स्वास्थ्यसमाचार/ चिकित्सकहरूका हकहितमा अग्रसर साझा संगठन ‘नेपाल चिकित्सक संघ’ र पेशा नियमन गर्ने ‘नेपाल मेडिकल काउन्सिल’ दुबै संस्थामा एकैपटक निर्वाचन हुने भएपछि लुम्बिनी प्रदेशका चिकित्सकहरू पनि प्रचारप्रसारमा सक्रिय भएका छन्।
पुसको पहिलो र दोस्रो हप्ता काउन्सिलका लागि दुई चरणमा मतदान हुने व्यवस्था रहेको छ भने माघमा संघको निर्वाचन हुँदैछ। यसै सन्दर्भमा शनिवार बुटवलमा पत्रकार सम्मेलन गर्दै डा. सम्राट पराजुलीले नेपाल मेडिकल काउन्सिलमा लुम्बिनी प्रदेशबाट सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरे।
नेपाल चिकित्सक संघ लुम्बिनी शाखाका अध्यक्ष डा. कृष्ण खरेलले डा. पराजुलीलाई केन्द्रिय सदस्य पदमा प्रस्ताव गरेका छन्। मेडिकल काउन्सिलमा एक उपाध्यक्ष र आठ सदस्य पद निर्वाचनबाट चयन हुने व्यवस्था छ भने अध्यक्ष र केही सदस्य पद सरकारले नियुक्त गर्ने प्रावधान छ।
कार्यक्रममा संघका अध्यक्ष डा. खरेलले लुम्बिनी प्रदेशमा चिकित्सकहरुको हकहित संरक्षण र पेशाप्रति वफादार बनाउन सफल भएको दाबी गर्दै डा. पराजुलीलाई साझा उम्मेदवार बनाइएको बताए।
काउन्सिलको नियम अनुसार, उपाध्यक्ष पदका उम्मेदवार कम्तिमा १५ वर्षको अनुभव भएका चिकित्सक हुनुपर्छ भने सदस्य पदका उम्मेदवार कम्तिमा ५ वर्षको अनुभव भएका दर्ता चिकित्सक हुनुपर्ने छ। काउन्सिलले ४ र ५ पुसमा काठमाडौं उपत्यका बाहिर तथा ११ र १२ पुसमा काठमाडौं उपत्यकाभित्र मतदान हुने जनाएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. इन्द्र ढकालले यस भेगबाट केन्द्रमा प्रतिनिधित्व गर्नु महत्वपूर्ण भएको उल्लेख गर्दै, अल्पमतमा परेका चिकित्सकहरूको आवाज अगाडि ल्याउन यस निर्वाचन योगदान पुर्याउने आशा व्यक्त गरे। उनले चिकित्सा शिक्षा महँगो हुनु, चिकित्सक पलायन, र नीति सुधारको आवश्यकता रहेको भन्दै नयाँ पुस्ताका चिकित्सकको नेतृत्व आवश्यक रहेको बताए।
डा. पराजुलीले विजयी भए काउन्सिलमा तीन मुख्य एजेन्डा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे
१. चिकित्सकहरूको दर्ता प्रक्रिया सहज बनाउने,
२. चिकित्सकमैत्री काउन्सिलको संरचना बनाउने,
३. चिकित्सकहरूको क्षमता विकासका तालिम सञ्चालन गर्ने।
त्यसैगरी उनले आम जनस्वास्थ्यमा लापरवाहीको घटना देखिए काउन्सिलमार्फत निष्पक्ष छानबिन गर्ने र केन्द्रीकृत कार्यालयलाई प्रदेशस्तरीय संरचनामा विकेन्द्रीकृत गरेर सेवा प्रवाह गर्ने योजना रहेको बताए।
यता, माघमा हुने नेपाल चिकित्सक संघको निर्वाचनमा केन्द्रिय उपाध्यक्ष पदमा डा. कृष्ण खरेल र उपाध्यक्षमा डा. सन्तोष पोखरेल आकाक्षी रहेका छन्। वर्तमानमा मेडिकल काउन्सिलमा करिब ३९ हजार दर्ता सदस्यहरू रहेका छन्।

प्रतिकया दिनुहोस्