फार्मासिस्ट : औषधि मात्र होइन, सुरक्षित स्वास्थ्य सेवाको आधार

बिरामी डाक्टरकहाँ पुग्छ, रोगको पहिचान हुन्छ, औषधि लेखिन्छ र बिरामी फार्मेसीमा पुग्छ। हाम्रो सामान्य बुझाइ यतिमै सीमित हुन्छ—“औषधि लिएँ, अब सन्चो हुन्छ।” तर औषधि किन्नु मात्र उपचार होइन। सही औषधि, सही मात्रा, सही समय, सही तरिका र सही अवधिसम्म प्रयोग हुनु नै सुरक्षित औषधि उपचारको आधार हो। यहीँबाट फार्मासिस्टको वास्तविक भूमिका सुरु हुन्छ।

फार्मासिस्ट औषधि बिक्री गर्ने व्यक्ति मात्र होइनन्। उनी औषधिको गुणस्तर, भण्डारण, वितरण, सुरक्षित प्रयोग, औषधि–औषधि अन्तरक्रिया, सम्भावित प्रतिकूल असर तथा बिरामीलाई आवश्यक परामर्श दिने दक्ष स्वास्थ्यकर्मी हुन्। त्यसैले फार्मासिस्ट औषधि र बिरामीबीचको महत्वपूर्ण सुरक्षा कडी हुन्।

काउन्सिलिङ : औषधिको सुरक्षाको पहिलो सर्त

औषधि ठीक भएपछि आफैं बन्द गर्ने, मात्रा आफूखुसी बढाउने, पुरानो प्रिस्क्रिप्सन दोहोर्‍याउने वा अरूको औषधि प्रयोग गर्ने प्रवृत्ति अझै छ। विशेषगरी एन्टिबायोटिकको जथाभावी प्रयोगले थप स्वास्थ्य जोखिम निम्त्याउन सक्छ।

त्यसैले औषधि दिँदा फार्मासिस्टले बिरामीलाई के औषधि हो, किन प्रयोग गर्ने, कति खाने, कहिले खाने, कति समय खाने र के सावधानी अपनाउने भन्ने स्पष्ट जानकारी दिनुपर्छ। औषधिको सही प्रयोग सुनिश्चित गर्नु पनि उपचारकै एउटा महत्वपूर्ण हिस्सा हो।

अस्पताल मात्र होइन, कम्युनिटी फार्मेसी पनि स्वास्थ्य सेवाको हिस्सा

अस्पताल फार्मेसी औषधि राख्ने र वितरण गर्ने ठाउँ मात्र होइन। औषधिको खरिद, गुणस्तर, भण्डारण, मौज्दात, वितरण, बिरामी परामर्श तथा औषधिको तर्कसंगत प्रयोगमा यसको महत्वपूर्ण भूमिका हुन्छ। त्यसैले अस्पताल, नगर अस्पताल र प्राथमिक स्वास्थ्य संस्थासम्म आवश्यकता अनुसार व्यवस्थित फार्मेसी र फार्मासिस्टको दरबन्दी विस्तार गर्नुपर्छ।

त्यसैगरी नागरिकको घरदैलोमा सबैभन्दा सहज रूपमा पहुँच हुने कम्युनिटी अर्थात् रिटेल फार्मेसीलाई पनि स्वास्थ्य प्रणालीको अभिन्न अंगका रूपमा हेर्नुपर्छ। कम्युनिटी फार्मेसी औषधि किन्ने ठाउँ मात्र होइन; यो औषधिसम्बन्धी परामर्श, सुरक्षित प्रयोग र जनस्वास्थ्य चेतनाको महत्वपूर्ण माध्यम बन्न सक्छ।

सरकारले निजी कम्युनिटी फार्मेसीलाई प्रतिस्थापन गर्ने होइन, योग्य फार्मासिस्ट, स्पष्ट मापदण्ड, प्रभावकारी नियमन र गुणस्तरीय सेवामार्फत स्वास्थ्य प्रणालीको जिम्मेवार साझेदार बनाउने नीति लिनुपर्छ। नागरिकले नजिकैबाट सुरक्षित औषधि र सही परामर्श पाउनु राज्यको स्वास्थ्य सेवाप्रतिको दायित्वसँग पनि जोडिएको विषय हो।

स्वास्थ्य बीमा र औषधिको पहुँच

स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने हो भने बीमित नागरिकले पाउने औषधि अस्पताल तथा स्वास्थ्य संस्थामा सहज, सुरक्षित र पारदर्शी रूपमा उपलब्ध हुनुपर्छ। सरकारले आफ्ना स्वास्थ्य संस्थामा औषधिको व्यवस्थित खरिद, छुट्टै भण्डारण, मौज्दात व्यवस्थापन र वितरण प्रणाली विकास गर्नुपर्छ।

Good Pharmacy Practice तथा Good Storage and Distribution Practice जस्ता मापदण्डलाई व्यवहारमा उतार्दै अस्पतालदेखि स्थानीय तहसम्म सुरक्षित फार्मेसी सेवा विस्तार गर्न आवश्यक छ।

अब फार्मासिस्टलाई ‘औषधि दिने व्यक्ति’ मात्र नबनाऔँ

फार्मासिस्टलाई केवल औषधि वितरण गर्ने कर्मचारीका रूपमा हेर्ने सोच अब परिवर्तन हुनुपर्छ। उनी बिरामी सुरक्षा, औषधिको तर्कसंगत प्रयोग र गुणस्तरीय स्वास्थ्य सेवाका पेशागत साझेदार हुन्।

२४ घण्टा सञ्चालन हुने स्वास्थ्य संस्थामा आवश्यकताअनुसार २४ घण्टा फार्मेसी सेवा, पर्याप्त जनशक्ति, स्पष्ट दरबन्दी र कामअनुसार उचित सेवा–सुविधाको व्यवस्था हुनुपर्छ।

विश्व फार्मासिस्ट दिवस केवल शुभकामना आदान–प्रदान गर्ने दिन होइन। यो एउटा स्पष्ट सन्देश दिने दिन हो—

औषधि सुरक्षित हुन फार्मासिस्ट चाहिन्छ।
औषधिको सही प्रयोगका लागि फार्मासिस्ट चाहिन्छ।
बिरामीको सुरक्षा सुनिश्चित गर्न फार्मासिस्ट चाहिन्छ।
र, गुणस्तरीय स्वास्थ्य प्रणालीका लागि फार्मासिस्ट अनिवार्य छन्।

अब “जहाँ औषधि, त्यहाँ फार्मासिस्ट” भन्ने नारा पोस्टर र भाषणमा मात्र होइन, स्वास्थ्य नीतिको व्यवहारमा देखिनुपर्छ।

अस्पतालमा व्यवस्थित फार्मेसी, समुदायमा जिम्मेवार कम्युनिटी फार्मेसी र हरेक औषधिसँग दक्ष फार्मासिस्ट—यही सुरक्षित औषधि सेवाको आधार हो।

विश्व फार्मासिस्ट दिवस २०२६ को हार्दिक शुभकामना।

किरण ढकाल निवर्तमान अध्यक्ष नेपाल फार्मेसी संघ, केन्द्रिय कमिटी

 

सम्बन्धित शिर्षक :