कैलाली, २५ चैत । बैतडीको पुर्चौडी नगरपालिका–७ स्थित कोटिला स्वास्थ्यचौकीका इन्चार्ज सुमन लुहार विरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता भएको छ।
आफ्नै कार्यालयमा कार्यरत अनमी माया भट्ट माथि कुटपिट गरेको आरोपमा उहाँ पक्राउ पर्नुभएको हो।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतबार धनगढी १ अदालत रोड क्षेत्रमा लुहारले भट्टमाथि आक्रमण गर्नुभएको थियो। उक्त घटनामा भट्टको टाउको र हातमा चोट लागेको बताइएको छ।
पीडित भट्टले लुहारले इट्टाले प्रहार गर्दै आफूलाई गम्भीर रूपमा कुटपिट गरेको बताउनुभयो। उहाँका अनुसार घटनापछि तत्कालै उपचार गराइएको थियो।
घटनालगत्तै पक्राउ परेका लुहार हाल कैलाली प्रहरीको हिरासतमा रहेको प्रहरीले जनाएको छ। पीडित भट्टको जाहेरीका आधारमा लुहारविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो।
अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको छ उहाँको भनाई छ ।पीडितका अनुसार एउटै स्वास्थ्यचौकीमा कार्यरत सहकर्मीसँग फोनमा कुराकानी गरेको विषयलाई लिएर लुहारले विवाद सुरु गर्नुभएको थियो।
धनगढी बोलाएर उहाँले फोनको कल विवरण हेर्ने भन्दै नागरिकता माग्नुभएको र नागरिकता दिन अस्वीकार गरेपछि इट्टाले प्रहार गर्दै कुटपिट गरेको भट्टले बताउनुभयो।प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिकया दिनुहोस्