स्वास्थ्यसमाचार/ प्यूठान जिल्लामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न भएको छ। समीक्षामा प्रस्तुत प्रगति प्रतिवेदनका आधारमा ऐरावती गाउँपालिका प्रथम, सरुमारानी गाउँपालिका दोस्रो र माण्डवी गाउँपालिका तेस्रो भएका छन्।
समीक्षा समापन कार्यक्रममा उत्कृष्ट पालिकाका स्वास्थ्य शाखा प्रमुखहरूलाई सम्मान गरिएको छ। ऐरावतीका स्वास्थ्य शाखा प्रमुख बालगोपाल श्रेष्ठ, सरुमारानीका टेकेन्द्र रायमाझी र माण्डवीका ध्रुवकुमार पोख्रेललाई सम्मानपत्रसहित सम्मान गरिएको हो।
दुई दिनसम्म चलेको समीक्षामा जिल्लाका नौवटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, राष्ट्रिय स्वास्थ्य बीमा बोर्ड प्यूठान तथा स्वास्थ्य क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका कार्यक्रम तथा गतिविधिको प्रगति प्रस्तुत गरेका थिए। कार्यक्रममा स्वास्थ्य सेवाको अवस्था, उपलब्धि, चुनौती र आगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरमबहादुर जिसीले स्थानीय तहमा निर्माण भएका अस्पताल भवनबाट प्रभावकारी स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक जनशक्ति, उपकरण र स्रोतसाधनको व्यवस्थापन गर्न संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताउनुभयो।
प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईँले स्वास्थ्य तथ्यांकमा देखिएका बिरामीलाई उपचारको पहुँचमा ल्याउनुपर्नेमा जोड दिनुभयो। तथ्यांकमा बिरामी देखिए पनि उनीहरू उपचारको पहुँचमा किन आउन सकेनन् भन्ने कारण पहिचान गरी समाधान गर्नुपर्ने उहाँको भनाइ थियो।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशासक नेत्र अर्यालले प्यूठानमा मातृ तथा शिशु मृत्युदर, मानसिक स्वास्थ्य र बालविवाहका कारण कम उमेरमै आमा बन्नुपर्ने अवस्था प्रमुख स्वास्थ्य चुनौतीका रूपमा रहेको बताउनुभयो। दीर्घरोग पहिचान अभियानलाई प्रभावकारी बनाउँदै पहिचान भएका बिरामीलाई नियमित उपचार र फलोअपको दायरामा ल्याउनुपर्ने उहाँले सुझाव दिनुभयो।
स्वास्थ्य संस्थामा औषधि अभाव हुन नदिन स्थानीय तहले खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष श्रीराम भण्डारीले जिल्ला अस्पतालप्रति नागरिकको विश्वास बढाउने गरी सेवा प्रवाहमा सुधार गर्नुपर्ने बताउनुभयो।
स्वास्थ्य कार्यलय प्युठानका प्रमुख नरेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै श्रेष्ठले भन्नु भयो स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख नरेशबाबु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले जिल्लामा सञ्चालित स्वास्थ्य कार्यक्रमको प्रभावकारिता बढाउन उपलब्धि, चुनौती र कमजोरीको समीक्षा गर्दै आगामी कार्यक्रमलाई थप परिणाममुखी बनाउनुपर्ने बताउनुभयो।
मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य र पोषण कार्यक्रम (EpiC)को सहयोग तथा स्वास्थ्य कार्यालय प्यूठानको आयोजनामा समीक्षा कार्यक्रम गरिएको श्रेष्ठले बताउनुभयो।


प्रतिकया दिनुहोस्