असोज ९–११ मा भारी वर्षाको सम्भावना, लुम्बिनीमा सतर्क रहन आग्रह

स्वास्थ्यसमाचार/  लुम्बिनी प्रदेशमा असोज ९ देखि ११ गतेसम्म भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन प्रदेश सरकारले आग्रह गरेको छ।

मौसम विज्ञान विभागले मेघगर्जन, चट्याङ र हुरीबताससहित भारीदेखि धेरै भारी वर्षा तथा केही स्थानमा अतिभारी वर्षा हुन सक्ने प्रक्षेपण गरेपछि मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार अपिल जारी गर्दै जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेका हुन्।

भारी वर्षाका कारण बाढी, पहिरो, भूक्षय, गेग्रान बहाव तथा तराई र सहरी क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने भन्दै उनले नदी, खोला तथा नालाको पानीको सतह बढ्न सक्ने र सडक तथा यातायात प्रभावित हुन सक्ने बताएका छन्।

नदी तथा खोलाकिनार, पहिरोको जोखिम रहेका बस्ती र अन्य जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई स्थानीय प्रशासन तथा सम्बन्धित निकायको सूचना र निर्देशन पालना गर्न मुख्यमन्त्री आचार्यले आग्रह गरेका छन्।

धानबाली भित्र्याउने समय भएकाले किसानलाई पनि मौसमको अवस्था हेरेर कृषि प्राविधिकको सल्लाहअनुसार तयारी गर्न उनले अनुरोध गरेका छन्। वर्षाका बेला जोखिम मोलेर खेतबारीमा काम नगर्न र सम्भव भएसम्म अन्नबाली सुरक्षित स्थानमा राख्न उनले आग्रह गरेका छन्।

भारी वर्षाका बेला अत्यावश्यक कामबाहेक जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न, नदी तथा खोलामा नजान र बाढी तथा डुबान भएका सडकबाट आवतजावत नगर्न पनि मुख्यमन्त्री आचार्यले अनुरोध गरेका छन्। मौसमसम्बन्धी आधिकारिक सूचना नियमित लिन तथा पर्यटन, निर्माणलगायत जोखिमयुक्त गतिविधिमा संलग्न व्यक्ति तथा संस्थालाई आवश्यक सावधानी अपनाउन उनले आग्रह गरेका छन्।

सम्भावित विपद्लाई ध्यानमा राख्दै प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित सरोकारवाला निकायलाई पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन गरिएको उनले बताएका छन्।

सम्भावित विपद्बाट जनधनको क्षति न्यूनीकरण गर्न सरकारी तयारीसँगै नागरिकको सतर्कता र सहकार्य पनि आवश्यक रहेको भन्दै उनले जोखिममा रहेका व्यक्ति, परिवार तथा समुदायलाई समयमै पूर्वतयारी अपनाई सुरक्षित रहन अपिल गरेका छन्।

यसैबीच जिल्ला प्रशासन कार्यालय दाङले पनि असोज ९ देखि ११ गतेसम्म हुरीबतास र चट्याङसहित भारीदेखि अतिभारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले जारी गरेको सूचनामा भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा दाङ भएर बग्ने बबई र राप्तीलगायत नदी तथा खोलामा बाढी र कटानको जोखिम बढ्न सक्ने उल्लेख छ। नदी तथा खोलाको आसपासमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम विज्ञान विभागका अनुसार बङ्गालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रका कारण देशका विभिन्न भागसँगै दाङमा पनि भारी वर्षाको सम्भावना रहेको हो।

सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि जिल्ला विपद् व्यवस्थापन समितिले सुरक्षा निकाय, स्थानीय तह, क्षेत्रगत क्लस्टर, रेडक्रस तथा सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको प्रशासनले जनाएको छ। प्रशासनले अत्यावश्यक कामबाहेक टाढा तथा रातिको समयमा यात्रा नगर्न र जोखिमयुक्त क्षेत्रमा नजान सर्वसाधारणलाई अनुरोध गरेको छ।

सम्बन्धित शिर्षक :