बुटवलमा गर्भवतीको मृत्यु प्रकरण: डाक्टरद्वय खत्री र रुपाखेतीसहित पाँचजना पक्राउ, तीन दिन थुनामा राख्न आदेश

स्वास्थ्यसमाचार/गर्भपतनका क्रममा पाल्पाकी २९ वर्षिया गीता पाण्डेको ज्यान गएको घटनामा जोडिएका बुटवलका दुई डाक्टरसहित पांच जना पक्राउ परेका छन् । तीन वटा क्लिनिकमा उपचारका क्रममा गीताको मृत्युपछि खत्री नर्सिङ होमका सञ्चालक समेत रहेका डा. डिबी खत्री र इन्दु लेखा स्वास्थ्य क्लिनिकका डाक्टर सतिष रुपाखेतीलाई प्रहरीले  हिजो नियन्त्रणमा लिएको हो ।

मृतकका पति प्रकाश पाण्डेले गीताको मृत्युमा आर्थिक लाभको उद्देश्य राखेर चिकित्सकले गम्भीर लापरबाही गरेको आरोप लगाई डा. खत्री र रुपाखेतीसहित पांचजना विरुद्ध किटानी जाहेरी दिएका छन् । दुई डाक्टर बाहेक जोनल फार्मेसीका सन्ध्या बस्नेत र निलम घर्ती मगर तथा इन्दुलेखा स्वास्थ्य क्लिनिकका सञ्चालक खगेन्द्रप्रसाद पाण्डे मङ्गलवार नै पक्राउ परेका थिए ।

डा. खत्री र रुपाखेती भने मङ्गलवार साँझ अबेर आफै प्रहरी कार्यालय आएपछि नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले बताउनु भयो ।

जाहेरी अनुसार तीनजना पहिल्यै पक्राउ परेका र दुई डाक्टरलाई घटनाबारे बुझ्न आउनुस् भनेपछि मङ्गलवार साँझ अबेर आफै उपस्थित भएका प्रहरी नायव उपरीक्षक श्रीवास्तवले जानकारी दिनु भयो । पक्राउ परेका पांचै जनालाई जिल्ला अदालत रुपन्देहीबाट तीन दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक श्रीवास्तवले बताउनु भयो ।

पाल्पा बगनासकाली गाउँपालिका २ ख्याहाकी गीता पाण्डे चैत २७ गते खत्री नर्सिङ होममा करिब १२ हप्ताको गर्भ जाँचका लागि आएकी थिइन् । त्यहाँ नर्सिङ होमका सञ्चालक डा. डिबी खत्रीले गर्भ असामान्य छ भनी थप उपचारका लागि वैशाख ४ गते बोलाएका थिए । पाण्डे वैशाख ५ गते श्रीमान् प्रकाशसहित नर्सिङ होम आएकी थिइन् ।

आफ्नो नर्सिङ होममा नियमित चेकजाँचका गराइरहेकी गीतालाई आफै उपचार नगरी नर्सिङ होमले गीतालाई लोकेसन म्याप दिएर बुटवल अस्पताल लाइनको जोनल फार्मेसी क्लिनिकमा पठाएको थियो ।

त्यहाँ फार्मेसीले गर्भपतनको १६ हजार शुल्क लाग्छ भन्दै २ हजार एडभान्स लिएर दुईथरि औषधी दिएर अर्को दिन आउन भनेको थियो । जोनलबाट फेरि इन्दु लेखा क्लिनिकमा पु¥याई गर्भपतन गराउने क्रममा गीताको मृत्यु भएको थियो । इन्दु लेखा क्लिनिकमा डा. सतिष रुपाखेतीले गीताको चेकजांच गरेको मृतकका पति प्रकाशले बताउनु भयो ।

मृतकका पति प्रकाशले गर्भपतन गराइएको भ्रूण आफूले नदेखेको भन्दै श्रीमती बेहोस भइसकेपछि आफूलाई कुनै जानकारी नदिई लुम्बिनी सिटी अस्पतालको इमर्जेन्सी कक्षमा लैजाँदा डाक्टरले मृत घोषित गरेको बताउनु भयो । रक्त सञ्चार सेवा केन्द्रकी जागिरे समेत रहेकी गीतालाई कुनै दीर्घ रोग नभएको र स्वस्थ रहेको पति प्रकाशको भनाई छ । गीता पहिलो बच्चा (छोरा) जन्मिएको ५ वर्षपछि दोस्रोपटक आमा बन्ने तयारीमा थिइन् ।

मृतकका पति प्रकाशले गीताको मृत्यु भएपछि जोनल फार्मेसीले खत्री नर्सिङ होमले दिएको लोकेसन कार्ड र अन्य उपचारका रिपोर्टहरू लुकाएको बताएका छन् । गीताको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :