स्वास्थ्यसमाचार/ नेपाल स्वास्थ्यकर्मी संघ (HEPON) लुम्बिनी प्रदेश कमिटीको पूर्ण बैठक आज राप्ती उपत्यका दाङ्ग मा सम्पन्न भएको छ। संघका लुम्बिनी प्रदेश अध्यक्ष कोशलराज बैद्यको अध्यक्षतामा सम्पन्न बैठकले स्वास्थ्यकर्मीका हकहित, सेवा सुरक्षा र कार्य वातावरण सुधारका विषयमा महत्वपूर्ण निर्णयहरू गरेको छ।
प्रदेश उपाध्यक्ष दामोदर सुवेधीका अनुसार २०८२ पौष १० गते बुटवल मा सम्पन्न प्रदेश अधिवेशनपछि यो पहिलो पूर्ण बैठक हो। बैठकले बाँकी रहेका जिल्लाहरूमा यथाशीघ्र अधिवेशन सम्पन्न गर्ने निर्णयसमेत गरेको छ।
कार्यक्रममा बोल्दै HEPON का केन्द्रीय कमिटी वरिष्ठ उपाध्यक्ष हरिहर तिवारीले संघीयताको मर्मअनुसार प्रदेश निजामती ऐन, नियमावली तथा स्थानीय तहका ऐन–नियमहरू स्वास्थ्यकर्मीमैत्री हुनुपर्ने आवश्यकता औंल्याए। बदलिँदो परिस्थितिमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन कानुनी तथा संरचनागत सुधार अनिवार्य रहेको उनको भनाइ थियो।
त्यसैगरी नेपाल ट्रेड युनियन काङ्ग्रेस लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष भिम बहादुर मरासिनीले प्रदेश तथा स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरूले भोगिरहेका समस्याको सहजीकरणका लागि संगठन प्रतिबद्ध रहेको बताए। कामका सिलसिलामा आउने प्रशासनिक तथा नीतिगत जटिलता समाधान गर्न समन्वयकारी भूमिका खेल्ने उनले उल्लेख गरे।
बैठकमा बाँके जिल्ला अध्यक्ष जागेश्वर बस्नेतले संगठन सुदृढीकरण, प्रदेश तथा स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीका समस्या तथा समसामयिक नीतिगत विषयमा धारणा व्यक्त गरे। रुपन्देही अध्यक्ष घनलाल अर्यालले स्वास्थ्यकर्मीहरूले कार्यसम्पादनका क्रममा भोगिरहेका चुनौती समाधानका लागि सम्बन्धित निकायले प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिए।
उपस्थित सदस्यहरूले कर्मचारीहरूको हकहित संरक्षण, सेवा सुरक्षाको सुनिश्चितता, वृत्ति विकासका अवसर विस्तार तथा सुरक्षित र व्यवस्थित कार्य वातावरण निर्माणमा संगठन थप सशक्त र एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए।
बैठकमा HEPON का केन्द्रीय कमिटी उपाध्यक्ष केदारनाथ शाह, केन्द्रीय सचिव गोरखनाथ योगी, मदन पोख्रेल (सुमन), प्युठान जिल्ला अध्यक्ष थानेश्वर न्योपाने, बाँके जिल्ला सचिव तेज बहादुर वली, कपिलवस्तु जिल्ला अध्यक्ष डोल विक्रम बेलबासे लगायत प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारीहरूको सहभागिता रहेको प्रदेश अध्यक्ष बैद्यले जानकारी दिए।
बैठकले आगामी दिनमा स्वास्थ्यकर्मीहरूको अधिकार संरक्षण, सेवा सुरक्षाको प्रत्याभूति तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग समन्वय र आवश्यक पहल गर्ने निर्णयसमेत गरेको छ।

प्रतिकया दिनुहोस्