विगत केही दिनदेखि अर्थात् जेठ महिना सुरु भएदेखि अत्यधिक मात्रामा बढ्दै गएको गर्मीका कारण जनजीवन निकै प्रभावित बनिरहेको छ। विभिन्न सञ्चार माध्यमहरूले पनि आजदेखि आगामी तीन दिनसम्म लुम्बिनी प्रदेशका केही जिल्लाहरूमा तापक्रम ४२ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गर्दै सर्वसाधारणलाई विशेष सावधानी अपनाउन अनुरोध गरेका समाचारहरू प्रसारण गरिरहेका छन्।
गर्मी अत्यधिक बढेको हुनाले उच्च तापक्रम र लुबाट जोगिन निम्न अनुसारका उपायहरू अपनाउन आम जनमानसमा जानकारीसहित अनुरोध गरिन्छ।
तातो हावा (लु) बाट हुने सम्भावित असरहरू:
थकान लाग्ने, कमजोरी हुने, अत्यधिक तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, वान्ता हुनेजस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता समस्या देखिएमा नजिकको स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क गरी आवश्यक सल्लाह तथा सुझाव लिनु पर्दछ।
उच्च गर्मी र लुबाट बच्न अपनाउनुपर्ने सावधानीहरू:
-अत्यधिक गर्मीको समयमा घरभित्र वा चिसो स्थानमा बस्नु पर्दछ।
-नियमित रूपमा पानी तथा झोलिलो पदार्थ, फलफूलको रस, जुस तथा सर्वत प्रशस्त मात्रामा पिउनु पर्दछ।
-खेतबारी तथा अन्य बाहिरी कामहरू सकभर बिहान वा बेलुकाको समय मिलाएर गर्नु पर्दछ।
-सम्भव भएसम्म रुखको छहारीमुनि, शीतल तथा चिसो स्थानमा वा पंखा भएको ठाउँमा बस्नु पर्दछ।
-चिसो पानीले नुहाउने तथा आवश्यकता अनुसार चिसो पानीको पट्टी प्रयोग गर्नु उपयुक्त हुन्छ।
-दिउँसोको समयमा घर वा कार्यालयबाट बाहिर ननिस्कने, यदि बाहिर निस्कनै परेमा टाउको पातलो कपडाले छोप्ने, हल्का तथा सूती कपडा
-लगाउने, टोपी वा छाताको प्रयोग गर्ने।
-मदिरा सेवन, चिया, कफी, सोडा तथा चिनीको मात्रा बढी भएका पेय पदार्थ सकभर प्रयोग नगर्ने।
-लामो समयसम्म फ्रिजमा राखिएका खाद्य पदार्थ, धेरै चिसो बनाइएका पानी, कोक तथा फेन्टा जस्ता पेय पदार्थको अत्यधिक प्रयोग नगर्ने।
-गर्मीको समयमा बिहान वा बेलुका पकाएर फ्रिजमा राखिएको दाल, भात, रोटी, तरकारीजस्ता खाद्य पदार्थ धेरै समयपछि प्रयोग गर्दा सावधानी अपनाउने।
-यी सावधानीहरू अपनायौं भने उच्च गर्मी तापक्रम वा लु लाग्ने समस्याबाट घरायसी तहबाटै बच्न तथा जोगिन सकिन्छ।
भोजराज पोख्रेल स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी

प्रतिकया दिनुहोस्