स्वास्थ्यसमाचार/ रुपन्देहीमा स्वास्थ्य सेवाको पहुँच र उपयोग विस्तार हुँदै गए पनि जनशक्ति, औषधि, उपकरण र पूर्वाधार व्यवस्थापनमा समस्या कायमै रहेको स्वास्थ्य कार्यालयको वार्षिक समीक्षाले देखाएको छ। जिल्लाका ६ वडामा अझै सरकारी स्वास्थ्य संस्था छैनन् भने कतिपय स्थानीय तहमा निर्माण भएका आधारभूत अस्पताल सञ्चालनमा आउन सकेका छैनन्।
स्वास्थ्य कार्यालय रुपन्देहीले आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रममा कतिपय स्वास्थ्य संस्थामा भौतिक पूर्वाधार, क्लिनिकल सेवा, सेवा प्रवाह तथा उपचारसम्बन्धी प्रोटोकलको पालना पर्याप्त नभएको जनाएको छ। औषधि तथा उपकरणको नियमित माग, आपूर्ति, भण्डारण र प्रयोगको अनुगमन गर्नुपर्ने सुझाव दिइएको छ।
जिल्लाका अस्पतालमा दैनिक सेवा लिने बिरामीको संख्या पछिल्ला वर्षमा बढेर स्थिर देखिएको छ। २०८०/८१ मा दैनिक औसत ३४३ जनाले अस्पतालबाट सेवा लिएकामा २०८१/८२ र २०८२/८३ मा ३८१ जनाले सेवा लिएका छन्। प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक सेवा लिने संख्या ३९ र स्वास्थ्य चौकीमा २० जनामा झरेको छ।
जिल्लामा ६० आधारभूत स्वास्थ्य सेवा केन्द्र, पाँच सामुदायिक स्वास्थ्य एकाइ र १५ सहरी स्वास्थ्य केन्द्र छन्। तर बुटवलको एक, सिद्धार्थनगरका चार र रोहिणीको एक गरी ६ वडामा सरकारी स्वास्थ्य संस्था छैनन्। भवन तयार भएका आधारभूत अस्पतालमा कर्मचारी व्यवस्थापन गरी सेवा सञ्चालन गर्नुपर्ने कार्यालयले जनाएको छ।

बजेट खर्च ७५ प्रतिशत
कार्यालयले २०८२/८३ मा सशर्त र निःशर्त गरी ९ करोड ४७ लाख ३२ हजार ९ सय ४६ रुपैयाँ बजेट पाएको थियो। त्यसमध्ये ७ करोड ११ लाख २३ हजार १ सय ४९ रुपैयाँ खर्च भएको छ। सशर्ततर्फ ८४ र निःशर्ततर्फ ६८ प्रतिशत खर्च भएको छ। असुलउपर गर्नुपर्ने बेरुजु शून्य भए पनि नियमित गर्नुपर्ने रकम ३४ लाख ३१ हजार १ सय ६ रुपैयाँ छ।
नसर्ने रोगको जोखिम उच्च
नसर्ने रोग पहिचानका लागि १ लाख १९ हजार ९ सय २३ जनाको स्क्रिनिङ गरिएको छ। लक्ष्यको तुलनामा उपलब्धि १०६.०६ प्रतिशत हो। १ लाख १८ हजार २ सय ६९ जनाको रक्तचाप, १ लाख २ हजार ३ सय ३४ जनाको मधुमेह र ७१ हजार ३ सय ७३ जनाको पिसाबमा प्रोटिन परीक्षण गरिएको छ। रक्तचाप परीक्षणमा ४९ प्रतिशतमा प्रि–हाइपरटेन्सन, १६ प्रतिशतमा पहिलो चरण र ६ प्रतिशतमा दोस्रो चरणको उच्च रक्तचाप देखिएको छ।
मातृ–नवजात स्वास्थ्यमा चुनौती
२०८२/८३ मा जिल्लामा २४ जना मातृ मृत्यु र १६८ नवजात मृत्यु भएको तथ्यांक छ। ताजा मृत जन्म ६१ र म्यासेरेटेड मृत जन्म २८२ गरी कुल मृत जन्म ३४३ पुगेको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा सुत्केरीको चाप बढी रहेकाले भीम अस्पताल तथा छिमेकी जिल्लाका प्रादेशिक अस्पतालमा मातृ तथा नवजात सेवा सुदृढ गर्नुपर्ने सुझाव दिइएको छ।
महिलाको आङ खस्ने समस्या पहिचान गर्न १० हजार ४ सय ४७ जनाको स्क्रिनिङ गरिएकोमा पहिलो तथा दोस्रो चरणका ३९९, तेस्रो चरणका ३३१ र चौथो चरणका ५६ जना भेटिएका छन्। ६१५ जनालाई रिङ पेसरी लगाइएको, ६० जनालाई रेफर गरिएको र २३ जनाको शल्यक्रिया गरिएको छ।
खोपमा ड्रपआउट घट्यो
नियमित खोप कार्यक्रममा सुधार देखिएको छ। २०८२/८३ मा डीपीटी–हेप बी–हिबको पहिलो मात्रा १६ हजार ३ सय ७५ र तेस्रो मात्रा १६ हजार ४ सय ५१ बालबालिकाले लिएका छन्। एमआर पहिलो मात्रा १६ हजार ५ सय ३४ र दोस्रो मात्रा १६ हजार ८ सय ६२ जनाले लिएका छन्। तर वास्तविक लक्षित जनसंख्या निर्धारण, खोप केन्द्रको पूर्वाधार, कर्मचारीको तालिम र बजेट निकासामा समस्या रहेको कार्यालयले औंल्याएको छ।
पाँच वर्षमुनिका बालबालिकामा तीव्र श्वासप्रश्वास संक्रमण ४६५ बाट घटेर ४४६ मा आएको छ। निमोनियाको दर ८ बाट ६ प्रतिशतमा झरेको छ। निमोनियाका बिरामीमध्ये एमोक्सिसिलिनबाट उपचार पाउने दर १०० प्रतिशत छ भने एआरआईका कारण बाल मृत्यु तीनै वर्ष शून्य रहेको छ।
पोषण र परिवार नियोजनमा मिश्रित अवस्था
गर्भवतीले आइरन चक्की पाउने दर ९० र क्याल्सियम पाउने दर ७४ प्रतिशतमा झरेको छ। भिटामिन ‘ए’ र जुकाको औषधि वितरण भने १०० प्रतिशत पुगेको छ। पूर्ण स्तनपान गराउने दर ७३ बाट घटेर ६२ प्रतिशतमा आएको छ। आधुनिक परिवार नियोजन साधन प्रयोग गर्ने प्रजनन उमेरका महिलाको अनुपात भने १८ बाट २२ प्रतिशत पुगेको छ।
एचआईभीका नयाँ संक्रमित घटे
एचआईभीका नयाँ संक्रमित २०८०/८१ मा १५६ रहेकामा २०८२/८३ मा १३२ मा झरेका छन्। तर एआरटीमा रहेका संक्रमितको संख्या १ हजार ८ सय ४२ बाट बढेर २ हजार ६२ पुगेको छ। गर्भवती महिलाको एचआईभी परीक्षण तीनै वर्ष शतप्रतिशत भएको छ।
कुष्ठरोगका नयाँ बिरामी र क्षयरोग नियन्त्रणमा पनि चुनौती देखिएको समीक्षाले जनाएको छ। जिल्लामा १५२ डट्स केन्द्र छन्। बुटवलका १३ वडामा घरदैलो स्क्रिनिङ तथा सात स्थानमा एआई प्रविधिको एक्सरेमार्फत १ हजार ४ सय ७१ जनाको सम्भावित क्षयरोग स्क्रिनिङ गरिएको छ।
बीमा र विशेष उपचारमा पहुँच
स्वास्थ्य बीमामा ८० हजार १ सय ९७ परिवार आबद्ध छन्। बीमा सेवाबाट ३ लाख ३९ हजार ८ सय ४१ जनाले सेवा लिएका छन्। प्रदेशको विशेष स्वास्थ्य उपचार सुविधाअन्तर्गत क्यान्सर, मिर्गौला प्रत्यारोपण तथा मुटुको भल्भ उपचारका लागि १३६ जना बिरामी सिफारिस भएका छन्।
प्रदेश विशेष कार्यक्रमअन्तर्गत ८० वर्षमाथिका ८ हजार १९ ज्येष्ठ नागरिकले सेवा पाएका छन्। स्वास्थ्य प्रवद्र्धन तथा स्वास्थ्य शिक्षा कार्यक्रमअन्तर्गत विद्यालय, समुदाय र अन्य क्षेत्रमा ४ हजार ४ सय ७८ सेसन सञ्चालन हुँदा १ लाख ४२ हजार ५ सय ५२ जना सहभागी भएका छन्।
स्थानीय तहसँगको सहकार्यमा घरमै स्वास्थ्य सेवा, ग्रामीण अल्ट्रासाउण्ड, निःशुल्क रगत तथा मुटु रोग शिविरजस्ता कार्यक्रमसमेत सञ्चालन भएका छन्। घरमै १ हजार ६२ जनालाई स्वास्थ्य सेवा दिइएको र ग्रामीण अल्ट्रासाउण्डबाट ६९४ गर्भवतीले सेवा लिएका छन्।
स्वास्थ्य संस्थाबाट हुने अनलाइन तथ्यांक रिपोर्टिङमा भने स्थानीय तहबीच असमानता देखिएको छ। बुटवलका ५४ स्वास्थ्य संस्थामध्ये ४२ वटा मात्रै स्वयं रिपोर्टिङमा छन्। अन्य केही पालिकामा भने सबै स्वास्थ्य संस्था स्वयं रिपोर्टिङमा रहेका छन्। स्वास्थ्य संस्था दर्ता, नवीकरण तथा स्तरोन्नतिसम्बन्धी मापदण्डअनुसार अनुगमनपछि ५० स्वास्थ्य संस्थालाई अनुमति तथा नवीकरण प्रमाणपत्र समेत प्रदान गरिएको छ।
समीक्षा कार्यक्रममा स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुन, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई, प्रदेश आपूर्ति केन्द्रका निर्देशक डा. राजेन्द्र गिरी, स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक नेत्र अर्याललगायतले बोल्दै स्वास्थ्य क्षेत्रमा देखिएका समस्या र सुधारका प्रयासबारे धारणा राखेका थिए।
स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख जनस्वास्थ्य प्रशासक उमादेवी थापाको अध्यक्षतामा भएको समीक्षा कार्यक्रमको उद्घाटन सत्रमा जिल्लाको वस्तुगत अवस्थाबारे कार्यालयका तथ्यांक अधिकृत टुक प्रसाद पोखरेलले प्रस्तुति , क्षयरोग तथा कुष्ठरोग वरिष्ठ अधिकृत टीकाराम अधिकारीको स्वागत तथा सञ्चालन ल्याब टेक्निसियन अधिकृत खिमलाल पाण्डेले गरेका थिए।
दुई दिनसम्म चल्ने समीक्षा कार्यक्रममा पालिकागत रूपमा स्वास्थ्य सेवाको अवस्था र प्रगतिको समीक्षा गरी प्रतिवेदन प्रस्तुत गरिने पाण्डेले बताए।



प्रतिकया दिनुहोस्