तिलोत्तमाको सुलभ फार्मेसीमा औषधि अभाव, ३० थोक व्यवसायी लाई विभागको पत्र

स्वास्थ्यसमाचार/तिलोत्तमा नगरपालिकाले नागरिकलाई बजार मूल्यभन्दा सहुलियतमा औषधि उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याएको सुलभ फार्मेसीमा आवश्यक औषधिको स्टक अभाव देखिएको छ।

थोक औषधि व्यवसायी तथा वितरकबाट नियमित औषधि आपूर्ति नभएपछि सीमित कम्पनीका औषधिमा निर्भर हुनुपरेको फार्मेसी सञ्चालकले बताएका छन्।

औषधि आपूर्ति रोकिएको गुनासोपछि औषधि व्यवस्था विभागकी निमित्त महानिर्देशक शिवानी खड्गीको हस्ताक्षरमा बुटवलका ३० थोक औषधि व्यवसायी तथा वितरकलाई पत्र पठाइएको छ।

विभागले औषधिको बिक्री तथा आपूर्ति रोक्नुपर्ने कुनै कारण भए त्यसको स्पष्ट आधारसहित जानकारी गराउन र सुलभ फार्मेसीमा औषधि आपूर्ति नियमित गर्न व्यवसायीलाई भनेको छ।

विभागको पत्रमा औषधि आपूर्ति अवरुद्ध हुनुको कारण र आपूर्ति रोक्नुपर्ने आधारबारे स्पष्ट जानकारी मागिएको छ। पत्रको बोधार्थ तिलोत्तमा नगरपालिका, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत दिइएको छ।

तिलोत्तमा–५, मणिग्राममा बुट्स मेडिको प्रालिले सञ्चालन गरिरहेको फार्मेसीमा औषधिको अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) मा २५.१० प्रतिशतसम्म छुट दिने व्यवस्था छ। नगरपालिकाले फार्मेसी सञ्चालनका लागि सटरको भाडा मात्रै व्यहोर्ने र व्यवस्थापनको जिम्मेवारी बुट्स मेडिको प्रालिलाई पाँच वर्षका लागि दिएको हो।

बुट्स मेडिको प्रालिका सञ्चालक बसन्त जिसीका अनुसार सामान्य अवस्थामा फार्मेसीमा दुई सयदेखि दुई सय ५० कम्पनीका ब्रान्ड तथा जेनेरिक औषधि उपलब्ध हुने गरेका थिए। अहिले भने २०–२५ कम्पनीका औषधिमा मात्रै निर्भर हुनुपरेको उनले बताए।

‘पत्रमा उल्लेख भएका कम्पनीले औषधि सप्लाई नगरेका कारण सबै कम्पनीका औषधि उपलब्ध छैनन्। इन्सुलिनलगायत केही आवश्यक औषधिसमेत अभाव छ,’ जिसीले भने, ‘आपूर्ति किन रोकियो भनेर बुझ्दा २५ प्रतिशत छुटमा औषधि बिक्री गरेको कारण आपूर्ति रोकिएको भन्ने कुरा आएको छ।’

उनका अनुसार नियमित प्रयोग हुने आवश्यक औषधि (essential medicines) मध्ये इन्सुलिन लगायतका औषधि फार्मेसीमा उपलब्ध छैनन्। यसले नियमित औषधि सेवन गर्ने बिरामीलाई समेत समस्या हुन सक्ने सञ्चालकको भनाइ छ।

तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्य अधिकृत रामप्रसाद नागरिकलाई सहुलियतमा औषधि उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले सटरको भाडा मात्रै व्यहोरेको उनको भनाइ छ।‘जनतालाई सहज होस् भनेर सटरको भाडा मात्रै तिर्ने गरी बुट्स मेडिको प्रालिलाई फार्मेसी सञ्चालन गर्न दिएका हौं,’ ढकालले भने।

यता नेपाल औषधि व्यवसायी संघ रुपन्देहीका निवर्तमान अध्यक्ष शूरज भट्टराईले भने बुटवलका औषधि व्यवसायीले बुट्स मेडिको प्रालिलाई औषधि आपूर्ति नरोकेको दाबी गरे। आफूहरूले बिलिङ गरेको एक साताभित्रको बिल आवश्यक परे उपलब्ध गराउन तयार रहेको उनले बताए।

‘सञ्चालक र व्यवसायीबीच एउटा सम्झौता भएको हो। त्यसअनुसार सम्झौताको पालना भयो कि भएन, उहाँले बुझ्नुपर्छ,’ भट्टराईले भने। उनले सुलभ फार्मेसीको दर्ता तथा सञ्चालनसम्बन्धी वैधानिकताको विषयसमेत उठाएका छन्।

नगरपालिकाले फार्मेसी सञ्चालनमा ल्याउँदा नागरिकलाई औषधिको एमआरपीमा २५.१० प्रतिशतसम्म छुट उपलब्ध गराउने घोषणा गरेको थियो। नगरप्रमुख रामकृष्ण खाणले सुलभ फार्मेसी नागरिकलाई सहुलियतमा औषधि उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको बताए।

‘फार्मेसीले सस्तो र गुणस्तरीय औषधि सहज रूपमा उपलब्ध गराउनुपर्छ। नागरिकलाई सहुलियतमा औषधि उपलब्ध गराउनु नगरपालिकाको प्राथमिकता हो,’ खाणले भने। गत बैसाख १६ गते वाट फार्मेसी संञ्चालनमा आएको थियो ।

बिभागको पत्र

 

सम्बन्धित शिर्षक :