रुपन्देही कुष्ठरोगको जोखिममा,४ महिनामा ३७ जना नयाँ बिरामी फेला

स्वास्थ्यसमाचार/रुपन्देहीमा आर्थिक बर्षको पहिलो चौमासिक(साउन देखि कार्तिक सम्म ) ३७ जना कुष्ठरोगका बिरामी फेला परेका छन । द लेप्रोसी नेपालको आयोजना तथा स्वास्थ्य कार्यालय रुपन्देहीको समन्यनमा भएको अन्र्तक्रियामा उक्त कुरा बताईएको हो ।

अन्र्तक्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका वरिष्ठ क्षयकुष्ठ अधिकृत टीकाराम अधिकारीले ४ महिनामा ३७ जना पत्ता लागेका र त्यस मध्ये१७ जना महिला रहेको बताउनु भयो ।

उहाले रुपन्देहीमा सचेतिकरण, पहिचान ,उपचार व्यवस्थापन र रोकथाम गरि ४ तरिकाबाट काम भैरहेको अधिकारीले बताउनुभयो । रुपन्देहीमा आ. व. २०८१ / ८२ मा १ सय ७८ जना बिरामी उपचारमा थिए सोही बर्ष १ सय ७० जना नयाँ बिरामी पत्ता लागेका थिए ।

अधिकारीका अनुसार अहिले उपचारमा १ सय ६३ जना बिरामी रहेको जानकारी गराउनु भयो । अधिकारीले कुष्ठरोग औषधि खाएपछि निको हुने रोग भएकाले रोगको बारेमा खुलेर स्वास्थ्य परामर्श लिनुपर्ने वताउनु भयो ।

द लेप्रोसी नेपाल डिग्नीटी परियोजनाका प्रमुख सुमन ज्ञवालीले संस्थाले कुष्ठरोगको निवारणका लागि स्वास्थ्य जाँच, जनचेतनामूलक कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाले रोहीणी र देवदहनगरमा सहकारी मार्फत कार्यक्रम संचालन गर्दै आएको वताउनु भयो।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख उमादेवी थापाले रुपन्देहीलाई कुष्ठरोग निवारण जिल्ला बनाउन समुदायस्तर बाटै काम भैररहेको स्वताउनु भयो। उहाले खुला बोर्डर, सचेतनाको कमी र स्थानिय तहको अपनत्व कम हुनुको कारणले पनि यो रोग निवारणमा समस्या देखिएको बताउनु भयो ।

कार्यक्रमको संञ्चालन स्वास्थ्य कार्यलय रुपन्देहीका परिवार नियोजन अधिकृत प्रवास पन्थीले गर्नु भएको थियो । सरकारले नेपाललाई २०६६ सालमा कुष्ठरोग निवारण देश घोषणा गरिएको १६ वर्ष बितिसक्दा पनि अझै पूर्ण निवारण हुन सकेको छैन ।

कुष्ठरोग के हो? लक्षण, र जोगिने उपाय

कुष्ठरोग आँखाले देख्न नसकिने माइकोब्याक्टेरियम लेप्र नामक शुक्ष्म किटाणुबाट लाग्ने सरुवा रोग हो। पहिलो पटक सन् १८७३ मा नर्वेका वैज्ञानिक डा जीए ह्यानसनले कुष्ठरोग किटाणुका कारणले हुने रोग हो भनी पत्ता लगाएका थिए। त्यसैले यसलाई ह्यानसेन्स रोग पनि पनि भनिन्छ।

कुष्ठरोगको चिह्न र लक्षण

शरीरको कुनै भागमा छुँदा थाहा नहुने फुस्रो वा हल्का रातो दागहरू देखा पर्नु शुरूको चिह्न हो। यसबाहेक अनुहार र कानका लोतीमा गिर्खाहरू देखिनु, छाला चम्किलो र बाक्लो हुनु तथा आँखीभौं झरेर जानु कुष्ठरोगका चिह्नहरू हुन्। अन्त्यमा अपाङ्गता हुन सक्छ। स्नायुमा असर पर्न जाँदा हात खुट्टाहरू लगातार झम–झम गर्नु, स्नायु सुन्निनु, दुख्नु, हातखुट्टा छुँदा थाहा नहुनु, मांसपेशीहरू कमजोर हुनु आदि लक्षण भेटिएमा कुष्ठरोग हो कि भनि शंका गर्न सकिन्छ।

कुष्ठरोगका प्रकार ?

कुष्ठरोगका चिह्न र लक्षणको आधारमा यसलाई दुई भागमा बाँड्न सकिन्छ।

१) बढी किटाणु भएको अर्थात (एमबी) कुष्ठरोग

२) कम किटाणु भएको अर्थात (पीबी) कुष्ठरोग

कुष्ठरोगको उपचार के हो ?

यसको उपचार बहुऔषधि विधिबाट गरिन्छ। जसअनुसार बढी किटाणु भएका अर्थात (एमबी) कुष्ठरोग बिरामीले १२ महिना र कम किटाणु भएका अर्थात (पीबी) कुष्ठरोग बिरामीले ६ महिना नियमित औषधि सेवन गर्नुपर्दछ। बिरामीले घरैमा बसेर औषधि सेवन गर्न सक्दछन्। बहुऔषधीको १ मात्राले नै ९९ प्रतिशत किटाणु निस्क्रिय बनाइदिन्छ। तसर्थ उपचार गरेका बिरामीबाट रोग अरूलाई सर्दैन।

कुष्ठरोगको उपचार स्वास्थ्य संस्थामा निःशूल्क पाइन्छ। साथै हाल नेपाल सरकारले उपचार पूरा गरेका तथा विशेष सेवाका लागि अस्पतालमा भर्ना हुँदा यातायात खर्च रु। १ हजार उपलब्ध गराएको छ।

जनचेतना जगाउनेः कुष्ठरोगको वारेमा समाजमा अझै पनि अन्धविश्वास व्याप्त छ। समुदायमा पनि व्यापक जनचेतना जगाई कुष्ठरोगीलाई सामान्य व्यक्ति सरह व्यवहार गर्ने, भेदभाव नगर्ने परिवारमा आवश्यक माया ममता र सहयोगको वातारण हुनु आवश्यक रहेको स्वास्थ्य कार्यलय रुपन्देहीका क्षयकुष्ठ अधिकृत अधिकारीले बताउनु भयो।

उहाले समाजका सवै सरोकारवालाहरू, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी, संञ्चारकर्मी र परम्परागत उपचारमा संलग्न व्यक्ति, सामुदायिक समूह सबैमा कुष्ठरोगका बारेमा सत्य तथ्य जानकारी गराउनु आबश्यक रहेको बताउदै बेला बेलामा यस्ता अन्तरकृर्या छलफल तथा कार्यक्रहरु संञ्चालन गर्दे आएको बताएउनु भयो ।

 

सम्बन्धित शिर्षक :