लुम्बिनीका स्वास्थ्य सचिव र स्वास्थ्य निकायका प्रमुख बीच कार्यसम्पादन सम्झौता

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ का लागि स्वास्थ्य निर्देशनालय, प्रादेशिक अस्पताल, आपूर्ति केन्द्र, तालिम केन्द्रलगायत स्वास्थ्य निकायका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ।

स्वास्थ्य मन्त्रालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठ र स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरी बीच कार्यसम्पादन सम्झौता भएको हो।

त्यसैगरी लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. विष्णु गौतम, प्रदेश आपूर्ति केन्द्रका निर्देशक डा. राजेन्द्र गिरी, राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नुरुल मोहम्मद होदा, बिजौरी आयुर्वेद अस्पतालका निमित्त निर्देशक डा. प्रवेश श्रीवास्तव बीच कार्यसम्पादन सम्झौता भएको हो।

त्यसैगरी  स्वास्थ्य तालिम केन्द्रका निमित्त निर्देशक भुवन कुँवर र प्रदेश जनस्वास्थ्य प्रयोगशालाका डा. सुवर्ण आचार्यलगायतसँग पनि कार्यसम्पादन सम्झौता गरिएको मन्त्रालयले जनाएको छ।

प्रदेश निजामती सेवा ऐन, २०८० तथा प्रदेश निजामती सेवा नियमावली, २०८० को व्यवस्थाअनुसार स्वास्थ्य निकायका प्रमुखको कार्यसम्पादनलाई परिणाममुखी, सेवामूलक र उत्तरदायी बनाउने उद्देश्यले सम्झौता गरिएको हो।

स्वास्थ्य निर्देशनालयसँग गरिएको सम्झौतामा प्रदेशको स्वास्थ्य सेवाको गुणस्तर र पहुँच विस्तार, मातृ, नवजात तथा बाल स्वास्थ्य सुधार, नसर्ने रोगको रोकथाम तथा नियन्त्रण र स्वास्थ्य प्रवर्द्धनलाई प्राथमिकता दिइएको छ। त्यस्तै आकस्मिक स्वास्थ्य समस्या तथा महामारी व्यवस्थापन र मानसिक स्वास्थ्य सेवा विस्तारलाई पनि मुख्य कार्यक्षेत्रमा समेटिएको छ।

स्वास्थ्य संस्थाको नियमित अनुगमन, प्रदेश स्वास्थ्य नीति तथा रणनीतिक योजनाको कार्यान्वयन र शून्य बेरुजु कायम गर्ने विषय पनि सम्झौतामा समेटिएका छन्।

निर्देशनालयको कार्यसम्पादनलाई व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउन १३ वटा मुख्य कार्यक्षेत्र तोकिएको मन्त्रालयले जनाएको छ।

सम्झौताअनुसार  तोकिएका कार्यको प्रगति चौमासिक रूपमा स्वमूल्यांकन गर्नुपर्नेछ। आर्थिक वर्ष समाप्त भएको सात दिनभित्र स्वमूल्यांकन प्रतिवेदन स्वास्थ्य मन्त्रालयमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

मन्त्रालयले कार्यसम्पादन सम्झौताले प्रदेशको स्वास्थ्य सेवा प्रवाहमा सुधार ल्याउन तथा स्वास्थ्य कार्यक्रमलाई थप परिणाममुखी बनाउन सहयोग पुग्ने जनाएको छ।

सम्बन्धित शिर्षक :