स्वास्थ्यकर्मीमाथि आक्रमण :तीनजना विरुद्ध ज्यान मार्ने अभियोगमा मुद्दा दर्ता

स्वास्थ्यकर्मी काममा फर्किए

स्वास्थ्यसमाचार /भेरी अस्पतालले ड्युटीमा रहेका चिकित्सक र नर्समाथि ज्यान मार्ने उदेश्यले सांघातिक हमला गरेको भन्दै तीनजना विरुद्ध किटानी जाहेरी दिएको छ।

भेरी अस्पताल विकास समितिले घटनामा संलग्न रहेका लोक बहादुर रावत, मन बहादुर रावत र भरत रावत विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको जनाएको हो। तीनैजना अहिले प्रहरी नियन्त्रणमा रहेका छन्।

 

अस्पताल विकास समितिले चिकित्सक तथा नर्समाथि आक्रमण गर्नेविरुद्ध किटानी जाहेरी दिइसकेको र कानुनी कारबाहीको प्रक्रिया अगाडी बढिसकेको भन्दै सबै चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई आ–आफ्नो जिम्मेवारीमा फर्कन अपिल समेत गरेको छ।

भेरी अस्पतालमा बिहीबार राती कोभिड आइसोलेसनको आइसीयुमा उपचाररत एक संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तहरुले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए।

ड्युटीमा रहेका चिकित्सक तथा नर्सहरुले शौचालयको झ्यालबाट हामफालेर आफ्नो ज्यान जोगाएका थिए।घटनालगतै अस्पतालमा तनाव सिर्जना भएको थियो। अस्पतालमा कार्यरत सबै चिकित्सक,नर्स लगायत स्वास्थ्यकर्मीहरुले आक्रमणमा संलग्नलाई कारबाहीको माग गर्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय धर्नामा रहेका छन्।

आफ्नो सुरक्षाको माग गर्दै सबै चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी जिल्ला प्रशासन कार्यालयमा पुगेपछि भेरी अस्पतालमा स्वास्थ्य सेवा प्रभावित भएको छ।

अस्पताल विकास समितिले दोषीलई कारबाहीको लागि प्रक्रिया अघि बढीसकेको भन्दै महामारीको विषम परिस्थितीलाई मध्यनजर गरी उच्च मनोबलका साथ आफ्नो जिम्मेवारीमा फर्कन आग्रह गरेको छ।

सम्बन्धित शिर्षक :