लुम्बिनीको ८३-०८४ नीति तथा कार्यक्रम : १४ बुँदामा समेटिएका स्वास्थ्य क्षेत्रका मुख्य योजना

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सुरक्षित मातृत्व, मानसिक स्वास्थ्य, अस्पताल स्तरोन्नति, टेलिमेडिसिन, दीर्घरोग व्यवस्थापन, आयुर्वेद सेवा विस्तार र डिजिटल स्वास्थ्य प्रणाली विकासलाई मुख्य एजेन्डा बनाएको छ।

प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नागरिकको पहुँचयोग्य, गुणस्तरीय र समावेशी स्वास्थ्य सेवामा जोड दिइएको छ।

यस्ता छन स्वास्थ्यका कार्यक्रमहरु

१. सुरक्षित मातृत्व अभियानलाई निरन्तरता दिइनेछ। दुर्गम स्थानका गर्भवती तथा सुत्केरी आमाहरूको जटिलताको व्यवस्थापनका लागि निःशुल्क एम्बुलेन्स तथा हवाई उद्धार सेवा प्रदान गरिनेछ। स्थानीय तहमा हुने सेवाग्राहीको चाप, भौगोलिक अवस्था र दक्ष स्वास्थ्यकर्मीको उपलब्धताको आधारमा सुरक्षित प्रसूति सेवालाई रणनीतिक स्थानमा सञ्चालन गर्न नीतिगत व्यवस्था गरिनेछ एवम् ग्रामीण अल्ट्रासाउण्ड सेवा विस्तार कार्यक्रमलाई निरन्तरता दिइनेछ। राष्ट्रिय जनसंख्या नीति कार्यान्वयनका लागि आवश्यक व्यवस्था गरिनेछ।

२ “नेपाल आरोग्य वर्ष २०२७” अभियानका लागि नागरिकको शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक स्वास्थ्य प्रवर्द्धन गर्न ध्यान, योग, खुल्ला व्यायामशाला तथा स्वास्थ्यका लागि खेलकुद कार्यक्रमलाई निरन्तरता दिईनेछ। “मानसिक स्वास्थ्यमा सुधारः स्वस्थ नागरिक लुम्बिनीको आधार” अभियानका लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना कार्यान्वयन गरिनेछ। विद्यालय नर्स तथा रोभिङ नर्स कार्यक्रमलाई निरन्तरता दिई क्रमशः विस्तार गरिनेछ। क्रमिक रुपमा बढ्दै गएको नसर्ने तथा दीर्घ रोगको रोकथाम र व्यवस्थापनका लागि समुदायमा जाँचपड्ताल (Screening) कार्यक्रमलाई निरन्तरता दिइनेछ।

३ राप्ती प्रादेशिक अस्पताललाई दुई सय शैय्याको अस्पतालमा स्तरोन्नति गरी सेवा विस्तार गरिनेछ। पूर्वाधार तथा मापदण्ड पूरा गरेका अन्य अस्पतालहरूलाई आवश्यकताका आधारमा क्रमशः स्तरोन्नति गर्दै लगिनेछ।

४ . अन्धोपन समस्याको न्यूनीकरण तथा आँखा उपचार सेवा विस्तारलाई निरन्तरता दिनुका साथै अस्पतालहरूमा डाईलाइसिस सेवा, बाँझोपन व्यवस्थापन सेवा, जन्मजात विकलाङ्ग परीक्षण सेवा, नवजात शिशु सघन उपचार इकाइ, जलन उपचार कक्ष, स्तनपान व्यवस्थापन इकाइ, आमाको दुग्ध संकलन बैंक, निःशुल्क रक्तसञ्चार सेवा, जेष्ठ नागरिक उपचार सेवा तथा प्रशामक सेवा विस्तार गर्दै लगिनेछ।

५ लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पतालमा जलन उपचार सेवा विस्तार गरिनेछ। दुर्गम स्थानमा विशेषज्ञ एवम् शल्यक्रिया सेवा सहितको स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै लुम्बिनी प्रादेशिक अस्पतालबाट पूर्णकालीन टेलिमेडिशिन सेवा प्रदान गर्ने व्यवस्था मिलाइनेछ।

६. मुटुको भल्भ प्रत्यारोपण, मृगौला प्रत्यारोपण र क्यान्सर रोगको उपचारमा प्रदान गरिँदै आएको सहुलियत कार्यक्रमलाई निरन्तरता दिइनेछ।

७ “मोबाइल एपको प्रभावकारी प्रयोग, स्वास्थ्य सेवाको उच्चतम उपयोग” भन्ने नाराका साथ लुम्बिनी प्रदेशको प्रमुख स्वास्थ्य समस्याका रुपमा रहेको महिला तथा बालबालिकाको स्वास्थ्य तथा पोषण अवस्थाको निरन्तर निगरानीका लागि सामुदायिक स्वास्थ्य सूचना प्रणाली कार्यक्रम (Family Health Profile) लाई विस्तार गरिनेछ। साथै मातृ तथा बाल स्वास्थ्य हातेपुस्तिका (MCH Handbook) कार्यक्रम सञ्चालन गरिनेछ।

८ सिकलसेल, थालासेमिया र हेमोफिलिया रोगको उपचारको लागि औषधी, उपकरण र पूर्वाधारको व्यवस्थापन, सचेतना, स्क्रिनिङ्ग र बिमा कार्यक्रमलाई निरन्तरता दिइनेछ। बिरामीहरूको तथ्यांक अभिलेखका लागि HDHMIS को विकास गरी कार्यान्वयन गरिनेछ।

९. प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा मेडिकल शिक्षा अध्यापनका लागि सम्भाव्यता अध्ययन गरिनेछ। प्रदेश मातहतका अस्पतालहरूबाट प्रदान गरिने गुणस्तरीय स्वास्थ्य सेवाका लागि भौतिक पूर्वाधार, जनशक्ति, औषधी तथा स्वास्थ्य सामग्री र औजार उपकरणहरूको उचित व्यवस्थापन सुनिश्चित गरिनेछ।

१० चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको क्षमता अभिवृद्धि, वृत्ति विकास तथा स्थायित्वको लागि विकास साझेदार र वित्तीय तथा शैक्षिक संस्थाहरुसँग सहकार्य गरिनेछ। प्रदेश मातहतका दुर्गम क्षेत्रका अस्पतालमा चिकित्सकीय सेवाहरू परिचालनका लागि प्रोत्साहन उपलब्ध गराईनेछ। निजी स्वास्थ्य संस्थाको नियमन तथा अनुगमनलाई प्रभावकारी बनाई विपन्न नागरिकका लागि तोकिएको निःशुल्क सेवाको सुनिश्चितता गरिनेछ।

११. प्रदेशका सबै अस्पतालहरूमा Anti-rabies Vaccine र सबै सर्पदंश उपचार केन्द्रमा Anti-snake Venom को नियमित आपूर्ति सुनिश्चित गरी सेवामा सबैको पहुँच विस्तार गरिनेछ।

१२. प्रदेश जनस्वास्थ्य ऐन तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ। स्वास्थ्य तालिम केन्द्रको संस्थागत क्षमता सुदृढ गर्दै तालिमलाई थप प्रभावकारी, व्यवस्थित, गुणस्तरीय एवं समयानुकूल बनाई प्रदेश भित्रै तालिम सञ्चालन गर्ने व्यवस्था गरिनेछ। प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई सुदृढ गरी सेन्टर अफ एक्सिलेन्सको रुपमा विकास गरिनेछ।

१३ आयुर्वेद स्वास्थ्य संस्थाहरूको क्षमता अभिवृद्वि र सेवा विस्तार गरी क्रमश: सुलभ आयुर्वेद फार्मेसी सञ्चालनमा ल्याइनेछ। प्राकृतिक चिकित्सा लगायतका अन्य वैकल्पिक चिकित्साको विकास र प्रवर्द्वन गरिनेछ। स्वर्ण बिन्दु प्राशन कार्यक्रमलाई अभियानको रुपमा विस्तार गरिनेछ।

१४ आधारभूत स्वास्थ्य सेवा र स्वास्थ्य बिमा सेवाको सुदृढीकरण तथा विस्तारका लागि स्थानीय तह र सङ्घीय सरकारसँग समन्वय एवम् सहकार्य गरिनेछ। बिरामीको उपचार इतिहास, प्रेषण, फलोअप लगायत बिरामीको अभिलेख प्रणालीलाई व्यवस्थित गर्न डिजिटल, एकीकृत र अन्तरआबद्धता स्वास्थ्य सूचना प्रणाली विकास गरिनेछ।

Book-Draft-नीति-तथा-कार्यक्रम-२०८३-०८४-2-10-वाचन-प्रति

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :