलाई नयाँ अभ्यास र कार्यक्रमबारे तालिम दिनुका साथै विद्यार्थीलाई व्यावहारिक ज्ञान तथा कार्यक्षेत्रमा अनुभव हासिल गर्ने अवसर उपलब्ध गराउनुपर्नेमा पनि जोड दिइयो।

कार्यक्रममा दीपक पाण्डेय, विवेक ज्ञवाली ,अञ्जु भट्टराई र नेपाल जनस्वास्थ्य संघ लुम्बिनी प्रदेशको कोषाध्यक्ष किरण श्रेष्ठ लगायतले जनस्वास्थ्यकर्मीले आफ्नो अधिकार र कार्यक्षेत्रबारे स्पष्ट हुनुपर्ने बताए। जनस्वास्थ्यकर्मीका साझा समस्या समाधान गर्न एकजुट भएर संगठनमा आबद्ध हुनुपर्ने उनीहरूको भनाइ थियो।

सहभागीहरूले संघले तीन हजारभन्दा बढी सदस्यका समस्या सम्बोधन गर्न, सबै जिल्लामा संगठन विस्तार गर्न र जनस्वास्थ्यकर्मीका माग सम्बन्धित निकायसम्म पु¥याउन सक्रिय भूमिका खेल्नुपर्ने बताएका छन्।

कार्यक्रम नेपाल जनस्वास्थ्य संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष अर्जुन पौडेलको अध्यक्षतामा संञ्चालनमा भएको थियो भने कार्यक्रम संचालन सह -सचिव मेघनाथ न्यौपानेले गर्नु भएको थियो ।

सम्बन्धित शिर्षक :