रेसुङ्गा नगरपालिकाको सहयोगमा हाडजोर्नी विशेषज्ञ सेवा सुरु

स्वास्थ्यसमाचार/ रेसुङ्गा नगरपालिकाको सहयोगमा गुल्मी अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा सुरु गरिएको छ । हाडजोर्नी विशेषज्ञ सेवा उपलब्ध गराए बापत् रेसुङ्गा नगरपालिकाले गुल्मी अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टरलाई सरकारले सो तहमा तोकेको तलब स्केल बराबरको प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको हो ।

हाडजोर्नी विशेषज्ञ सेवा उपलब्ध गराउन आवश्यक पर्ने सि–आम मेसिन नगरपालिकाले उपलब्ध गराउने रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो । अहिले मेसिन खरिदका लागि टेण्डर आव्हान समेत गरिएको छ । जिल्लामै हाडजोर्नी सेवा सुरु भएकाले गुल्मी र यो सुविधा नभएका अन्य जिल्लाका नागरिकले पनि विशेषज्ञ सुविधा लिने भएको नगर प्रमुख पन्थीले बताउनुभयो ।

“जनताको बीचमा निर्वाचनमा गरेका प्रतिवद्वता एक पछि अर्को गर्दै पुरा गर्ने चरणमाछौं ।” उहाँले भन्नुभयो, “हाडजोर्नीको सेवा सुभारम्भ हुनु गुल्मी जिल्लाको समुन्नतीको आधार पनि हो ।” सबैको साथ र सहयोगले मात्रै समुन्नती हाँसिल गर्न सकिन्छ । ‘गुल्मी अस्पताल मेरो अस्पताल’ भन्ने ध्येयका साथ हामी अगाडि बढेका छौं ।”

स्वास्थ, शिक्षा, रोजगारी र पर्यटनलाई प्रमुख प्राथमिकतामा राखेर आफुहरुले काम गरिरहेको बताउनुभयो । गुल्मी अस्पतालबाट नै मृगौलाको डायालासिस सेवा सुभारम्भ गर्नतर्फ पनि लागिरहेका छौं । जिल्लामै पहिलो पटक विशेषज्ञ सेवा उपलब्ध गराउँनुले स्वास्थ्यको क्षेत्रमा नयाँ आयाम समेत थपिएको उहाँको भनाई छ ।

गुल्मी अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा उत्तम पच्याले गुल्मी अस्पताललाई ‘मेरो अस्पताल’ भन्ने सामाजिक भावना आवश्क रहेको बताउनुभयो । “विशेषज्ञ सेवा सुभारम्भ हुनुले यहाँका बिरामीहरुलाई धेरै ठुलो सहयोग मिल्ने भएको छ ।” उहाँले भन्नुभयो, “आगामी दिनमा सबैको थप सहयोगको आवश्यकता छ ।”

रेसुङ्गा नगरपालिका र गुल्मी अस्पताल बीच हाडजोर्नी बिशेषज्ञ सेवा उपलब्ध गराउने बिषयमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्याल, गुल्मी अस्पतालका मेडिकल सुपरिटेण्डेन डा उत्तम पच्या र हाडजोर्नी विशेषज्ञ डा।प्रदिप शिवाकोटीले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । उपप्रमुख अमृतादेवी कुँवर, गुल्मी अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डे, वडाअध्यक्षहरु तथा जिल्लास्थित पत्रकारहरुको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्बन्धित शिर्षक :