बुटवलमा पहिलो पटक कलेजोको अवस्था जाँच्ने अत्याधुनिक मेसिन सञ्चालनमा

स्वास्थ्यसमाचार/ कलेजोको अवस्था तथा कडापनसम्बन्धी जानकारी लिन सकिने अत्याधुनिक अल्ट्रासाउन्ड इलास्टोग्राफी मेसिन तिलोत्तमामा सञ्चालनमा आएको छ।

तिलोत्तमा नगरपालिका–३ ड्राइभरटोलमा रहेको  निदान अल्ट्रा साउन्डमा करिब ९० लाख रुपियाँ मूल्य पर्ने उक्त मेसिन सञ्चालनमा ल्याइएको हो। यो प्रविधि बुटवल क्षेत्रमा पहिलोपटक प्रयोगमा ल्याइएको वरिष्ठ रेडियोलोजिस्ट डा. राजेन्द्र खनालले बताउनुभयो।

डा. खनालका अनुसार उक्त मेसिनबाट कलेजोको अवस्था, कलेजोमा बोसोको मात्रा तथा कलेजोको कडापन मापन गर्न सकिन्छ। कलेजोमा विभिन्न कारणले हुने क्षतिको अवस्था पहिचान गर्न इलास्टोग्राफी प्रविधि उपयोगी हुने उहाँले बताउनुभयो।

सामान्य अल्ट्रासाउन्डबाट कलेजोको संरचनाबारे जानकारी लिन सकिए पनि इलास्टोग्राफी प्रविधिले कलेजोको कडापनसम्बन्धी थप जानकारी प्राप्त गर्न सहयोग गर्छ।

कलेजोमा लामो समयसम्म समस्या रहँदा हुने फाइब्रोसिस तथा सिरोसिसको जोखिम मूल्याङ्कनमा समेत यस्तो परीक्षण उपयोगी हुने चिकित्सकहरू बताउँछन्।

नेपालमा यस्तो अत्याधुनिक मेसिन सीमित स्वास्थ्य संस्थामा मात्र रहेको बताइएको छ। डा. खनालका अनुसार नेपालमा वीर अस्पतालमा यस्तो प्रविधि रहेको भए पनि सञ्चालनमा नआएको वताउनु भयो।

बुटवल क्षेत्रमा भने पहिलोपटक निजी क्षेत्रबाट यो सेवा उपलब्ध गराइएको उहाँले बताउनुभयो।

कलेजोमा समस्या भएका बिरामीको अवस्था मूल्याङ्कन गर्न पटक–पटक अस्पताल धाउनुपर्ने अवस्थालाई कम गर्न तथा आवश्यक परीक्षण स्थानीयस्तरमै उपलब्ध गराउने उद्देश्यले मेसिन सञ्चालनमा ल्याइएको डा. खनालले बताउनुभयो।

उहाँका अनुसार कलेजोमा बोसो जम्ने समस्या, मदिरा सेवन, भाइरल हेपाटाइटिस तथा अन्य कारणले कलेजोमा क्षति पुगेका बिरामीको अवस्था मूल्याङ्कनमा यस्तो प्रविधि प्रयोग गर्न सकिन्छ। चिकित्सकको सल्लाहअनुसार आवश्यक बिरामीमा परीक्षण गरी उपचारको अवस्थाबारे थप जानकारी लिन सकिने उहाँले बताउनुभयो।

कलेजोसम्बन्धी समस्या प्रारम्भिक अवस्थामा धेरैजसोमा स्पष्ट लक्षण नदेखिन सक्ने भएकाले जोखिम भएका व्यक्तिमा आवश्यक परीक्षण र चिकित्सकीय परामर्श महत्वपूर्ण हुने चिकित्सकको भनाइ छ।

विशेषगरी मधुमेह, मोटोपना, अत्यधिक मदिरा सेवन तथा हेपाटाइटिसको जोखिम भएका व्यक्तिमा चिकित्सकको सल्लाहअनुसार कलेजोको परीक्षण आवश्यक पर्न सक्छ।

निदान फार्मेसीमा अत्याधुनिक उपकरण सञ्चालनमा आएसँगै रुपन्देही र आसपासका जिल्लाका बिरामीले कलेजोको अवस्था मूल्याङ्कनसम्बन्धी सेवा स्थानीयस्तरमै लिन सक्ने भएका छन्।

डा. खनालले आधुनिक स्वास्थ्य सेवामा प्रविधिको प्रयोग बढ्दै गएकाले आवश्यक परीक्षणलाई सहज र गुणस्तरीय बनाउन यस्ता उपकरणको उपयोग महत्वपूर्ण हुने बताउनुभयो।

उपकरणको उपलब्धता सँगै परीक्षणको सही व्याख्या र चिकित्सकीय परामर्शलाई पनि उत्तिकै प्राथमिकता दिन आवश्यक रहेको खनालले बताउनु भयो ।

 

सम्बन्धित शिर्षक :