स्वास्थ्यसमाचार/स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४०० शय्याको अस्पताल भवन निर्माण प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयले पहल गर्ने बताउनुभएको छ।
प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री मेहताले प्रतिष्ठानको विकास, सेवा विस्तार र स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि मन्त्रालयका तर्फबाट आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रतिष्ठानको भौतिक पूर्वाधार विकास, उपकरण व्यवस्थापन र स्वास्थ्य सेवाको विस्तारमा मन्त्रालयले सहयोग गर्ने उहाँको भनाइ थियो। उहाँले प्रतिष्ठानको सेवालाई थप प्रभावकारी बनाउँदै सर्वसाधारणलाई सहज र सुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक पहल गर्ने बताउनुभयो।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्य, सांसद कमल सुवेदी, स्वास्थ्य सचिव डा. विकास देवकोटा, मन्त्रीका प्रमुख विज्ञ सल्लाहकार डा. मनोहर प्रधान, प्रतिष्ठानका उपकुलपति प्रा.डा. अजयकुमार मिश्र र रजिस्ट्रार प्रा. श्याम लम्साललगायतले प्रतिष्ठानको सेवा विस्तार र भावी योजनाबारे धारणा राख्नुभएको थियो।
महामन्त्री आचार्यले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान यस क्षेत्रको स्वास्थ्य सेवाको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै नागरिकले विश्वास गर्न सक्ने गुणस्तरीय स्वास्थ्य संस्थाका रूपमा विकास गर्नुपर्ने बताउनुभयो। प्रतिष्ठानको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक सुधार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
सांसद सुवेदीले स्वास्थ्य सेवाको सुधारसँगै प्रशासनिक प्रणालीलाई पनि प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो। सेवा प्रवाहलाई सहज, पारदर्शी र परिणाममुखी बनाउन प्रशासनिक सुधारलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो।
अन्तरक्रियामा प्रतिष्ठानको सेवा विस्तार, भौतिक पूर्वाधार विकास, उपकरण व्यवस्थापन, संस्थागत क्षमता सुदृढीकरण तथा सर्वसाधारणको स्वास्थ्य सेवामा पहुँच बढाउने विषयमा छलफल भएको थियो।
प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमले अस्पतालको भावी विकास, विद्यमान चुनौतीको पहिचान र स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि सम्बन्धित निकायबीच समन्वय तथा सहकार्य बढाउने अपेक्षा गरिएको छ।


प्रतिकया दिनुहोस्