घुस डिल आरोपपछि स्वास्थ्य सचिव बसौला हटाइए

स्वास्थ्यसमाचार / ‘घुस डिल’को आरोप सार्वजनिक भएपछि गण्डकी प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयका सचिव डा. युवानिधि बसौलालाई जिम्मेवारीबाट हटाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा खटाउने निर्णय गरेको छ।

पोखराको पद्म नर्सिङ होमलाई ५० शय्याबाट १०० शय्यामा स्तरोन्नति गर्ने अनुमति प्रक्रियामा तत्कालीन स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे, उनका स्वकीय सचिव यादव पौडेल र सचिव बसौलाको भूमिकामाथि प्रश्न उठेपछि प्रदेश सरकारले छानबिन अघि बढाएको हो।

मन्त्रिपरिषद्ले पछिल्ला दुई वर्षमा स्वास्थ्य मन्त्रालयबाट अस्पताल सञ्चालन अनुमति तथा स्तरोन्नतिसम्बन्धी भएका निर्णय, कानुनी प्रक्रिया र अभ्याससमेत छानबिन गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिवको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइने भएको छ।

सरकारले प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयमा समेत पत्राचार गर्ने निर्णय गरेको छ। छानबिन पूरा नभएसम्म विवादित अनुमति कार्यान्वयन नगर्ने निर्णय गरिएको छ।

यसअघि सार्वजनिक अडियो–भिडियोमा अस्पतालको क्षमता विस्तारका क्रममा २०, २५ हुँदै ३० लाख रुपैयाँसम्म रकमको कुराकानी भएको दाबी गरिएको थियो। अस्पतालको खाताबाट पौडेलको नाममा ३० लाख रुपैयाँको चेक काटिएको विवरणसमेत सार्वजनिक भएको छ।

पौडेल, तत्कालीन मन्त्री पाण्डे र सचिव बसौलाले भने आफूहरूले रकम नलिएको दाबी गरेका छन्। एमाले गण्डकी प्रदेशसभा संसदीय दलले पनि यसअघि तीन सदस्यीय छानबिन समिति गठन गरिसकेको छ।

सम्बन्धित शिर्षक :