कपुरकोटमा सञ्जीवनी हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर: १ हजारभन्दा बढी लाभान्वित

स्वास्थ्यसमाचार/  दाङको घोराहीस्थित ३सय शैयाको सञ्जीवनी शिक्षण अस्पतालको प्राविधिक सहयोग तथा कपुरकोट गाउँपालिका, सल्यानको संयुक्त आयोजनामा  कपुरकोट–३, घनवाङस्थित कपुरकोट आधारभूत अस्पतालमा एकदिने एकीकृत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

‘सबैको ख्याल राखौँ’ भन्ने मूल नाराका साथ आयोजित उक्त शिविरबाट कपुरकोट गाउँपालिका तथा आसपासका क्षेत्रका एक हजारभन्दा बढी बिरामीले विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

विशेषज्ञ सेवा र स्वास्थ्य परीक्षण

शिविरमा जनरल फिजिसियन, हाडजोर्नी तथा नशा रोग, स्त्री तथा प्रसूति, जनरल सर्जरी, शिशु तथा बालरोग एवं नाक–कान–घाँटीका विशेषज्ञ चिकित्सकहरूबाट स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो। अस्पतालका निमित्त मेडिकल डाइरेक्टर तथा कन्सल्टेन्ट फिजिसियन डा. बाचसपति सुवेदीका अनुसार शिविरमा ल्याब परीक्षण, भिडियो एक्स–रे र निःशुल्क औषधि वितरण गरिएको थियो।

स्थानीय नेतृत्वको प्रशंसा

शिविरको उद्घाटन गर्दै कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले ग्रामीण भेगका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा ल्याउन शिविरले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो। उहाँले सञ्जीवनी शिक्षण अस्पतालको प्राविधिक सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले नागरिकको जीवनस्तरमा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो।

अस्पतालको प्रतिबद्धता

अस्पतालका प्रमुख कार्यकारी अधिकृत दिपक रोकाले स्वास्थ्य सेवाबाट वञ्चित विपन्न समुदायलाई लक्षित गरी शिविर आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले थप उपचारको आवश्यकता परेका बिरामीहरूलाई अस्पतालमा औषधिबाहेक अन्य सेवामा २० प्रतिशतसम्म छुट उपलब्ध गराउने घोषणा पनि गर्नुभयो।

यसअघि, अस्पताल व्यवस्थापक सह–प्राध्यापक मदन प्रसाद पन्थीले सञ्जीवनी शिक्षण अस्पतालले हाल आईसीयू, सीसीयू, एमआईसीयू, एनआईसीयू, पीआईसीयू, एसआईसीयू र एचडीयूसहित अत्याधुनिक प्रयोगशाला र रेडियोलोजी सेवाहरू प्रदान गरिरहेको जानकारी दिनुभयो। अस्पतालले निकट भविष्यमै न्युरो, युरो र कार्डियाक सेवा विस्तार गर्ने योजना अघि सारेको छ।

कार्यक्रमको संयोजन र सहजीकरण

शिविरको संयोजन अस्पतालका प्रशासकीय अधिकृत सुशिल रिजाल तथा कपुरकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुवास हमालले गर्नुभएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारी, वडा अध्यक्षहरू, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र सुरक्षाकर्मीहरूको सक्रिय सहभागिता थियो।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :