स्वास्थ्य मन्त्रालयमा एघारौँ तहका ७ अधिकृत सरुवा, सबै महाशाखामा नयाँ नेतृत्व

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एघारौँ तहका वरिष्ठ अधिकृतहरूको व्यापक सरुवा, पदस्थापन र काज फिर्ता गरेको छ। स्वास्थ्य मन्त्री निशा मेहताले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका तीनवटा महत्त्वपूर्ण महाशाखाका प्रमुखहरू हेरफेर गरेकी हुन्।

मन्त्रालयको नयाँ टोलीमा राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रकी निर्देशक यशोदा अर्याल, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रोशन न्यौपाने र भर्खरै एघारौँ तहमा बढुवा भएका डा. गुणनिधि शर्मा भित्रिएका छन्। उनीहरूलाई मन्त्रालयको जिम्मेवारीमा ल्याइए पनि कुन-कुन महाशाखाको नेतृत्व दिने भन्ने विषयमा भने अझै औपचारिक टुंगो लाग्न बाँकी रहेको मन्त्रालय स्रोतले जनाएको छ।

यद्यपि शर्मालाई नीति योजना, अर्याललाई समन्वय र न्यौपानेलाई गुणस्तर महाशाखामा दिने तयारी रहेको बताइएको छ। उनीहरुको सेवा समूह पनि मिल्ने भएकाले समूह मिलाएर नै महाशाखामा ल्याउने तयारी भएको जानकारी दिइएको छ।

सरुवासँगै मन्त्रालयमा कार्यरत केही वरिष्ठ चिकित्सकहरूलाई विभिन्न स्वास्थ्य संस्थामा काज फिर्ता गरिएको छ। नीति योजना महाशाखामा कार्यरत डा. चुमनलाल दासलाई नारायणी अस्पताल पर्सामा काज फिर्ता गरिएको छ भने स्वास्थ्य समन्वय महाशाखामा रहेका डा. भीम सापकोटालाई हेटौँडास्थित किटजन्य प्रयोगशालामा पठाइएको छ। यस्तै, गुणस्तर मापन तथा निरीक्षण महाशाखाका प्रमुख डा. सरोज शर्मालाई वीर अस्पतालमै काज फिर्ता पठाइएको छ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेलको पनि काज फिर्ता गरी गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा गरिएको छ। यद्यपि, हाल उनी बोर्डको कार्यकारी प्रमुखको महत्त्वपूर्ण भूमिकामा रहेकाले तत्कालका लागि भने बीमा बोर्डमै रहेर कार्यसम्पादन गर्न भनिएको छ। मन्त्रालयले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन यो कदम चालेको बुझिएको छ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :