स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका नगर तथा गाउँपालिका स्तरमा बहुक्षेत्रीय पोषण योजना (MSNP–III) प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय तहहरूले नौ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन्।
पोषण जोखिममा रहेका परिवारको पहिचानदेखि दिगो स्रोत परिचालनसम्मका कार्यलाई प्राथमिकता दिँदै स्थानीय तहहरूले योजनालाई संस्थागत रूपमा मजबुत बनाउने प्रतिज्ञा गरेका हुन्।
प्रतिबद्धताअनुसार नगर/गाउँपालिकाले पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठकलाई नियमित सञ्चालन गर्दै निर्णयहरूको कार्यान्वयनमा जोड दिनेछ। पोषणसम्बन्धी कार्यक्रमहरूलाई वार्षिक योजना तथा बजेटमा अनिवार्य रूपमा समावेश गर्दै तथ्यमा आधारित लक्षित बजेट बिनियोजन सुनिश्चित गरिने बताइएको छ।
यसबाहेक, पालिका स्तरमा विषयगत शाखाहरूबीच समन्वय बढाई समुदायसँग नजिकबाट सहकार्य गर्दै व्यवहार परिवर्तन–मुखी गतिविधीहरू सञ्चालन गर्ने योजना रहेको छ। पालिकाको पोषण प्रोफाइललाई नियमित अद्यावधिक राखी कमजोर, विपन्न तथा संकट प्रभावित क्षेत्रमा लक्षित कार्यान्वयन हुने उल्लेख छ।
दिगो पोषण परिणामका लागि स्थानीय स्रोत परिचालन, समुदायको सहभागिता, साझेदारी र निजी क्षेत्रसँग सहकार्य विस्तार गरिनेछ। पोषणमैत्री स्थानीय शासन कार्यान्वयनका सूचकहरू एकीकृत योजना मार्फत वडा तथा स्वास्थ्य संस्थासम्म जोड्ने र घोषणा अवधि तोकी कार्यहरू सञ्चालन गर्ने प्रतिबद्धता पनि गरिएको छ।
MSNP–III अन्तर्गत भएका प्रगतिलाई नियमित मूल्यांकन गरिने, त्रैमासिक समीक्षा तथा अनुगमन प्रणालीलाई बलियो बनाइने जनाइएको छ। साथै, “समृद्ध लुम्बिनीका लागि बालबालिकामा लगानी” भन्ने प्रदेश सरकारले अघि सारेको प्रतिज्ञालाई व्यवहारमा उतार्दै बालबालिकाको स्वास्थ्य तथा पोषण सुधारका कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरिने स्थानीय तहको भनाइ छ।
बहुक्षेत्रीय पोषण योजनाको लक्ष्य हासिलका लागि प्रतिबद्धता
१. बहुक्षेत्रीय पोषण योजनालाई नगर/गाउँपालिका स्तरमा संस्थागत विकास तथा सुदृढीकरण गर्न पालिका स्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक नियमित रूपमा सञ्चालन तथा सहजीकरणा गर्ने र निर्णयहरू कार्यान्वयनमा जोड दिने।
२. पोषणका कार्यक्रमहरूलाई वार्षिक योजना तथा बजेटमा अनिवार्य रूपमा समावेश गर्ने, तथ्यमा आधारित योजना तथा लक्षित बजेट बिनियोजन र व्यवस्थापन सुनिश्चित गर्न कार्य गर्ने।
३. पालिका स्तरमा बिषयगत शाखाहरू बिचको समन्वयलाई थप प्रभावकारी बनाउदै समुदायसँग नजिकबाट सहकार्य गर्ने, पोषणका विभिन्न गतिविधिहरू एकीकृत रुपमा तय गरी प्रभावकारी कार्यान्वयन गर्ने।पोषण संग सम्वन्धित व्यवहार परिबर्तनका लागी कार्य गर्ने ।
४. पालीका पोषण प्रोफाइललाई अध्यावधिक रुपमा राखी सोही प्रोफाइलको आधारमा पोषण सम्वन्धी कार्यक्रमलाई लक्षित बर्गमा केन्द्रित गरी कार्यान्वयन गर्ने ।
५. पोषण जोखिममा रहेका परिवारहरूको पहिचान र अनुगमनलाई प्राथमिकता दिने, कमजोर परिवार, विपन्न वर्ग, बाढी/डुबान/संकट प्रभावित क्षेत्रहरूमा पोषण लक्षित गतिविधिहरू कार्यान्वयन गर्ने।
६. दिगो पोषण परिणामका लागि स्थानीय स्रोत परिचालन गर्ने, समुदायको सहभागिता, स्थानीय साझेदारी र निजी क्षेत्रसँग सहकार्य बढाउने।
७. पोषणमैत्री स्थानीय शासनको प्रभावकारी कार्यान्वयनका लागी सो सम्वन्धी सूचकहरू एकीकृत योजना निर्माण गरी पालिका, वडा र स्वास्थ्य संस्थासम्म एकिकृत योजना लाई कार्यान्वयन गर्ने र पोषणमैत्री स्थानीयतह घोषणाको समयावधी निर्धारण गरी कृयाकलापहरु संचालन गर्ने ।
८. MSNP III को लक्ष्य र सूचकमा भएको प्रगतीको नियमित मूल्यांकन गर्ने, पालिका स्तरमा त्रैमासिक समीक्षा गर्ने र प्रतिवेदन तथा अनुगमन प्रणालीलाई मजबुत बनाउने।
९. लुम्बिनी प्रदेशको “समृद् लुम्बिनीको लागी बालबालिकामा लगानी”भन्ने लुम्बिनी प्रदेशको प्रत्तिबद्धतालाई ब्यवहारमा उर्तान बालबालिकाको स्वास्थ्य र पोषण सुधारका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा संचालन गर्ने ।

प्रतिकया दिनुहोस्