नेपालमा एक वर्षमा ७ हजार १३२ जनाले गरे आत्महत्या, दैनिक २० जनाको ज्यान जाने

स्वास्थ्यसमाचार/ नेपालमा आर्थिक वर्ष २०८२/८३ मा ७ हजार १३२ जनाले आत्महत्याका कारण ज्यान गुमाएका छन्। नेपाल प्रहरीको तथ्याङ्क उद्धृत गर्दै स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्व आत्महत्या रोकथाम दिवसको सन्दर्भमा जारी गरेको प्रेस विज्ञप्तिमा यस्तो जानकारी दिइएको हो।

उक्त तथ्याङ्कअनुसार नेपालमा दैनिक औसत करिब २० जनाले आत्महत्याका कारण ज्यान गुमाउने गरेका छन्। स्वास्थ्य सेवा विभागले आत्महत्यालाई नेपालमा गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा उल्लेख गर्दै रोकथामका प्रयासलाई थप प्रभावकारी, लक्षित र समन्वित बनाउन आवश्यक रहेको जनाएको छ।

हरेक वर्ष सेप्टेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ। यस वर्ष ‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ : दृष्टिकोण बदलौँ’ भन्ने नाराका साथ दिवस मनाइँदैछ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर प्रत्येक वर्ष करिब ७ लाख मानिसले आत्महत्याका कारण ज्यान गुमाउने गरेका छन्। आत्महत्याले मृतकका परिवार, साथीभाइ र समुदायमा समेत गहिरो भावनात्मक, सामाजिक तथा मनोसामाजिक असर पार्ने विभागले जनाएको छ।

आत्महत्याको कारण एउटै हुँदैन

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.अनुज भट्टचनका अनुसार आत्महत्याको जोखिममा व्यक्तिगत, पारिवारिक, सामाजिक, आर्थिक तथा वातावरणीय पक्षले प्रभाव पार्न सक्छन्। मानसिक स्वास्थ्य समस्या, विशेषगरी डिप्रेसन तथा अत्यधिक चिन्ता आत्महत्यासँग महत्वपूर्ण रूपमा सम्बन्धित छन्।

यसअघि आत्महत्याको प्रयास गरेका व्यक्तिमा पुनः आत्महत्याको प्रयास वा मृत्युको जोखिम तुलनात्मक रूपमा बढी हुने भएकाले उनीहरूको समयमै पहिचान, उपचार, निरन्तर सहयोग र अनुगमन आवश्यक हुने महाशाखाले जनाएको छ।

हिंसा, दुर्व्यवहार, आघातजन्य घटना, सामाजिक एक्लोपना, लाञ्छना तथा भेदभावले पनि मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्ने विज्ञप्तिमा उल्लेख छ।

आत्महत्या रोकथाम सम्भव

आत्महत्या रोकथाम सम्भव रहेको भन्दै विभागले व्यक्ति, परिवार, समुदाय र राज्यका विभिन्न तह तथा क्षेत्रबीच सहकार्य आवश्यक रहेको जनाएको छ।

मानसिक स्वास्थ्य समस्याको समयमै पहिचान र उपचार, आत्महत्याको जोखिमको मूल्याङ्कन तथा व्यवस्थापन, संकटमा रहेका व्यक्तिलाई सहयोग, सुरक्षित सामाजिक वातावरण निर्माण र आत्महत्यासँग जोडिएका गलत धारणा तथा लाञ्छना न्यूनीकरणलाई रोकथामका महत्वपूर्ण उपायका रूपमा विभागले औँल्याएको छ।

नेपालमा आत्महत्याको जोखिममा रहेका तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका व्यक्तिका लागि राष्ट्रिय आत्महत्या रोकथाम हेल्पलाइन ११६६ सञ्चालनमा रहेको छ।

यसैगरी आधारभूत स्वास्थ्य सेवाबाट मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने तथा प्रदेश र संघीय तहका अस्पतालमा मानसिक स्वास्थ्य सेवा विस्तार गर्ने काम भइरहेको विभागले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्यमा ध्यान दिन आग्रह

यस वर्ष रसुवा र नुवाकोटमा आएको विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित नागरिकमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्याको जोखिम बढ्न सक्ने भन्दै विभागले सम्बन्धित निकायलाई थप सजग र संवेदनशील बन्न आग्रह गरेको छ।

विपद्पछि प्रभावित व्यक्ति तथा परिवारको मानसिक स्वास्थ्य संरक्षण र प्रवर्द्धनका लागि मनोसामाजिक परामर्श, मानसिक स्वास्थ्य सेवा तथा आवश्यक सहयोगलाई प्राथमिकता दिन विभागले आग्रह गरेको छ।

आत्महत्या रोकथाम स्वास्थ्य क्षेत्रको मात्र जिम्मेवारी नभएको विभागले जनाएको छ। शिक्षा, सामाजिक सेवा, सञ्चार, सुरक्षा, स्थानीय सरकार, नागरिक समाज, समुदाय र परिवारलगायत सबै क्षेत्रको सहकार्य आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ।

समस्यामा रहेका व्यक्तिको कुरा सुन्ने, सहानुभूतिपूर्वक व्यवहार गर्ने र आवश्यक सहयोग तथा सेवासँग जोड्ने वातावरण बनाउन विभागले आग्रह गरेको छ।

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा मानसिक स्वास्थ्यसँग जोडिएको लाञ्छना तथा भेदभाव न्यूनीकरण गर्न र आत्महत्याको जोखिममा रहेका व्यक्तिलाई समयमै सहयोग तथा आवश्यक सेवामा पहुँच पुर्‍याउन विभागले सबै सरकारी तथा गैरसरकारी निकाय, स्वास्थ्यकर्मी, सञ्चारमाध्यम, नागरिक समाज, समुदाय, परिवार तथा आम नागरिकलाई आह्वान गरेको छ।

सम्बन्धित शिर्षक :