नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) लुम्बिनी प्रदेशको पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

स्वास्थ्यसमाचार/नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पश्चिम) लुम्बिनी प्रदेशको पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्लाको रूपमा घोषित गरिएको छ। आज रामग्राम नगरपालिकामा आयोजित विशेष कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले औपचारिक रूपमा सो घोषणा गर्नुभएको हो।

स्वास्थ्य मन्त्री सारुले जिल्लालाई ऐतिहासिक उपलब्धिको रूपमा पूर्ण खोप सुनिश्चितता हासिल गरेकोमा बधाई दिँदै, यस उपलब्धिका लागि सबै सरोकारवालाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। साथै उहाँले पृथ्वी चन्द्र अस्पतालमा डाक्टरहरूको दरबन्दी तत्काल पूर्ण गर्ने र महिला स्वास्थ्य स्वयंसेवककाहरूका माग सम्बोधन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको जानकारी दिनुभयो।

घोषणा समारोह जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादव रुदलको अध्यक्षता र मन्त्री सारुको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठ, निर्देशक रोशनलाल चौधरी, लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री खड्ग बस्नेत, रामग्राम नगरप्रमुख धनपति यादव, उपप्रमुख सम्झना चौधरी, प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव, कांग्रेस कार्यवाहक सभापति विक्रम यादव, स्वास्थ्य स्वयंसेविका सञ्जालकी केन्द्रीय सदस्य सरस्वती सुवेदी लगायतको उपस्थिति रहेको थियो।

स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अङ्गद बहादुर शाहीका अनुसार, हाल १५ महिना मुनिका खोप प्राप्त गरिरहेका बालबालिका ६ हजार ४५७ जना छन् भने १६ महिनादेखि ५९ महिनासम्मका पूर्ण खोप प्राप्त गरिसकेका बालबालिका १८ हजार ४५९ जना छन्।

यस आर्थिक वर्षमा खोप छुटेका १७३ बालबालिकालाई समेत समेटेपछि जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपनामा सफल भएको हो। कार्यक्रमको सञ्चालन खोप अधिकृत भेषराज शर्माले गर्नुभयो भने स्वागत मन्तव्य ओमप्रकाश पन्थीले राख्नुभएको थियो।

सम्बन्धित शिर्षक :