स्वास्थ्यसमाचार/ पाल्पाको तिनाउ गाउँपालिका–२ स्थित दोभान स्वास्थ्य चौकीमा परिवार नियोजनअन्तर्गत इम्प्लान्ट सेवा लिएर घर फर्कँदै गरेकी ४० दिनकी सुत्केरी चमेली सारुको बाटोमै मृत्यु भएको छ।
चमेलीका ससुरा मानबहादुर सारुका अनुसार दोभान स्वास्थ्य चौकीमा गई इम्प्लान्ट राखेर घर फर्किने क्रममा बुहारी चमेली एक्कासि बसमै बेहोस भएकी थिइन् । सारुलाई छारे रोग (मिर्गी) सम्बन्धी समस्या रहेको थियो। इम्प्लान्ट सेवा लिएर फर्कने क्रममा अचानक उनको स्वास्थ्य अवस्था बिग्रिएपछि बाटोमै मृत्यु भएको बताइएको छ।
दोभान स्वास्थ्य चौकी प्रमुख ठाकुर कुँवरले अनुभवी सिनियर अनमिबाट इम्प्लान्ट लगाइएको र सबै प्रोटोकल पूरा गरेर मात्र राखिने भएकाले स्वास्थ्यकर्मीको गल्ती नभएको दाबी गरे । उनका अनुसार इम्प्लान्टले हर्मोन छोडेर गर्भ बस्न नदिने भएकाले यसअघि लगाएकाले यसपटक पनि लगाइएको हो । यसको प्रभावकारिता तीनदेखि पाँच वर्षसम्म रहन्छ । मृतक सारुका यसअघि दुई छोरी छन् । यसपटक उनको छोरा जन्मिएको थियो ।
तिनाउ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्कीले इम्प्लान्टका कारण त्यस्तो समस्या नहुनुपर्ने बताए । ‘महिलामा अन्य कुनै समस्या भएका कारण त्यस्तो भएको हुन सक्छ,’ उनले भने, ‘अहिले हामीले यही कारणले मृत्यु भएको हो भन्न सकिँदैन ।’
स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुकराज पोखरेलका अनुसार मृतकले यसअघि पनि इम्प्लान्ट सेवा लिई बच्चा जन्माइसकेकी थिइन्। हाल पुनः इम्प्लान्ट सेवा लिएर फर्कने क्रममा घटना भएको भए पनि इम्प्लान्टकै कारण मृत्यु भएको भन्न नमिल्ने बताए। वास्तविक कारण पोस्टमार्टम रिपोर्टपछि मात्र स्पष्ट हुने उनले जानकारी दिए।
मृतकको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा भएको छ । यस घटनाले सुत्केरी अवस्थामा परिवार नियोजन सेवा प्रदान गर्दा आवश्यक जोखिम मूल्याङ्कन, दीर्घरोगको अवस्था पहिचान र आपतकालीन व्यवस्थापनमा थप ध्यान दिनुपर्ने विषयलाई पुनः उजागर गरेको छ।
स्वास्थ्यकर्मीहरूका अनुसार यस्ता सेवाअघि बिरामीको सम्पूर्ण स्वास्थ्य अवस्था परीक्षण अनिवार्य रूपमा गर्नुपर्ने हुन्छ, विशेषगरी न्यूरोलोजिकल समस्या भएका व्यक्तिमा सावधानी अत्यन्त आवश्यक हुन्छ।

प्रतिकया दिनुहोस्