स्वर्णप्राशन कार्यक्रम:आयुर्वेद चिकित्सालय दाङबाट सुरु देशभर विस्तार

स्वास्थयसमाचार / बालबालिकाको शारीरिक र मानसिक विकासमा मद्दत पु¥याउने स्वर्णप्राशन कार्यक्रम नेपालभरि विस्तार गरिएको छ।लुम्बिनी प्रदेशको दाडवाट ७९ असोज २९ गते ७८ जना बालबालिकाबाट सुरु भएको हो।

हालसम्म ४२ हजार बालबालिका यो स्वर्णप्राशन लाभान्वित भएको प्रादेशिक आयुर्वेद चिकित्सालयका निर्देशक डा. प्रवेश श्रीवास्तवले वताउनु भयो ।प्रादेशिक आयुर्वेद चिकित्सालय दाङमा आज ७ हजारभन्दा बढी बालबालिकालाई सुन मिसाइएको औषधि खुवाइएको डा श्रीवास्तवले बताउनु भयो।

आयुर्वेद शास्त्रमा यस औषधिले रोगसँग लड्ने क्षमता, बौद्धिक विकास र पाचन शक्ति वृद्धि हुने उल्लेख गरेको उहाले बताउनु भयो । निर्देशक डा. सन्तोष कुमार ठाकुरको पहलमा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको सहकार्यमा नेपालमै पहिलो पटक पाइलट अध्ययनका रूपमा कार्यक्रम थालिएको थियो।

बालबालिकामा देखिएको सुधार र आम जनतामा बढ्दो मागका कारण लुम्बिनी प्रदेश सरकारले यसलाई १२ वटै जिल्लामा विस्तार गरेको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारुले बताउनुभयो। उहाले वालवालिका लाई यो आबश्यक रहेको देखिएकोले हामीले प्रदेशभर खुवाउने गरि बजेट तथा योजना बनाएको बताउनु भयो ।यो सुरु संगै यसको प्रभाबको बारेमा अनुसन्धान गर्ने बताउनु मन्त्री  सारुले बताउनुभयो।

स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठले “स्वर्णप्राशन कार्यक्रमलाई व्यवस्थित गर्न गत आर्थिक वर्षमै यसका लागि आवश्यक कार्यविधि, एसओपी (Standard Operating Procedure) र निर्देशिका तयार भइसकेको वताउनु भयो।

उहाले अहिले यसलाई थप प्रभावकारी बनाउनका लागि यो आर्थिक वर्षमा बालबालिकाले सेवन गरेपछि देखिने प्रत्यक्ष असर र प्रभावबारे  अध्ययन सुरु गर्ने तयारी भइरहेको समेत श्रेष्ठले बताउनु भयो ।”

प्रादेशिक आयुर्वेद चिकित्सालयका बालरोग विशेषज्ञ डा. अर्जुनराज शर्माका अनुसार सुनलाई विशिष्ट प्रक्रियाबाट शुद्धिकरण गरी जडीबुटी मिसाइएको घ्यू र महमा मिलाएर थोपाको रूपमा खुवाइन्छ। यसले सामान्य बालबालिकासँगै अटिजम र बौद्धिक अपाङ्गता भएका बालबालिकामा समेत प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएका छन्।

हाल यो कार्यक्रमलाई संघीय सरकारबाट समेत मान्यता दिइसकिएको छ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका २३ जिल्लामा लागू भएको प्रादेशिक आयुर्वेद चिकित्सालयका निर्देशक डा. प्रवेश श्रीवास्तवले वताउनु भयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुदूरपश्चिम प्रदेशको धनगढीबाट ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रमको औपचारिक शुभारम्भ गर्नु भएको थियो । बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै उनीहरूको बौद्धिक र शारीरिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो राष्ट्रिय अभियान सुरु गरिएको मन्त्री पौडेलले वताउनु भयो ।

के हो स्वर्ण बिन्दु प्राशन?

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. श्यामबाबु यादवका अनुसार ‘स्वर्ण बिन्दु प्राशन’ करिब पाँच हजार वर्ष पुरानो आयुर्वेदिक ग्रन्थ ‘काश्यप संहिता’ मा वर्णन गरिएको एक परम्परागत विधि हो। यो केवल विभिन्न वस्तुको मिश्रण मात्र नभई यसको आफ्नै वैज्ञानिक आधार पनि छ।

यसमा प्रयोग हुने प्रशोधित स्वर्ण भस्मले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई सन्तुलन र नियमन गर्न मद्दत गर्छ। त्यसैगरी, मस्तिष्कको क्षमता बढाउने जडिबुटीयुक्त ब्राह्मी घृतले स्नायु कोषहरूको रक्षा गर्ने र स्मरणशक्ति बढाउन योगदान गर्छ। शुद्ध मह आफैंमा प्राकृतिक जीवाणुरोधी तत्व हो जसले संक्रमणबाट बचाउँछ। यी तत्वहरूको सही संयोजनले बालबालिकाको समग्र विकासमा सकारात्मक प्रभाव पार्छ।

डा. यादव भन्नुहुन्छ – ‘यो कुनै अन्धविश्वासमा आधारित परम्परा होइन, यो हजारौँ वर्षको अनुभव र अनुसन्धानमा आधारित विज्ञान हो। स्वर्ण भस्मको ‘इम्युनोमोडुलेटर’ गुण, ब्राह्मीको ‘न्युरो-प्रोटेक्टिभ’ क्षमता र महको प्राकृतिक ‘एन्टी-माइक्रोबियल’ गुणबारे आधुनिक अनुसन्धानले पनि पुष्टि गर्दै लगिरहेका छन्। विभागले यसको सुरक्षित र सही कार्यान्वयनका लागि देशभरका आयुर्वेद स्वास्थ्यकर्मीलाई तालिम दिई एकरूपता कायम गर्नेछ।’

त्यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा प्रमुख डा. पुष्पराज पौडेलले पनि ‘स्वर्ण बिन्दु प्राशन’ को वैज्ञानिक पक्ष रहेको वताउनु भयो ।

उहाका अनुसार– ‘आधुनिक वैज्ञानिक दृष्टिकोणबाट हेर्दा ‘स्वर्ण बिन्दु प्राशन’ एक अत्यन्त परिष्कृत ‘नानो-मेडिसिन’ र ‘न्युरो-इम्युनोमोडुलेटर’ फर्मुलेसन हो। यसमा प्रयोग हुने ‘स्वर्ण भस्म’ सामान्य सुन होइन; यो विशेष प्रशोधन विधिबाट तयार पारिएको सुनको नानो कण हो जसले शरीरको रोग प्रतिरोधात्मक प्रणालीलाई सन्तुलित गर्ने क्षमता राख्छ।

ब्राह्मी र शंखपुष्पी जस्ता ‘मेध्य रसायन’ जडीबुटीहरूमा पाइने ‘नूट्रोपिक्स’ र ‘एड्याप्टोजेन्स’ जस्ता सक्रिय तत्त्वहरूले स्नायु कोषहरूको रक्षा गर्ने र मस्तिष्कको सिक्ने क्षमतालाई बढाउने काम गर्छन्। तसर्थ, यो केवल परम्परा मात्र होइन; बालबालिकाको प्रतिरक्षा प्रणाली र स्नायु प्रणालीलाई सबल बनाउने वैज्ञानिक रूपले अर्थपूर्ण ‘सिनर्जिस्टिक’ संयोजन हो।’

अन्तर्राष्ट्रिय अभ्यास र बढ्दो स्वीकार्यता

परम्परागत चिकित्सालाई राष्ट्रिय स्वास्थ्य प्रणालीमा एकीकृत गर्ने अभ्यास विश्वव्यापी रूपमा बढ्दो छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आफ्नो ‘ट्रेडिसनल मेडिसिन स्ट्राटेजी २०१४–२०२३’ मार्फत सदस्य राष्ट्रहरूलाई प्रमाणमा आधारित परम्परागत चिकित्सालाई राष्ट्रिय स्वास्थ्य नीतिमा समावेश गर्न प्रोत्साहित गर्दै आएको छ।

भारतमा ‘स्वर्णप्राशन संस्कार’ लाई राष्ट्रिय आयुर्वेद अभियान अन्तर्गत बाल स्वास्थ्यको एक महत्वपूर्ण अंगका रूपमा वर्षौंदेखि सञ्चालन हुँदै आएको छ।

त्यहाँका विभिन्न राज्य सरकारहरूले यसलाई सरकारी स्वास्थ्य केन्द्रमार्फत निःशुल्क उपलब्ध गराउँदै आएका छन्। त्यसैगरी, चीन, जर्मनी, अष्ट्रेलिया जस्ता विकसित मुलुकहरूमा पनि आयुर्वेदिक र परम्परागत चिकित्सा पद्धतिलाई पूरक स्वास्थ्य सेवाका रूपमा स्वीकार्यता बढ्दै गएको छ र यसबारे विभिन्न वैज्ञानिक अनुसन्धान भइरहेको छ।

सम्बन्धित शिर्षक :