१२ देखि १८ बर्षसम्मका बालबालिकाका लागि फाइजर खोप नेपाल ल्याउने तयारी

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकाका लागि कोभिडविरुद्धको खोप दिने तयारी गरेको छ। मन्त्रालयका प्रवक्ता डा कृष्ण प्रसाद पौडेलका अनुसार १२ देखि १८ बर्षसम्मका किशोर–किशोरीको लागि लागि अमेरिकन फाइजर खोप नेपालमा ल्याउने तयारी थालिएको हो।

‘हामीले १२ देखि १८ बर्षसम्मका लागि  खोप दिनका लागि अमेरिकन खोप ल्याउने तयारी थालेका छौं,’ डा पौडेलले भने जसका लागि कोभ्याक्ससँग प्रस्ताव गरेका छौं।’उनका अनुसार १२ देखि १८ वर्ष उमेरका करिब फाइजरको करिब ४० लाख डोज खोप खरिद गर्न कोभ्याक्स सुविधामार्फत प्रस्ताव गरिएको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोसन पोखरेले ४० लाख फाइजर खोपका लागि बुक गरिसकेको बताए।‘अहिले बुक गर्दा यो बर्ष अन्तिम कि सन् २०२२ को सुरूमा आउनेछ,’ डा पोखरेलले भने, ‘ कोभ्याक्स अन्तर्गत रहेर खरिद गर्ने छौं।’

अमेरिकी खोप निर्माता फाइजरले बायोएन्टेकसँग मिलेर विकास गरेको कोभिडविरुद्धको खोप अमेरिकामा १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा प्रयोग गर्न अनुमति पाएको छ ।साथै, उनले मोडेर्ना खोप खोप पनि कोभ्याक्स सुविधामार्फत खरिद गर्न प्रस्ताव गरेको बताए।

बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकालाई जोगाउने फाइजर खोपको अवस्थाबारे स्वास्थ्य मन्त्रालयका अधिकारीसँग जानकारी लिएका थिए।प्रधानमन्त्री देउवाले फाइजर ल्याउन कति सहज हुन्छ, त्यसका लागि भण्डारणको अवस्था के छ भनेर स्वास्थ्य अधिकारी सँग जानकारी लिएका थिए।

स्वास्थ्य विज्ञहरूका अनुसार फाइजरको खोप माइनस ७० डिग्री सेन्टिग्रेट तापक्रममा भण्डारण गर्नुपर्ने भए पनि पाँच दिनसम्म माइनस २० डिग्री सेन्टिग्रेटमा भण्डारण गर्न सकिन्छ । प्रधानमन्त्री देउवालाई खोप आएको पाँच दिनभित्र प्रयोगमा ल्याइसक्ने पनि स्वास्थ्य अधिकारीहरूले जानकारी गराएका थिए ।

माइनस ७० डिग्री सेन्टिग्रेटको खोप भण्डारणका लागि तीन महिनाभित्र सिंगापुरबाट दुईवटा सुविधासम्पन्न रेफ्रिजेनेटर भ्यान खरिद गर्न लागेको स्वास्थ्य सेवा विभागको आपूर्ति महाशाखाका उपेन्द्र ढुंगानाले बताए।‘विभागसँग अहिले तत्काल माइनस ७० डिग्री सेन्टिग्रेटको खोप भण्डारण गर्ने क्षमता छैन। तर, खरिद प्रक्रिया अगाडी बढाएका छौं,’ ढुंगानाले भने।

उनका अनुसार केही डोज खोप राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, पशु स्वास्थ्यमा भण्डारन गर्न सकिने छ।  कोभ्याक्स सुविधाबाट खोप ल्याउँदा प्रति १० डलरभन्दा कममा आउने अधिकारीहरूले बताएका छन्।

सम्बन्धित शिर्षक :