स्वास्थ्यसमाचार/नेपालको फार्मेसी क्षेत्रमा गैरफार्मेसी व्यक्तिबाट औषधि पसल सञ्चालन, स्थायी जनशक्तिको अभाव, निरन्तर शिक्षा तथा अनुगमनको कमी र झन्झटिलो कानुनी व्यवस्थालगायत समस्या रहेको औँल्याइएको छ। फार्मेसी सेवालाई व्यवस्थित, गुणस्तरीय र बिरामीमुखी बनाउन सरकार तथा सम्बन्धित निकायले नीतिगत र संस्थागत सुधारमा ध्यान दिनुपर्ने सरोकारवालाले बताएका छन्।
विश्व फार्मेसी दिवस–२०२६ का अवसरमा लुम्बिनी प्रदेशमा आयोजित शुभकामना आदान–प्रदान तथा कार्यपत्र प्रस्तुतीकरण कार्यक्रममा फार्मेसी क्षेत्रका विद्यमान समस्या, अस्पताल फार्मेसीको अवस्था र आगामी योजनाबारे छलफल गरिएको हो।
नेपाल फार्मेसी संघकी केन्द्रीय उपाध्यक्ष एवं सीटीईभीटी परीक्षा उपनियन्त्रक डा. मीना भट्टले फार्मासिस्टको भूमिका औषधि वितरणमा मात्र सीमित नरहेको बताउनुभयो। उहाँका अनुसार औषधिको सुरक्षित प्रयोग, बिरामीलाई उचित परामर्श, औषधि उपचारको प्रभावकारिता र स्वास्थ्य सेवाको गुणस्तर सुधारमा फार्मासिस्टको महत्वपूर्ण भूमिका हुन्छ।
कार्यक्रममा गैरफार्मेसी व्यक्तिबाट सञ्चालित औषधि पसललाई प्रमुख समस्याका रूपमा औँल्याइएको थियो। त्यसैगरी स्थायी दरबन्दीको कमी, फार्मेसीसम्बन्धी निरन्तर शिक्षा, अनुगमन तथा मूल्याङ्कनको अभाव र फार्मेसी अभ्यासको स्तर उन्नयनका लागि सरकारी आर्थिक तथा प्राविधिक सहयोगको कमी रहेको बताइएको थियो।
अस्पताल फार्मेसीतर्फ सरकारी अस्पतालहरूले आफ्नै फार्मेसी सञ्चालन गरे पनि अधिकांश निजी अस्पतालले आफ्नै फार्मेसी सञ्चालन नगरेको कार्यक्रममा प्रस्तुत कार्यपत्रमा उल्लेख छ। उपभोक्ता तथा फार्मासिस्टहरूले भने अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्नुपर्ने धारणा राख्दै आएका छन्। अस्पतालबाटै सञ्चालित फार्मेसीमा सेवा गुणस्तर तुलनात्मक रूपमा राम्रो देखिएको पनि प्रस्तुतिमा उल्लेख गरिएको थियो।
फार्मेसी दर्तासम्बन्धी कानुनी प्रक्रियालाई समेत सहज बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ। २४ बेडसम्मका अस्पतालको दर्ता तथा सञ्चालन अनुमति स्थानीय तहबाट हुने भए पनि त्यही अस्पतालको फार्मेसी विभाग दर्ताका लागि केन्द्रमा जानुपर्ने व्यवस्था झन्झटिलो भएको सरोकारवालाको भनाइ छ।
फार्मेसी सेवाको सुधारका लागि देशव्यापी रूपमा असल फार्मेसी अभ्यास (जीपीपी) तथा असल भण्डारण अभ्यास (जीएसडीपी) सम्बन्धी तालिम सञ्चालन गर्ने योजना अघि सारिएको छ। त्यस्तै डिजिटल फार्मेसी सेवा सुरु गर्ने, औषधिको सही प्रयोग तथा गुणस्तरीय र जनसुरक्षित फार्मेसी सेवाबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ।
फार्मेसी क्षेत्रको कार्यसम्पादन तथा नीतिगत अनुसन्धानमा संलग्न हुने र सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गरी गुणस्तरीय फार्मेसी सेवा विस्तार गर्ने योजना पनि प्रस्तुत गरिएको छ।
कार्यक्रममा अनधिकृत रूपमा सञ्चालन भएका औषधि पसल बन्द गर्नुपर्ने, फार्मेसी दर्ता तथा नवीकरणको सुविधा स्थानीय तहमै उपलब्ध गराउनुपर्ने र अत्यावश्यक औषधिको अभाव अन्त्य गर्नुपर्ने माग गरिएको थियो। गुणस्तरीय औषधि खरिदका लागि सार्वजनिक खरिदसम्बन्धी कानुनी व्यवस्था परिमार्जन गर्नुपर्ने तथा एचआईभी, क्षयरोग, कुष्ठरोग र अत्यावश्यक औषधिलगायत सरकारले निःशुल्क वितरण गर्ने औषधि नेपालमै उत्पादन गर्ने व्यवस्था सुनिश्चित गर्नुपर्ने अपेक्षा पनि राखिएको थियो।
हरेक वर्ष सेप्टेम्बर २५ मा मनाइने विश्व फार्मेसी दिवसको यस वर्षको नारा ‘स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाऔँ’ रहेको छ। यसले फार्मासिस्टको ज्ञान, सीप र पेशागत क्षमता अभिवृद्धि गर्दै स्वास्थ्य प्रणालीमा उनीहरूको भूमिकालाई थप प्रभावकारी बनाउने सन्देश दिएको छ।
नेपाल फार्मेसी संघकी केन्द्रीय उपाध्यक्ष एवं सीटीईभीटी परीक्षा उपनियन्त्रक डा मीना भट्टले कार्यपत्र प्रसतुत गर्नु भएको थियो उक्त कार्यपत्रको अंश ।



प्रतिकया दिनुहोस्