कुनै पनि आमाले आफ्नो गर्भको अवधि पूरा गरी बच्चालाई जन्म दिएपछि साल बाहिर निस्किएको समयदेखि सन्तान उत्पादनमा संलग्न रहेका सम्पूर्ण अंगहरू गर्भवती पूर्वको अवस्थामा फर्किन सुरु गर्ने समयलाई सुत्केरी अवस्था वा पोस्टनेटल पिरियड भनिन्छ।
सामान्यतया सुत्केरी अवस्था ६ हप्ता अर्थात् ४२ दिनको मानिन्छ। तर सम्पूर्ण अंगहरू पहिलेको अवस्थामा फर्किन तीन महिना लाग्ने भएकाले यसलाई गर्भावस्थाको चौथो अवस्था वा फोर्थ ट्राइमेस्टर पनि भनिन्छ।
यस समयमा गरिने आमा र बच्चा दुवैको शारीरिक परीक्षण, उनीहरूलाई गरिने स्याहार–सुसार तथा सम्पूर्ण सल्लाहलाई प्रसूति पश्चातको स्याहार (पोस्टनेटल केयर) भनिन्छ। प्रसूति पश्चातको स्याहारलाई विशेष गरी एउटा प्रोटोकलका आधारमा चार पटक अनिवार्य रूपमा जाँच गराउनु पर्दछ। नेपाल सरकारद्वारा सेवा प्रदान गरिएका गर्भवती जाँच तथा सुत्केरी गराउनका लागि सूचीकृत सबै स्वास्थ्य संस्थाहरूबाट यो सेवा अनिवार्य रूपमा निरन्तर दिइँदै आएको छ।
यसरी सूचीकृत संस्थाबाट निम्न अनुसार अनिवार्य प्रसूति पश्चातको जाँच गर्नुपर्दछः
१. पहिलो जाँच : बच्चा जन्मेको २४ घण्टाभित्र अनिवार्य गर्ने।
२. दोस्रो जाँच : बच्चा जन्मेको ३ दिनमा अनिवार्य गर्ने।
३. तेस्रो जाँच : बच्चा जन्मेको ७ देखि १४ दिनमा अनिवार्य गर्ने।
४. चौथो जाँच : बच्चा जन्मेको ४२ दिनमा अनिवार्य गर्ने।
भनिएता पनि आवश्यकताको महसुसका आधारमा जुनसुकै समयमा पनि स्वास्थ्य संस्थामा गई अथवा स्वास्थ्यकर्मीसँग भेटी आफ्नो स्वास्थ्यको जानकारी लिनु प्रत्येक नागरिकको नैसर्गिक अधिकार हो भन्नु अतिशयोक्ति हुँदैन।
हाल आएर नेपाल सरकारले हरेक स्थानीय तहसँग सहकार्यमा आमा र बच्चाको स्वास्थ्य अवस्थालाई थप टेवा दिने उद्देश्यले प्रसूति पश्चातको स्याहार भेट कार्यक्रम लागू गरेको छ। यस कार्यक्रममा हरेक सूचीकृत स्वास्थ्य संस्थाबाट दक्ष स्वास्थ्यकर्मीहरू घरघरमा गई आमा र बच्चालाई स्वास्थ्यसम्बन्धी जाँच तथा परामर्श सेवा दिने महत्वपूर्ण कार्यको थालनी गरिएको छ। यस कार्यलाई प्रत्यक्ष रूपमा सम्बन्धित व्यक्तिले अनिवार्य रूपमा जाँच गराउनु अत्यन्त महत्वपूर्ण मानिन्छ।
प्रसूति पश्चातको स्याहार आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षित राख्न अत्यन्त आवश्यक हुन्छ, जसले संक्रमण, रक्तस्राव र अन्य जटिलता रोक्न मद्दत गर्दछ।नेपाल सरकारले तोकेअनुसार नियमित जाँच (२४ घण्टा, ३ दिन, ७–१४ दिन र ४२ दिन) गराउँदा आमा र बच्चा दुवैको समुचित हेरचाह र विकास सुनिश्चित हुन्छ।
विशेष गरी प्रसूति पश्चातको जाँचको आवश्यकताका आधारमा यसका मुख्य सिद्धान्तहरू रहेका पाइन्छन्। आमाको स्वास्थ्यलाई सामान्य अवस्थामा पुर्याउन सहयोग गर्ने, सुत्केरी आमालाई संक्रमण हुनबाट बचाउने, बच्चाको हेरचाह गर्न र स्तनपानको स्थापना गर्न तथा परिवार नियोजनसम्बन्धी आवश्यक जानकारी दिनु यसको महत्वपूर्ण पक्ष मानिन्छ। किनकि नेपालमा सुत्केरी आमाहरूको मृत्युको प्रमुख कारण सुत्केरी अवस्थामा अत्यधिक रक्तस्राव हुने गरेको तथ्यांक पाइन्छ।
प्रसूति पश्चातको स्याहारबाट कसकसलाई फाइदा पुग्दछ त ? यस प्रकारको नियमित जाँचले विशेष गरी आमा र बच्चालाई प्रत्यक्ष रूपमा फाइदा पुर्याउँछ। साथै परिवारका सम्पूर्ण सदस्यहरूलाई पनि पारिवारिक, मानसिक, सामाजिक तथा आर्थिक पक्षमा सकारात्मक प्रभाव पार्दछ। यसले बच्चाको हुनुपर्ने वृद्धि–विकास, शारीरिक तौल तथा शरीरका अंग–प्रत्यङ्गहरूको अवस्था थाहा पाउन सकिन्छ भने आमाको शारीरिक, मानसिक, पारिवारिक तथा सामाजिक अवस्थासँगै प्रसूति पश्चातको सम्पूर्ण अवस्थाबारे जानकारी प्राप्त गरी थप सुधार तथा सचेत रहनुपर्ने कुराहरूमा महत्वपूर्ण जानकारी लिन सकिन्छ।
साथै आमा र बच्चा परिवारकै सदस्य भएको नाताले उनीहरू दुवैको स्वास्थ्यलाई सुरक्षित राख्न सकेमा बच्चा जन्मेकै कारणबाट परिवारमा कुनै किसिमको नकारात्मक समस्या देखा पर्दैन। यसले गर्दा परिवारका सम्पूर्ण सदस्यहरूमा पारिवारिक, मानसिक, सामाजिक तथा आर्थिक समस्या पनि देखा नपर्ने हुँदा प्रसूति पश्चातको स्याहारलाई अत्यन्तै महत्वका साथ हेरिएको पाइन्छ।
अन्त्यमा, समग्र रूपमा भन्नुपर्दा सरकारले गरेको लगानीअनुसार सेवाग्राहीहरूले सेवा लिएको अवस्था स्वास्थ्यको तथ्यांकका आधारमा अझै पनि कम देखिन्छ। यसमा जिम्मेवारी कसले लिने भन्ने सन्दर्भमा अहिलेको संरचना अनुसार वर्गीकरण गरिएको राज्यका तीनै तहका निकाय, त्यहाँ रहेका सम्पूर्ण जनप्रतिनिधि, प्रशासन तथा स्वास्थ्य क्षेत्रमा कार्यरत सबै सरोकारवालाहरूबीच नङ र मासुको सम्बन्धजस्तै सहकार्य आवश्यक छ।
आ–आफ्नो स्थानबाट देशभरिका जनमानसमा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक सन्देश फैलाउन सकेमा मात्र यसको आवश्यकता बुझाउन सकिन्छ र यस कार्यले पूर्णता पाउँछ। साथै स्वास्थ्यका सूचकहरू लक्ष्यअनुसार पूरा हुन सक्छन्। अन्यथा, जबसम्म स्वास्थ्यलाई राज्यका सम्पूर्ण निकायबाट प्रमुख प्राथमिकतामा राखेर अगाडि बढाउन सकिँदैन, तबसम्म स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा नारामा मात्र सीमित रहने सम्भावना रहन्छ। त्यसैले सरोकारवाला सबैको यसतर्फ ध्यान जानु नितान्त आवश्यक देखिन्छ।
भोजराज पोख्रेल स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी

प्रतिकया दिनुहोस्