सञ्जीवनी अस्पतालले सुरु गर्‍यो हेमोडायलिसिस सेवा

स्वास्थ्यसमाचार/घोराही उपमहानगरपालिका–३ बरगदुवास्थित सञ्जीवनी टिचिङ हस्पिटलले मिर्गौला रोगीका लागि हेमोडायलिसिस सेवा सञ्चालनमा ल्याएको छ।

अस्पतालले असोज ८ आज  देखि औपचारिक रूपमा हेमोडायलिसिस सेवा सुरु गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाले जानकारी दिनुभयो।

मिर्गौलाले शरीरमा आवश्यक काम गर्न नसक्ने अवस्थामा रगतमा जम्मा हुने हानिकारक पदार्थ तथा अतिरिक्त तरल पदार्थ हटाउन हेमोडायलिसिस गरिन्छ।

सेवा सुरु भएपछि नियमित डायलिसिस आवश्यक पर्ने दाङका बिरामीले जिल्लामै थप उपचार सुविधा पाउने भएका छन्।

अस्पतालका अधिकृत रोकाका अनुसार आधुनिक हेमोडायलिसिस उपकरण मार्फत सेवा दिइनेछ। उपकरणमा कम्प्युटराइज्ड तथा डिजिटल निगरानी प्रणाली रहेकाले उपचारका क्रममा बिरामीको अवस्थालाई निरन्तर निगरानी गर्न सकिने उहाँले बताउनुभयो।

उहाँका अनुसार सेवामा उच्च सुरक्षा, सरसफाइ, प्रभावकारिता र बिरामीको सहजतालाई प्राथमिकता दिइएको छ। आधुनिक उपकरणका कारण संक्रमणको जोखिमसमेत कम हुने अस्पतालको दाबी छ।

अस्पतालले विशेषज्ञ सेवा तथा अत्याधुनिक स्वास्थ्य सेवा विस्तार गर्ने क्रममा हेमोडायलिसिस सेवा सञ्चालनमा ल्याएको जनाएको छ। सेवा सुरु भएपछि नियमित डायलिसिसका लागि अन्यत्र जानुपर्ने मिर्गौला रोगी तथा उनीहरूका परिवारको बाध्यता कम हुने अपेक्षा गरिएको छ।

‘केयर फर अल’ भन्ने मूल नारासहित सेवा दिँदै आएको अस्पतालले बिरामीको आवश्यकता र स्वास्थ्य अवस्थाअनुसार हेमोडायलिसिस सेवा उपलब्ध गराउने जनाएको छ।

सम्बन्धित शिर्षक :