न्युटनको यात्रा, उनी र म :डा. शम्भु खनाल

बुद्ध चोक आज खचाखच गाडीहरूले व्यस्त छ सधैँ जस्तो । बेलुकाको ५ :३० बजेको छ । रातो प्लेट, सेतो प्लेट कालो प्लेटका गाडीहरु लामवद्ध छन् । सबैका हेड्लाइट बलेका छन् । उज्यालो छ बाटोभरि । बाटो वारी पारिका पसलका लाइट्ले उज्यालो थपेका छन्। ।

केही अन्तरालमा पैदल यात्रीको जम्मा भिडले बाटो काट्छन् । सवारीसाधनहरु रोकिन्छन् । यो क्रम दोहोरिरहन्छ । मानिसहरुको यो भीडमा एक अर्कालाई कसैले चिन्दैनन् । सबैका आ आफ्ना गन्तब्य, आ आफ्ना उद्देश्य, आ-आफ्ना पीडा, आ-आफ्ना खुशी,आ-आफ्ना विचार ।

संसार चलिरहेको नै छ । सवारी व्यवस्थित गर्न ट्राफिक प्रहरी खटिएका छन् । यात्रुलाई गन्तब्यमा पुर्याउन गाडीहरु छन् । आवश्यक सामाग्रीलाई पसलहरु छन। ए टि एम छन् । हिँड्नलाई फुटपाथ छ । तर सबैलाई ब्यबस्थित गर्ने एउटै कुरो छ । त्यो हो समय ।

यो मिश्रित सन्तुलन मिलेको बानेश्वरको संसारमा एक तलामाथि एउटा रेस्टुरेन्टमा म बसिरहेको छु । आफ्नो छुट्टै संसारमा । मलाई बाँध्ने पनि एउटै कुरा छ । “ समय ” । यो संसारलाई नियाल्न न्यूटनको आत्मा घुमिरहेको छ । त्यो कस्मिक रुपी न्युटनको आत्मा म बसेको टेबुलमा अडिन्छ र दृश्यावलोकन गर्छ ।

मेरो अगाडि टेबुलमा केक छ । त्यसमा लेखिएको छ ” ह्याप्पी बर्थ्डे ” । अगाडि बसेकी छिन् मेरो लागि मनप्रिय साथी । उनले मलाई त्यो स्थानमा बोलाएकी थिइन् । मेरो जन्मदिनको बारेमा उनलाई थाहा थियो नै । तर केक नै तयार गरेर मनाउँछिन् भन्ने मलाई आशा थिएन । मेसेन्जरमा मात्रै सिमित हुन्छ कि भन्ने लागेको थियो शुभकामनाका शब्दहरु । उनले व्यस्तताका बाबजुत त्यो तयारी गरेकी छन् ।मेरो मन हर्षित भएको छ । अन्तर्मनबाट सधन्यवाद प्रकट गर्ने इच्छा हुन्छ । तर कसरी गर्ने भन्ने मैले जानिन ।

भेट्दा अर्ध अङ्गालो मारेर हेलो भन्ने कल्पना हुन्छ । तर त्यो म गर्न सक्दिन उनले राम्रो मान्दिनन् होला भनेर । यस्तै कुरा मनमा सोच्दै गर्दा जन्मदिनको शुभकामना दिन्छिन् उनले । केकमा नाम लेखाउन भ्याएकी रहिछन् । तर पनि केक सुन्दर अक्षरहरूले लिपिबद्ध छ ।। लोभलाग्दो केक टेबुलमा सजिएर बसेको छ ।

केही बेरमा आफ्नो टुक्रा टुक्रा हुनेछ भन्ने थाहा हुँदा पनि केक सुन्दर छ । हाँसेर बसेको अनुभुति हुन्छ । समाजका लागि बाँच्ने व्यक्ति पनि यस्तै हुँदा हुन् । कर्म र उद्देश्यले सुन्दर । आजपनि उनी सधैं जस्तो सुन्दर नै छिन् । केक पनि सुन्दर उनी पनि सुन्दर ।

क्यान्डल बाल्ने प्रयास गर्छिन् उनले । मैले पनि साथ दिन्छु । हावाले गर्दा क्यान्डल बल्दैन। हावाले त्यहा भिलेनको रोल खेलेजस्तो हुन्छ । क्यान्डल बालेर फुक्नु भनेको हाम्रो संस्कारमा दियो निभाएको सरह हो भनेर ठिकै छ भनेर त्यो बाल्ने प्रयास छोडिन्छ । अनी चक्कुले केकलाई काटेर जन्मदिन मनाउँछौँ हामी ।

यो दृश्य हेरिरहेका न्युटनलाई पनि मजा आइरहेको छ । उनले पनि आफ्नो शैशव कालको याद गर्छन् । आफ्नो प्रियासीसँगको पलहरू स्मरण गर्छन् । रुख मुनि बसेर प्रकृति नियालेर कल्पनामा डुब्दा स्याउ तल खसेको देखेर प्रश्न जन्मिन्छ । स्याउ किन माथि गएन । सोही प्रश्नले न्युटनको गुरुत्वकार्षणको प्रख्यात सिद्धान्त प्रतिपादन हुन्छ ।

केक काटेको पिसको पहिलो बाइट म उनलाई नै दिन्छु । त्यसैले एकदम सुन्दर पिस बनाउने प्रयास गरेको छु । खै कति सुन्दर भयो त्यो भने थाहा भएन । त्यसपछिको बाइट म लिन्छु । बाइट लिँदा उनको नाकको टुप्पा केकले रङिन्छ । गोरो चेहरामा केकको सेतो रङ । मुखको किनारमा पनि दलिन्छ । उनलाई ईशाराले भन्छु म । तर पुछ्दा पनि रहन्छ । अनी मैले पुछेर त्यो केकको लेप हटाइदिन्छु । विचरा त्यो केकको अंशलाई बसिरहन मन थ्यो होला । मलाई भने त्यो टाँसिएको चित्त बुझेको थिएन ।

रमाइलो लागेको छ मलाई । आनन्द महसुस भैरहेको छ । तर आफ्नो मनोभाव प्रकट भने गर्न सकेको छैन । भविष्यमा बाँच्न म जान्दिन । किनभने त्यो अन्योल छ । आजको लागि भने मलाई हर्षको अनुभुति भएको छ । खुशी छु यो पल म । न्युटनलाई पनि उमंग लागिरहेको छ ।

उनी पनि आफ्नो युवा अवस्थाको स्मरणमा केही समय डुब्छन् । उनले पनि आफ्नो जन्मदिनको याद गर्छन् । उनको प्रियसीले दिएको उपहार सम्झिन्छन् । त्यो डायरी पल्टाएर प्रियासीका लागि उनिएका शब्दहरु पढ्दै गर्दा स्याउ खसेर उनको टाउकोमा लागेको थियो। त्यही बेला जन्मिएको प्रश्नले विश्वको भौतिकशास्त्रको आयाममा कायापलट गरेको छ ।

उनले विश्वलाई गुरुत्वाकर्षणको सिद्धान्त योगदान त गरे । तर त्यो ग्र्याविटीको प्रभाव आफ्नो प्रिया सँग बस्दा भने लागू गर्न सकेका छैनन् । खुट्टा भुइँमा नै छ । तर कता हावामा उडेजस्तो चङ्गा महसुस हुन्छ ।त्यो मनोभावलाई ग्र्याभिटिले छुने रहेनछ । उदास हुँदा मात्र छुने रहेछ । मन नै गर्हौ हुने । भारी हुने । जीवनको सन्तुलन भनेको नै मनलाई हलुङो बनाउने रहेछ । त्यस्तै मन चङ्गा छ मेरो । जीवनको बाटो पनि मधुवन नै होला भन्ने प्रयास छ । तर त्यो चङ्गा मन कति समय रहने हो भन्ने एकिन छैन ।

एउटा मधुरो स्वर सुनिन्छ । त्यो स्वर तीखो हुँदै जान्छ । अनी खस्रो सुनिन्छ । “ भलवारी छ ? “ । गाडीको ब्रेक एक्कासी लाग्छ । हल्का ठोक्किन्छु म अगाडिको सिटमा । निद्राबाट बिउँझन्छु म । म त गाडीमा निदाएको रहेछु । लामो व्यस्त ड्युटीबाट फर्किँदा नगर बसको सिटमा पनि निदाए म । राम्रै थाकेको रहेछ शरीर । हल्का तन्द्रामा उठ्छु र भाडा दिएर ओर्लिन्छु । हातका औंलाहरुले निधारमा मुसार्छु ।

न्युटनलाई त स्याउले टाउकोमा लाग्दा कालान्तरमा विश्व नै खुशी हुन पुग्यो। मेरो निधार ठोक्किँदा भने केही उपलब्धी भएन संसारलाई । न कुनै प्रश्न जन्मियो न कुनै सिद्धान्त ! गाडी रोक्किदा अगाडि हुत्तिने इनेर्सियाको सिद्धान्त पनि न्युटनले प्रतिपादन नगरेको भए मैले गर्थे कि !!

कसैलाई नचाहिने कौतुहलता भने जन्मियो । जन्मदिन मनाउँदै गर्दा मेरो मनको उमङ्ग जस्तै के उनलाई पनि भए होला ? उनीसँगको मेरो यो पातलो भेट बाक्लिन्छ त ? एकसमय बाक्लिएको भेट शायद मेसेन्जरबाट पनि पातलिँदै जाने त हैन ? मैले मनोभाव यथोचित व्यवहारमा प्रकट गर्न नसकेर होला ।

शायद उनी विस्तारै टाढा जान्छिन् होला । मलाई भने उनी सधैं नजिक रहुन् जस्तो लाग्छ । उनी नजिक रहे मेरा खुशीका क्षणहरु गुणात्मक हुने थिए । न्युटनको “प्रत्येक कृयाको समान र बिपरित प्रतिकृया हुन्छ” भन्ने सिद्धान्त सम्बन्धमा पनि लागू हुन्छ त ! ! हुने भएर त होला सम्बन्धको गाँठो अझै प्रगाढ बन्छ । विवाह बन्धनमा बाँधिन्छ ।

यति मनमा कुरा खेलाउँदै कोठामा पुग्छु म । बिस्तारमा पल्टिन्छु ।…………. स्वा स्वा । ।यसरी जन्मदिन पनि सकिन्छ । पुन: बिहान “ रेगुलर “ हस्पिटलको यात्रामा पाइला सर्छन् । तिनै मनप्रिय साथी मेरै साथमा भएको पनि तीन वर्षमा प्रवेश गरेछ ।

उही
निद्रा प्रेमी
शम्भु

सम्बन्धित शिर्षक :