आत्महत्या/आत्महानी (Suicide/Self harm):खिम बहादुर पौडेल

कुनै पनि व्यक्तिले जानीजानी आफ्नो जीवन आफैले समाप्त पार्ने कार्य गर्दछ भने त्यस्तो (आफुले आफुलाई हानी पुर्याइ जीवन समाप्त गर्ने) कार्यलाई आत्महत्या भनिन्छ । आत्महत्यामा व्यक्ति स्वयंले स्वच्छाले वा जानीजानी मर्ने मनसायले योजनाबद्ध रुपमा वा आवेशमा आई आफ्नो ज्यान लिने कार्य गर्दछन ।

आत्महत्या अति जटिल मनोबैज्ञानिक एवं  सामाजिक दुर्घटना हो । धार्मिक तथा सामाजिक दृष्टिकोणले यसलाई पाप एवं अपराधको रुपमा लिने गरिएको भए तापनि आधुनिक विज्ञानमा आत्महत्यालाई गम्भीर मानसिक स्वास्थ्य समस्याको उपज मानिन्छ ।आत्महत्याको सोच तथा कोशिसलाई तत्कालै उपचार गर्नुपर्ने अत्यन्त संबेदनशील चिकित्सकीय बिपत (Medical emergency) को रुपमा हेरिन्छ ।

आत्महानी बृहत शब्द हो जसले जानीबुझी आफुलाई हानी गर्ने वा बिष सेवन गर्ने वा आफुले आफुलाई दु:ख वा पिडामा पुर्याउने कार्य जनाउछ, जसको जटिल उद्देश्य र परिणाम हुन वा नहुन पनि सक्दछ ।

आत्महत्या एक प्रकारको मानसिक स्वास्थ्य समस्या हो । आत्महत्याको कोशिस गर्ने वा आत्महत्या गरेका ९५% मानिसहरु कुनै न कुनै मानसिक स्वास्थ्य समस्याबाट पिडित पाईन्छ, जसमा ८०% डिप्रेसन, १०% कडा साइकोसिस, ५% डीमेन्सिया, डिलेरियम र लागुपदार्थ सम्बन्धी समस्या भएको अध्ययनले देखाएको छ। तर सबै मानसिक समस्या भएका व्यक्तिले आत्महत्या गर्छन भन्ने होइन ।

सामान्य व्यक्तिहरुको तुलनामा मानसिक समस्या भएका व्यक्तिहरुमा आत्महत्याको जोखिम ३ देखि १२ गुणा बढी रहेको हुन्छ । साइकोसिस, लागुपदार्थ दुर्व्यसनी, बाइपोलर डिसअर्डर, डिप्रेसन आदि समस्या भएका व्यक्तिहरुमा आत्महत्याको जोखिम उच्च रहन्छ | नेपाल प्रहरीको तथ्यांक अनुसार आ.व.२०७८/७९ मा ६ हजार ८३० (प्रतिदिन१९) जनाले आत्महत्या गरेका थिए भने इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आ.व. २०८०/८१ को तथ्यांक अनुसार ७ हजार २२३ (प्रतिदिन २०) जनाले आत्महत्या गरेका थिए । हाम्रो देशमा आत्महत्या एकदमै ठुलो बिकराल समस्या बन्दै गएको छ ।

शब्दावलीमा आत्महत्या

  • आत्महत्या भन्नाले जानीजानी आफुले आफैलाई मार्नु हो।
  • आत्महत्याको सोचाइ भनेको आफुले आफैलाई मार्छु भन्ने जस्ता बिचार आउनु हो । यस्ता बिचारहरु अस्पष्ट हुनसक्छ र एक्कासि आउन सक्दछन ।
  • आत्महत्याको योजना भन्नाले कसैले आफुले आफैलाई मार्नका लागि वास्तविक रुपमा योजना बनाउनु हो ।
  • आत्महत्याको कोसिस भनेको मर्ने योजना बनाएर आत्महानी गर्ने प्रयास गर्नु हो ।

आत्महानी भनेको आफुले आफैलाई क्षति पुर्याउने कार्य गर्नु हो जसमा आफ्नो ज्यान लिने उद्देश्य हुन वा नहुन पनि सक्छ ।

 

आत्महत्या सम्बन्धी केही गलत धारणा तथा सत्यहरु

क्र.स. गलत धारणा सत्यहरु
आत्महत्या रोक्न सकिदैन । धेरै जसो आत्महत्याको घटनालाई रोकथाम गर्न सकिन्छ ।
     २ दृढ संकल्प भएका व्यक्तिहरुलाई आत्महत्या गर्नबाट कसैगरी बचाउन सकिदैन । उचित ध्यान पुर्याएर उपचार तथा मनोविमर्श प्रदान गरे आत्महत्या रोक्न सकिन्छ ।
आत्महत्या गर्ने मान्छेले केही पनि संकेत दिदैनन । आत्महत्याबाट मृत्यु भएका व्यक्तिहरु मध्ये दुइ तिहाइले  आत्महत्याको कुरा गर्ने वा आफु आत्महत्या गर्दैछु भनेर स्पष्ट संकेत दिने गर्दछन ।
आत्महत्याका प्रयास गरेका व्यक्तिहरुको एकपटक उद्धार भएपछी आत्महत्याको खतरा टर्दछ । समस्याको वास्तविक पहिचान तथा उपयुक्त सहयोगको अभाव भएमा भविष्यमा पनि आत्महत्याको खतरा रहने गर्दछ ।
न्यून आर्थिक अवस्था भएको बर्गमा आत्महत्याको दर उच्च हुन्छ । आत्महत्याको समस्या कुनै आर्थिक सामाजिक सिमाहरुभित्र मात्र सिमित हुदैन ।
आत्महत्याका सोचाइ भएका व्यक्तिहरुलाई आत्महत्या सम्बन्धी कुरा गर्दा आत्महत्या गर्न ऊ झन उक्सन्छ । आत्महत्या सम्बन्धी सोचाइ भएका व्यक्तिहरुलाई आत्महत्या सम्बन्धी कुरा गर्दा समस्या तथा खतरा बुझ्न र जीवन जोगाउन सकिन्छ।
आत्महत्याको कुरा गर्ने व्यक्तिहरुले आत्महत्या गर्दैनन् । प्रत्येक १० जना मध्ये ८ जनाले आत्महत्या पूर्व आत्महत्याको आसयका बारेमा कुरा गर्ने गर्दछन ।
आफु प्रति ध्यान आकर्षण गर्नका लागि वा घुर्क्याउनका लागि व्यक्तिहरुले आत्महत्याको प्रयास गर्ने गर्दछन । आत्महत्याको प्रयास गर्ने व्यक्तिले उपयुक्त सहयोगको खोजी गरेका हुन सक्छन | यदि यसलाई सामान्य रुपमा लिएको खण्डमा नतिजा घातक हुनसक्छ ।

 

आत्महत्याका कारणहरु

आत्महत्याका बहुपक्षीय कारणहरु हुन्छन । धेरै कारणको सम्मिश्रणबाट यस्तो सोच आउने हुँदा यी मध्ये जैविक, सामाजिक तथा मानोबैज्ञानिक कारणहरु प्रमुख हुन । अध्ययनहरु अनुसार आत्महत्याका प्रयासहरु मध्ये ९५% मानसिक स्वास्थ्य समस्याका कारण हुने गरेका छन । आत्महत्याका मुख्य कारणहरुमा निम्नानुसार रहेको छन ।

– जैविक कारण: घरपरिवार तथा वंशजमा आत्महत्याको इतिहास भएमा,दिमागमा serotonin को मात्रा कम भएमा।

– शारीरिक रोगहरु: दिर्घकालिन शारीरिक रोगहरु जस्तै: क्षयरोग, एच.आइ.भी, कलेजो, फोक्सो,मृगौला वा अन्य रोगहरु र हर्मोनको गडबडी ।

– मनोसामाजिक कारणहरु: एक्लो, अविवाहित, सम्बन्ध बिच्छेद, बेरोजगारी, गरिबी, प्रकोप, लागुपदार्थ दुर्व्यसनी ।

– मानसिक रोगहरु: डिप्रेसन, साइकोसिस, डीमेन्सिया ।

कतिपय मानिसहरुले रिसको आवेगमा वा आवेशमा आएर पनि आत्महत्या गर्ने गर्दछन भन्नेकुरा विभिन्न लेखहरुमा पाइन्छ ।

व्यक्तिमा तलका मध्ये कुनै अवस्था भएमा आत्महत्या/आत्महानीको तत्काल जोखिम रहेको भनेर बुझ्नु पर्छ ।

  • हाल आत्महत्या/आत्महानीको कुनै सोच वा योजना भएमा,
  • हाल एकदमै हिस्रक, आक्रमण, तनावग्रस्त वा बोल्न नरुचाउने व्यक्तिमा गत महिना आत्महानीको कुनै सोच वा योजना बनाएको वा गत बर्ष स्वयंलाइ हानी पुर्याएको अवस्थामा ।

व्यक्तिमा तलका मध्ये कुनै अवस्था भएमा आत्महत्या/आत्महानीको जोखिम रहेको हुन्छ ।

  • डिप्रेसन
  • लागुऔषध दुर्व्यसनी सम्बन्धी समस्याहरु
  • बालबालिका तथा किशोर-किशोरीमा हुने मानसिक तथा व्यवहारिक समस्याहरु
  • दैनिक क्रियाक्लाप जस्तै बिधालय जाने, घरायसी कामकाज वा सामाजिक कार्य सम्पादन गर्न कठिनाइ भएमा
  • भावनात्मक तनावका लागि पटक पटक स्वयं उपचार वा अनुत्तरित शारीरिक लक्षणहरु भएमा
  • अत्याधिक तनाव वा बारम्बार सहयोग खोजेको अवस्थामा
  • साइकोसिस
  • छारे रोग ।

आत्महत्या/आत्महानीको रोकथाम

आत्महत्याको कोशिस गर्ने वा आत्महत्या गरेका ९५% मानिसहरु कुनै न कुनै रुपमा मानसिक स्वास्थ्य समस्या भएको पाइएको छ । जसमा ८०% त डिप्रेसन सम्बन्धी समस्या भएको अध्ययनले देखाएको हुदा सबैभन्दा पहिला हामीले मानसिक स्वास्थ्य समस्यालाई रोक्नु पर्ने हुन्छ ।

मध्यम तथा न्यून आय भएका देशाहरुमा प्रत्येक ५ जना मानसिक रोगीहरु मध्ये ४ जनाले प्रभावकारी उपचार पाएका छैनन भन्ने तथ्यांक बिश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको हुदा समाजमा विभिन्न कारणले लुकेर बसेको मानसिक रोगीहरु समयमानै पहिचान गरी जतिसक्दो चाडो उपचारको दायरामा ल्याउनको लागी मनोचिकित्सक, सामाजिक कार्यकर्ता, मनोबिद र मानसिक अस्पतालको पुर्व बिरामीहरुको नेतृत्वमा मानसिक सरसफाई नामको गतिबिधि संचालन गरी मानसिक समस्यालाई बढार्ने काम गर्नुपर्छ ।

साथै समाजका मानिसमा आफ्नो मानसिक स्वास्थ्य समस्या समयमानै पहिचान गर्न सकुन र जतिसक्दो चाडो उपचारको दायरामा आउने वातावरण बनाउन सामाजिक रुपान्तरण  सम्बन्धी विभिन्न प्रकारको जनचेतना मुलक कार्यक्रम पनि सँगसंगै गर्नु पर्ने हुन्छ र प्राथमिक स्वास्थ्य संस्थाबाट नै मानसिक समस्याको उपचार गराउने व्यवस्था पनि गर्नु पर्ने हुन्छ । आत्महत्या रोकथामको लागी प्रत्येक बर्ष सेप्टेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस मनाउदै आइरहेको छ।

आत्महत्या/आत्महानिको व्यवस्थापन

  • मनोसामाजिक सहयोग प्रदान गर्नु पर्ने हुन्छ र सहयोगलाई सक्रिय बनाउनु पर्छ ।
  • मानसिक स्वास्थ्यका बिशेषज्ञसँग सम्पर्क गर्नु पर्छ ।
  • नियमित सम्पर्क तथा अनुगमन गर्नु पर्ने हुन्छ ।
  • उपचार संगै ध्यान, योगा, प्राणायाम गर्नुपर्ने हुन्छ ।

चुनौती

भूकम्प र कोभिड-१९ को महामारी संगै नेपालमा पनि आर्थिक मन्दी बढेको र विभिन्न पक्षका मानिसहरुले आर्थिक समस्या ब्यहर्नु परेको साथै दिर्घ रोगहरु, बसाइसराइ, शहरीकरण, सामाजिक र आर्थिक असंतुलन  बढदो क्रममा रहेको कारणले मानसिक समस्या भएका मानिसहरु पहिला भन्दा बढेको पछिल्लो तथ्यांकहरुले देखाएको हुदा, आत्महत्या/आत्महानिको समस्या बढन सक्ने भएको हुदा, यस समस्यालाई प्राथमिकतामा राखी जतिसक्दो चाडो उपयुक्त  कदम नचालेको खण्डमा चुनौती थपिदै जाने देखिन्छ ।   पौडेल स्वास्थ्य शाखा बुटबल उपमहानगरपालिकामा कार्यरत हुनुहुन्छ ।

 

 

 

सम्बन्धित शिर्षक :